जोखिम मोलेर जनता जोगाउँदै सुरक्षाकर्मी

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

विराटनगर : नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ इस्लामपुर हुँदै भारतबाट दुई साताअघि एउटा समूह अवैध रूपमा नेपाल प्रवेश गर्दै थियो। इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश राउत नेतृत्वको टोलीले सशस्त्र प्रहरीको समेत साथ लिँदै उक्त समूहलाई रोक्यो र नेपाल छिर्न दिएन।

नेपाल छिर्न नपाएपछि आक्रोसित बनेको समूहले पारी (भारत) पट्टि गएर नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुडा गर्‍यो। ढुंगामुडाको पर्वाह नगरिकन कोरोना भाइरस संक्रमणको दर उच्च रहेको भारतबाट खुलेआम आउन खोज्ने समूहलाई रोक्न प्रहरी सफल त भयो। तर त्यही भीड नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय ९इप्रका० रानीबाट खटिएकामध्ये नेपाल प्रहरीका चार जनामा अहिले कोरोनाको संक्रमण पुष्टि भएको छ।

संक्रमण भएर उपचार गराइरहेकामा एक जना सइ ९प्रहरी नायव निरीक्षक०, एक हवल्दार र दुई जवान छन्। इस्लामपुर नाकामा छ दिनअघि पनि त्यस्तै घटना दोहोरियो। त्यसको पनि असर देखिनसक्ने अवस्था रहेको प्रहरी अधिकारी बताउँछन्।

‘कोरोना रोकथाम र नियन्त्रणका लागि नेपाल–भारत सीमा क्षेत्रमा ठूलै संख्यामा सुरक्षा टोली परिचालित छ। महामारीका बेला आवतजवात गर्न नदिन उच्च निगरानी बढाइएको छ,’ प्रनि राउत भन्छन्, ‘कोरोना महामारीका समयमा दुई देशीय सीमा नाकाबाट आवतजावत गर्न हुँदैन भनेर सम्झाइबुझाई गर्दा हुलदंगा गर्छन्। कोरोना फैलनसक्नेतर्फ सचेत गराउँदा सुरक्षाकर्मीमाथि ढुंगामुडा र आक्रमण हुन्छ।’

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का आफ्नै नेतृत्वमा टोली लिएर दैनिक सीमा र भीडभाड बढी हुने क्षेत्रको गस्तीमा निस्कन्छन्। ‘कोरोना नियन्त्रणकै लागि सम्पूर्ण जनशक्ति परिचालन गरिएको छ। एक जना प्रहरीले १८ घण्टासम्म ड्युटी गरिरहेका छन्,’ उनले भने, ‘निषेधाज्ञा कार्यान्वयन गराउन सबै जनशक्ति परिचालित छ। विशेष गरेर संक्रमण दर उच्च भएको भारततिरबाट हुने अवैध आवतजावत नियन्त्रणमा केन्द्रित छौँ।’ खड्काका अनुसार आवतजावत र भीडभाड रोक्न रातभर सीमामा सुरक्षा दिएर बस्नुपर्छ।

खड्का नेतृत्वमै सीमा क्षेत्रको सुरक्षामा खटिएकामध्ये एक हवल्दार र चार जवान गरेर पाँच प्रहरीमा कोरोना देखिएको छ। उपचाररत अवस्थामा रहेका उनीहरूलाई लक्षण देखिएपछि परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो।

सिमावर्ती क्षेत्र मोरङको जहदा गाउँपालिका–६ हुँदै वैशाख १५ गते नेपाल छिर्न खोजेको भारतीय नागरिकको समूहलाई रोक्न खोज्दा तनाव उत्पन्न भयो। आवतजावत रोक्न र निषेधाज्ञाको पालना गराउन सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीमाथि उक्त समूह जाइलाग्यो। दुव्र्यवहार गर्दै आक्रमणमा उत्रिएको समूहले ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार ललित खड्काको पोशाक नै च्यातिदियो।

घटनामा संलग्न भारत अररिया डुमरियाका ३५ वर्षीय मोहन ऋषिदेव पक्राउ परे। उनी पक्राउ परेपछि अरू भारततिरै भागे। ऋषिदेवलाई प्रहरीले अभद्र व्यवहारको मुद्दा चलायो।

