इलामको सूर्योदय नगरपालिकामा “गणितसंग खेलौं , गणितिय धारणा बनाऔं” अभियान

  • 63
    Shares
इलामको सूर्योदय नगरपालिकामा “गणितसंग खेलौं , गणितिय धारणा बनाऔं” अभियान

फिक्कल : पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको नमूना विद्यालय फिक्कल माध्यमिक विद्यालयको कक्षा ८ र १० को ३५२ जना विद्यार्थीहरूलाई “गणित अभ्यास पुस्तिका “वितरण गरी “गणितसंग खेलौं , गणितिय धारणा बनाऔं” अभियानको प्रारम्भ भएको छ।

विद्यार्थीहरुलाई गणितमा अभ्यस्त बनाउन नगरले अभियानको प्रारम्भ गरेको हो । नगरले श्रीकृष्णाश्रम माध्यमिक विद्यालय कन्याममा समेत ११० विद्यार्थीहरूलाई “गणित अभ्यास पुस्तिका” वितरण गरेको छ । विद्यार्थीहरूले नगरपालिकाद्वारा वितरण गरिएको तीन “गणित अभ्यास पुस्तिका “ एक महिनामा अभ्यास गरी पूरा गर्नुपर्नेछ।

अभ्यासले नगरपालिकाको विद्यार्थीहरू गणितमा अव्वल हुनेमा नगरपालिका विश्वस्त रहेको नगर प्रमुख रणबहादुर राईले बताए । प्रत्येक महिना नगरपालिकाले सो कार्य विद्यार्थीहरूले पूरा गरे वा नगरेको अनुगमन गर्नेछ । आठौ नगरसभा प्रारम्भ हुनुभन्दा केहि अगाडि शुरू भएको यो नगरपालिकाको विकास मोडलको शिक्षालाई गुणस्तरीय बनाउने मध्येका सानो तर महत्वपूर्ण अभियानको रुपमा लिइएको राईले बताए ।

नगर क्षेत्रका सबै सामुदायिक विद्यालयहरू र संस्थागत विद्यालयहरूको विद्यार्थीहरूलाई “गणित अभ्यास पुस्तिका” वितरण गरिने छ ।