इलाम अस्पतालले ‘भेन्टिलेटर’ सेवा दिने

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

इलाम: जनशक्ति अभावको पीडा खेपिरहेको इलाम अस्पतालमा रहेका भेन्टिलेटर आवश्यक परेमा सञ्चालन गर्न सकिने अवस्था रहेको अस्पतालले जनाएको छ । कोरोना भाइरसको दोस्रो चरणको महामारी फैलिरहेका बेला अत्यन्तै अप्ठ्यारोमा रहेको विरामीलाई भेन्टिलेटरमा राख्ने तयारी रहेको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए ।
‘तत्काल भेन्टिलेटर चाहिएको विरामीलाई केही समय राख्न सक्ने अवस्था छ । थप उपचारका लागि भने आवश्यक पर्ने ल्याब र विशेषज्ञको सुविधा उपलब्ध हुन नसक्दा अन्यत्रै पठाउनु पर्ने बाध्यता छ ।’ खतिवडाले भने ।
अस्पतालले खरिद गरेको दुई शैयाको आइसीयु, एउटा भेन्टिलेटर, इन्फुजन पम्प, सिरिन्ज पम्पलगायतका सामग्री जडान भइसकेको अस्पतालले जनाएको छ । गत असोजमा कोभिड–१९ का संक्रमित विरामीलाई लक्षित गर्दै स्वास्थ्य मन्त्रालयको सहयोगमा ल्याइएको स्वासप्रस्वास सजिलो बनाउने किसिमका दुईवटा भेन्टिलेटर जडान गरिएको छ । यो सँगै इलाममा पछिल्लो पटक जडान गरिएको भेन्टिलेटरले भने सिकिस्त अवस्थामा पुगेको विरामीको मुटुलाई जीवित राख्ने काम गर्छ । बच्चा र ठूला दुवै मानिसका लागि पछिल्लो पटक जडान भएको भेन्टिलेटर उपयोगी रहेको जनाइएको छ ।

अस्पतालमा यी दुई किसिमका भेन्टिलेटर जडान गरिए पनि विषेशज्ञ जनशक्ति नहुँदा विरामीको निरन्तर उपचारमा भने समस्या देखिएको छ । ‘दरबन्दीमा विशेषज्ञ डाक्टर एक जना मात्रै स्थायी हुनुहुन्छ, बाँकी सबै करार र छात्रवृत्तिमा आएका डाक्टरहरु छन् । दरबन्दी अनुसारका विशेषज्ञ ल्याउन प्रदेश देखि केन्द्रसम्म पहल गरेपनि सम्भव भइरहेको छैन ।’ व्यवस्थापक खतिवडाले भने ।

अस्पतालमा एक महिना अघि बाल विषेशज्ञको करार सेवाको निवेदन माग गर्दा एउटा पनि निवेदन परेन । ‘त्यसो हुँदा जनशक्तिकै अभाव हो भन्ने अथवा के भनेर बुझ्ने रु’ खतिवडा भन्छन् । अस्पतालले करार सेवामै भएपनि आवश्यक जनशक्ति ल्याउने पहल गरेपनि त्यस्ता व्यक्तिहरु नपाउने अवस्था रहेको जनाइएको छ ।
भेन्टिलेटर सञ्चालनकै लागि काडियोलोजिस्ट डाक्टर आवश्यक पर्ने अस्पतालका व्यवस्थापक खतिवडाले बताउँछन् । अस्पतालले तत्कालका लागि आवश्यक परे अस्पतालमै रहेको जनशक्तिलाई प्रयोग गरेर भेन्टिलेटर प्रयोगमा ल्याउने तयारी गरेको जनाइएको छ । ‘अन्य विषेशज्ञ पनि उत्तिकै आवश्यक छ, छात्रवृत्तिकै डाक्टरहरु भएपनि तत्काल भेन्टिलेटर सञ्चालन गर्न सकिन्छ ।’ खतिवडाले भने ‘विशेषज्ञ व्यवस्थापन सँगै ब्लडको कल्चरल टेस्टका लागि ल्याब सेवा पनि विस्तार गर्नुपर्ने अर्को आवश्यकता छ ।’

कोभिड संक्रमण बढि रहेको अवस्थामा अस्पतालले २० शैयाको लेभल १ को कोभिड अस्पताल तयारी अवस्थामा राखेको छ । तर, अहिले कोभिडको लक्षण देखिएका बिरामी भएपनि कोभिडकै विरामीलाई राख्नु पर्ने अवस्था नभएकाले यो अस्पताल भने खाली छ । कोभिडका विरामीका लागि अस्पतालले २० वटा अक्सिजन सिलिन्डर व्यवस्था गरिसकेको छ । अस्पतालका अन्य वार्डमा भने सामान्य केही विरामी रहेका छन् । यता भेन्टिलेटरलाई चौबीसै घण्टा सञ्चालनमा ल्याउन अस्पताल विकास समितिले पहल गरिरहेको समितिका अध्यक्ष गणेशप्रसाद बरालले बताए । इलाम आवाजबाट

Leave a Reply

Your email address will not be published.