मोरङको रंगेली नगरपालिका–४ स्थित चोप्राहा नाकामा वैशाख २८ गते निषेधाज्ञाको उल्लंघन गर्दै भारतबाट नेपाल आउन खोज्नेलाई रोक्ने क्रममा लफडा भयो। गालीगलौज र दुव्र्यवहार गर्दै सशस्त्र प्रहरी नायव निरीक्षक ९सइ० खेमराज धिमाल तथा हवल्दार लीलाराज राउतमाथि आक्रमणको प्रयास भयो। प्रहरीले घटनामा संलग्न रंगेली–४ का राजेश साहलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दा चलायो।

कोरोना संक्रमण तीव्र रूपमा फैलिइरहेका बेला जारी गरिएको निषेधाज्ञाको कार्यान्वयन, सीमा क्षेत्रको दैनिक ड्युटी, भीडभाड नियन्त्रण र मास्क वितरण लगायतमा खटिने सुरक्षाकर्मीमा धमाधम कोरोना संक्रमण पुष्टि हुन थालेको छ। कोरोना जोखिमको पर्वाह नगरिकन यतिबेला सर्वसाधारण जनतालाई संक्रमणबाट जोगाउने अभियानमा सुरक्षाकर्मी केन्द्रित रहेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।

खड्काका अनुसार सडक एवं सार्वजनिकस्थलमा भीडभाड हुन नदिने, बजार पसल तथा सवारी साधन सञ्चालनमा कडाइ गर्ने, मास्क तथा सेनिटाइजर वितरण गर्ने, खुलेआम हिँड्डुल गर्नेलाई मास्क लगाउन आग्रह गर्ने, स्वास्थ्य मापदण्ड पालनामा जोड दिने, सावधानी अपनाउन सबैमा आग्रह गर्ने, कोरोनाविरुद्ध जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने तथा निषेधाज्ञाको पालना गराउने एवं उल्लंघन गर्नेलाई कारबाही गर्ने जिम्मेवारी सुरक्षाकर्मीमा छ।

त्योबाहेक दुई देशबीचको आवजावत नियन्त्रण, लागूऔषध एवं हतियारको ओसारपसार, सीमा एवं मानवताविरुद्धका विभिन्न अपराध, चोरी तस्करी नियन्त्रण, अपराधिक घटनाको अनुसन्धान एवं नियन्त्रण तथा शान्ति सुरक्षाको अवस्था मजवुत बनाउने जिम्मेवारी छँदैछ। एसपी खड्काका अनुसार आपतकालीन अवस्थामा थप मद्दतका लागि नेपाल प्रहरीको सशस्त्र प्रहरी गण रानीबाट एउटा टोली ल्याएर ‘रिजर्व’मा राखिएको छ।

सुरक्षाकर्मीलाई काममा खटिँदा कोरोना संक्रमण हुने जोखिम र भय पनि उत्तिकै छ। प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माका अनुसार निषेधाज्ञाको समयमा सवारी साधन कम संख्यामा चलेकाले अहिले ट्राफिक प्रहरी कोरोना नियन्त्रणमा केन्द्रित छ। मास्क र सेनिटाइजर बाँड्ने, स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रमहरू गर्ने, निषेधाज्ञा उल्लंघन गर्ने सवारी नियन्त्रणमा लिने काम ट्राफिकले गरिरहेको उनको भनाइ छ। कोरोनाको दोस्रो लहर सुरु भएयता शनिबार दिउँसोसम्ममा प्रदेश १ मा ३५ जना ट्राफिकलाई संक्रमण भइसकेको छ। मोरङमा ट्राफिक इन्चार्जसहित १० जनामा संक्रमण देखिएको छ।

सुरक्षाकर्मीमध्ये अपराध नियन्त्रण, शान्ति सुरक्षा र सबैसँग प्रत्यक्ष सम्पर्कमा रहने नेपाल प्रहरीमा कोरोनाको संक्रमण धेरै छ। सशस्त्रमा पनि सीमा क्षेत्रमा खटिएका र भीडभाड नियन्त्रणमा परिचालन गरिएकामा संक्रमण देखिन थालेको छ। नियमित काम कारबाहीबाहेक कोरोना नियन्त्रणकै लागि अहिले नेपाल–भारत सीमा क्षेत्रमा ठूलो संख्यामा सशस्त्र तथा नेपाल प्रहरी परिचालन गरिएको छ।

