इलामको सूर्योदयमा लेप्चा जातिको उत्थानका लागि उद्यान बनाइँदै

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १ प्रमोसन

फिक्कल : लोपोन्मुख समुदायमा पर्ने लेप्चा जातिको संस्कृतिको उत्थान र प्रवद्र्धनका लागि सूर्योदय नगरपालिकाले उद्यान बनाउन थालेको छ । सूनपाले लेप्चाको सङग्रहालय नजिकै उद्यान बनाउन थालेको हो ।सूर्योदय–१० को फेन्सोङ लेप्चा गुम्बा नजिकै १२ रोपनी जग्गामा उद्यान निर्माण थालिएको हो ।

तीन वर्षमा निर्माण सक्ने गरी थालिएको उद्यानको लागत रु एक करोड ८० लाख रहेको छ । गुम्बामा स्थानीय पर्यटकसमेत कम पुग्ने गरेकाले नजिकै उद्यान निर्माण गर्न लागिएको हो ।‘उद्यान निर्माण गर्दा बिहान–बेलुका ताजगी महसुस गर्नसमेत स्थानीय व्यक्ति आउने भएकाले यो काम शुरु गरिएको हो’, सूनपाका प्रवक्ता वीरबहादुर लेप्चाले भने, ‘नजिकै होटल र बजार भएकाले टाढाका पर्यटकले पनि घुम्न उद्यान आउँदा सङ्ग्रहालय हेर्न पाउँछन् ।’

प्रवक्ता लेप्चाका अनुसार उद्यानको निर्माण गएको साउनदेखि शुरु गरिएको हो । अहिले यस स्थानमा भिरालो जग्गा मिलाउने काम भइरहेको छ । उद्यानको निर्माण सकिएपछि गुम्बा समितिलाई नै सञ्चालन गर्न दिइने लेप्चाको भनाइ छ ।ओझेलमा परेका सांस्कृतिक सामग्रीसमेत प्रचारका लागि उद्यान उपयुक्त माध्यम हुने गुम्बाका अध्यक्ष प्रेमबहादुर लेप्चाको भनाइ छ ।

‘यहाँ गुम्बा छ भन्ने यहीँका बासिन्दालाई थाहा छैन’, अध्यक्ष लेप्चाले भने, “उद्यान बनेपछि यो समस्या हट्छ भन्ने लागेको छ ।’ उद्यानको अधिकांश क्षेत्रमा फूलबारी बनाउने नगरको योजना छ भने अन्य क्षेत्रमा ‘जिम’ हल र घुमघाम गर्ने क्षेत्र रहने छ । सङग्रहालयमा पुरातात्विक महत्वका सामग्री रहेको र ती सामग्रीको प्रवद्र्धन गर्न नगरले उद्यान निर्माण थालेको नगरप्रमुख रणबहादुर राईको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.