नेपालमा कोरोना संक्रमितको संख्या एक लाख बढी, हाल सम्म छ सयको मृत्यु

  • 35
    Shares
नेपालमा कोरोना संक्रमितको संख्या एक लाख बढी, हाल सम्म छ सयको मृत्यु


काठमाडौँ, २३ असोज । देशभर शुक्रबार दुई हजार ५९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ६७६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा दुई हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ । देशभरका संस्थागत आइसोलेसन ११ हजार १७६ जना र होम आइसोलेसनमा १५ हजार ८७७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ७०३ जना क्‍वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार २७९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ४५ हजार २३७ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर ७५ जनाको भेन्टिलेटरमा र ३१८ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ७३ हजार २३ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार ६८० जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२।५ प्रतिशत रहेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणाट थप १० जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या छ सय पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले मोरङ, सुनसरी, सुर्खेत, काठमाडौं, ललितपुर, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने मनाङ र मुस्ताङमा संक्रमण शून्यमा झरेको छ। सजिलो खबर