कोरोनाको दास्रो लहरयता नेपाल प्रहरीतर्फ प्रदेश १ मा एक सय ३४ जनामा संक्रमण पुष्टि भइसकेको छ। जसमा प्रहरी नायव उपरीक्षक ९डीएसपी० एक, प्रहरी निरीक्षक ९इन्सपेक्टर० चार, नायव निरीक्षक ९सइ० ११, सहायक निरीक्षक ९असइ० १७, प्रहरी हवल्दार ३२ जना छन्। संक्रमित हुनेमा छ जना कार्यालय सहयोगीसहित अरू प्रहरी जवानहरू छन्।

संक्रमित सुरक्षाकर्मीलाई विभिन्न अस्पताल र आइसोलेसनमा उपचारका लागि भर्ना गर्ने गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बताए। ‘कोरोना नियन्त्रणमा सुरक्षाकर्मी सधैँ अग्रपंक्ति मै हुने हो,’ उनले भने, ‘त्यही भएकाले केही सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ।’ एसपी पौडेलका अनुसार मास्क, पञ्जा र सेनिटाइजरकको प्रयोगसहित सावधानी अपनाएर ‘आफू पनि जोगिने र जनतालाई पनि बचाउने’ गरी काम गर्न निर्देशन दिँदै सुरक्षाकर्मीलाई ड्युटीमा खटाइन्छ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले कोरोना नियन्त्रणमा अहोरात्र खटिँदा संक्रमित भए पनि त्यसको पर्वाह नगरिकन सुरक्षाकर्मी आफ्नो जिम्मेवारी पूरा गर्न केन्द्रित रहेको बताए। ‘शान्ति सुरक्षासँगै पछिल्लो विषम परिस्थितिमा सुरक्षाकर्मी ‘फ्रन्ट लाइन’मा छन्,’ उनले भने, ‘ड्युटीमा रहँदा कसैलाई संक्रमण भएमा उसको सट्टामा अर्को प्रहरी पठाउँदै संक्रमितलाई उपचारमा लगिन्छ।’

‘सीमा क्षेत्र, राजमार्ग, बजार, गाउँ, बस्ती सबैतिर पुग्नुपर्दा सुरक्षाकर्मीलाई संक्रमण हुन थाल्यो,’ श्रेष्ठले भने, ‘तर पनि थप सतर्क र सजग हुँदै ‘फुल इफोर्ट’का साथ नियमित कामसहितको जिम्मेवारीबाट प्रहरी पछि हटेको छैन। आफू संक्रमित भएर पनि कमजोरी हुन दिइएको छैन।’ अक्सिजनको सम्भावित अभावलाई मध्यनजर गर्दै सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाको नेतृत्वमा प्रदेश १ प्रहरी कार्यालयले कार्यदल नै बनाएको छ। सम्भावित जोखिमको अध्ययन गरिरहेको कार्यदलले सबैतिर अक्सिजन आपूर्तिलाई सहज बनाउने भूमिका निर्वाह गरिरहेको जानकारी एसपी श्रेष्ठले दिए।

‘सुरक्षाकर्मीलाई शौचालय, ब्यारेक, मेस र ड्युटीमा जाने गाडी एउटै प्रयोग गर्नुपर्ने बाध्यता छ,’ स्रोतले भन्यो, ‘सँगै खाने, बस्ने, सुत्ने र ड्युटी गर्ने साथीलाई संक्रमण पुष्टि हुँदा अर्कोलाई कोरोना नदेखिएला भन्ने हुँदैन।’

‘कोरोना नियन्त्रणमा खटिने सुरक्षाकर्मीमा संक्रमण बढ्दो छ। जनताकै लागि अहोरात्र खटिनुपर्ने हुँदा अहिले त्यसकै परिणाम भोग्दै छौँ,’ प्रहरीका एक अधिकारीले भने, ‘तर संकटको घडीमा मुलुक र जनताको सेवामा समर्पित हुन पाउँदा जोखिमको पर्वाह छैन। सुरक्षाकर्मी भएर संकटमा साथ दिइरहन सक्दा गर्व लाग्छ।’

यसैबीच प्रदेश १ का सशस्त्र प्रहरी प्रमुख डीआईजी वंशीराज दाहाल र नेपाल प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्की संक्रमण पुष्टि भएर उपचाररत अवस्थामा रहेका सुरक्षाकर्मीको मनोबल उच्च बनाउन लागि परेका छन्। उनीहरू संक्रमित प्रहरीलाई आत्माबल दह्रो बनाउन हौसला प्रदान गरिरहेका छन्। ड्युटीमा खटिने सुरक्षाकर्मीलाई साबुनपानीले नियमित हात धुन, मास्क तथा सेनिटाइजर प्रयोग गर्न र सामाजिक दूरी पालन गरेर आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिइरहेका छन्।

