प्रदेश १ का धान पकेट क्षेत्रका धानबालीमा डढुवासँगै गवारोको प्रकोप

प्रदेश १ का धान पकेट क्षेत्रका धानबालीमा डढुवासँगै गवारोको प्रकोप


विराटनगर स् मोरङको रतुवामाई नगरपालिकाका कृष्ण गुरागाईंले २२ कठ्ठा क्षेत्रफलमा लगाएको धानमा रोगको प्रकोप बढेपछि चिन्तित भएका छन्। डढुवा र गवारोले हुर्कँदै गरेको धान धमाधम मर्न थालेपछि उनमा चिन्ता थपिएको हो। धानको बेर्ना हुर्केपछि दुईपटक विषादी छर्के पनि रोग नियन्त्रणमा आउन सकेको छैन। धानमा पात मर्ने, जरा कुहिने, गवारो किराको समस्या देखिएका छन्।

यसअघि चैते धानको सिजनमा ढुसीजन्य मरुवा रोगको प्रकोप देखा परेकोमा अहिले डढुवा सँगसँगै गवारो रोगको पनि प्रकोप बढेपछि उनी धानमा फसल नलाग्ने हो कि भन्ने पिरलोमा परेका छन्। ‘समयमा मल बिउ नपाए पनि जेनतेन गरेर धान बाली लगाइयो’ गुरागाईं भन्छन्, ‘धान हुर्कन पाएको छैन, फेरि डढुवा र गवारोको प्रकोप देखियो बिषादी छर्कंदा पनि नियन्त्रणमा आएको छैन, यस्तै अबस्था रहे धान फसल उठाउने अबस्था छैन।’

गुरागाईको जस्तै अबस्था अहिले प्रदेश १ का चार जिल्लाका किसानको समस्या छ। हुर्कंदै गरेको धान बालीमा डढुवा र गवारोको प्रकोप देखिएपछि उदयपुर, सुनसरी, मोरङ र झापा जिल्लाका किसानहरु अहिले समस्यामा परेका छन्। धान बालीको पकेट क्षेत्रका रुपमा परिचित यी जिल्लामा किसानले ठूलो क्षेत्रफलमा लगाएको धानबाली डढुवा र गवारोको प्रकोप देखिएको हो।

धानको गाँज फस्टाउने समयमा समयमा देखिएको प्रकोप नियन्त्रणमा आउन सकेको छैन। प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रतीले धानमा गत वर्षभन्दा बढी रोग र किरा देखिएको बताए। किसानले झोल र दाना विषादी छरे पनि रोग नियन्त्रणमा आएको छैन। तर, धान गाँज फस्टाउने समयमा डढुवा र गवारोको प्रकोपले भने धानबालीका खासै क्षति नपुर्याउने उप्रतीको भनाइ छ।

‘कृषि प्रविधिकहरुले किसानको धान खेतमा पुगेर विषादी प्रयोगमा आवश्य सल्लाहा दिने काम भइरहेको छ,’ प्रवक्ता उप्रतीले भने, ‘धानको फसल लाग्ने समयमा डढुवा र गवारोको प्रकोपले निकै क्षति पु¥याउन सक्छ। तर, धानको गाँज फस्टाउने समयमा सामान्य डढुवा र गवारोको प्रकोपदेखि अत्तालिहाल्नु पर्दैन।’

समयमा मल नपाएका कारण पनि धानको बेर्ना कमजोर भएकाले धानबालीमा देखिने रोगले पनि केही असर भने पार्ने उनको भनाइ छ। तर, नियन्त्रण गर्ने नाममा जथाभावी बिषादी नछर्कन किसानलाई सुझाव दिए। उनका अनुसार तराईका चार जिल्लाको धानमा पात र फेद डढ्ने डढुवा, सिथ ब्लाइट रोग तथा फड्के किरा र गवारो मुख्य समस्याका रुपमा देखिएको छ। एउटै धानको गाँजमा निकै संख्याका फड्के किरा भेटिएको उनले बताए।

प्रदेश १ मा कुल तीन लाख ४० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ। यस वर्ष लकडाउनका कारणले धेरै बाँझो अवस्थामा रहने जमिनमा पनि किसानले धान खेती गरेका छन्। धानको पकेट क्षेत्रका रुपमा मानिने प्रदेशका तराईका जिल्लामा २ लाख २५ हजार हेक्टर क्षेत्रफलमा धानबाली हुँदै आएको छ। त्यसैगरी पहाडी जिल्लामा ९१ हजार हेक्टर क्षेत्रफल र हिमाली क्षेत्रमा २४ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरेका छन्।

प्रदेशमा चैत र असारमा दुई सिजन धान रोपाइँ गरिन्छ । चैते धानको ३ लाख २८ हजार हेक्टर क्षेत्रफलमा बार्षिक उत्पादन २ लाख ८० हजार मेट्रिक टन रहेको छ। वर्खे धान कुल ३ लाख ७६ हजार हेक्टर क्षेत्रफलमा ११ लाख ९८ हजार मेट्रिक टन उत्पादन भएको थियो।