नेपालमा आज १९११ जनामा कोरोना संक्रमण

  • 9
    Shares
नेपालमा आज  १९११ जनामा कोरोना संक्रमण


काठमाडौँ: नेपालमा आज एक हजार ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७९ हजार ७२८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा एक हजार ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको छ । देशभरका संस्थागत आइसोलेसन १० हजार ७६१ जना र होम आइसोलेसनमा ११ हजार ६९ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ७७ जना क्‍वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख ३३ हजार ९४७ जनाको पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार देशभर २५ कोरोना संक्रमितको भेन्टिलेटरमा र २२० जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९६१ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१।९ प्रतिशत रहेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५०९ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले मोरङ, सिरहा, सुनसरी, काठमाडौं, ललितपुर, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने मनाङ, मुस्ताङ, डोल्पा र मुगुमा संक्रमण शून्यमा झरेको छ।