रोग प्रतिरोधी क्षमता बढाउन इलाममा योग अभ्यास

  • 6
    Shares
रोग प्रतिरोधी क्षमता बढाउन इलाममा योग अभ्यास

इलाम : स्वस्थ्य जीवन प्रर्वद्धन कार्यक्रम अन्तर्गत तीन दिने योग तथा जीवन शैली तालिम शनिबार इलाम सदरमुकाममा सम्पन्न भएको छ । मेची आयुर्वेद औषधालय अस्पताल सुर्योदय नगरपालिकाको आयोजनामा सम्पन्न भएको तालिममा इलाम जिल्लाको दशवटा पालिकामा रहेको एक÷एक वटा सामुदायिक विद्यालयका नर्स तथा माध्यमिक विद्यालयका स्वास्थ्य शिक्षकहरुको लागि तालिम प्रदान गरिएको औषधालयका प्रमुख आर्युवेद चिकित्सक विजय श्रेष्ठले जानकारी दिए ।

नेपालको वर्तमान स्वास्थ्य अवस्था हेर्ने हो भने दिनानुदिन सर्ने भन्दा नसर्ने रोगको कारण मान्छेको मृत्युदर बढिरहेको छ । मानव जीवन शैलीलाई थोरै मात्र पनि परिवर्तन गर्ने हो भने नसर्ने रोगबाट मृत्यु हुनेको संख्या न्युनिकरण हुन जान्छ । यसको लागि मानिसले योग तथा गाउँघरमा पाईने जडिबुट्टीहरुको सेवन गर्नाले पनि स्वास्थ्यमा सकरात्मक असर पर्न जान्छ । तालिमको यिनै मुख्य विषय वस्तुहरु रहेर तालिम संचालन गरिएको प्रशिक्षक कविराज तिर्थराज आचार्यले जानकारी दिए।

उनका अनुसार यस प्रकारको तालिमले कोरोना रोगसँग पनि लड्न मद्दत पुग्ने छ । योग गर्दा मानिसमा स्वास प्रस्वासको बढीमात्र क्रिया हुने हुँदा कोरोना भाईरस पनि स्वास प्रस्वाससँग सम्बन्धित भएकोले योग गर्नु फाईदाजनक रहेको उनले बताए । तालिममा सहभागीहरुलाई बिहान पाँच बजेदेखि नै प्रयोगात्मक रुपमै योग गराएर संचालन गरिएको तालिमका सहभागी प्रमोद रिजालले बताए।

करिब ६० प्रकारको योगको आसनहरु तालिमको क्रममा सिकाईएको थियो । तालिम प्राप्त गर्ने शिक्षक तथा विद्यालय नर्सहरुले आफ्नो पालिका, विद्यालयमा विद्यार्थी तथा समुदायका अन्य व्यक्तिहरुलाई योग सिकाएर योगदान गर्न आयोजक संस्थाले अनुरोध समेत गरेको थियो ।