ब्यारेकमा भौतिक दूरी कायम गरेर खान, सुत्न मिल्ने ठाउँ अनि उपयुक्त शौचालय र बाथरुमको व्यवस्था नहुँदा पनि प्रहरीमा संक्रमण बढ्दो अवस्थामा रहेको हो। एक जना प्रहरीलाई संक्रमण हुँदा अरूलाई पनि सर्ने अवस्था छ। ‘समूहमा बसेर काम गर्नुपर्ने र फिल्डमा खटिनै पर्ने बाध्यताले कोरोनाको ठूलो जोखिम निम्तिएको छ,’ डीआईजी कार्की भन्छन्, ‘सुरक्षाकर्मीको मनोबल उच्च बनाउँदै कोरोना संकटमा कुनै कमजोरी हुन नदिने हिसाबमा काम भइरहेको छ।’

निषेधाज्ञाको कार्यान्वयनसँगै विभिन्न घटनामा संलग्नलाई पक्राउ गर्दा र हिरासतमा राख्दा तथा सबैतिरको प्रत्यक्ष सम्पर्कले पनि प्रहरी संक्रमणको जोखिममा परिरहेको कार्कीले बताए। संक्रमित क्षेत्र सिल गर्नेदेखि स्वाब संकलन र अक्सिजनको खोजीसम्मका काममा प्रहरी खटाउने गरिएको छ।

कोरोना संक्रमण देखिन थाले पनि कार्यक्षेत्रबाट नेपाल प्रहरी पछि नहट्ने जानकारी डीआईजी कार्कीले दिएका छन्। ‘संक्रमणले संकट बढायो भनेर फिल्डमा प्रहरीको संख्या घटाउँदैनौँ,’ उनले भने, ‘काम कारबाही प्रभावित नहुने गरी प्रहरीलाई परिचालन गरिने छ। आवश्यकता अनुसार खटाउन ‘रिजर्व’ मा पनि प्रहरी राखिएको छ।’

जनतालाई महामारीबाट जोगाउनका लागि सकेजति सबै उपाय अवलम्बन गरिएको बताउँदै सशस्त्रका डीआईजी दाहालले ‘सर्वसाधारण जनता बच्दा सबै बच्छौँ’ भन्ने मूल मन्त्रलाई आत्मासात गर्दै आफू जोखिममा परे पनि सुरक्षाकर्मी जनसेवामा दत्तचित्त भएर लागेको उल्लेख गरे।’ नियमित काममा निरन्तर लाग्दै कोरोनाको जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखिएको उनले बताए।

कोरोना रोकथाम र नियन्त्रणका लागि गरिएका कडाइको पालना गराउन उपलब्ध स्रोत र साधनको भरपुर सदुपयोग गरेर सुरक्षाकर्मी अग्रपंक्तिमा खटिँदै आएको जानकारी दाहालले दिए। उनका अनुसार नेपाल भित्रन खोज्ने सम्भावित संक्रमित भारतीय नागरिकसँग सिधा सम्पर्क हुने हुँदा सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी कोरोनाको बढी जोखिममा छन्।

‘भारतबाट विभिन्न बाटो हुँदै अवैध रूपमा नेपाल छिर्न खोज्नेहरू धेरै हुन्छन्,’ डीआईजी दाहालले भने, ‘त्यहाँ उनीहरूलाई रोक्न खोज्दा संक्रमण हुने सम्भावना उच्च रहन्छ।’ निको भएर फर्कने क्रम जारी रहेकाले आत्तिन नपर्ने भन्दै उनले संक्रमित सुरक्षाकर्मीलाई सान्त्वना दिए। संक्रमित सुरक्षाकर्मीलाई उपचारको प्रभावकारी व्यवस्था मिलाइएको डीआईजी दाहालले बताए।

आफू जोखिम मोलेरै महामारीको रूपमा फैलिएको कोरोनाबाट जनतालाई जोगाउने महत्वपूर्ण अभियानमा केन्द्रित हुँदा सुरक्षाकर्मीको प्रशंसा भइरहेको नागरिक अगुवा भरत गुरागाईंले बताए। ‘शान्ति सुरक्षाको नियमित कामबाहेक महामारीका बेला जनता जोगाउन सुरक्षाकर्मीको योगदान ठूलो छ,’ उनी भन्छन्, ‘संक्रमणको जोखिमका समयमा झन सुरक्षा सतर्कता बढाउनुपर्ने जिम्मेवारीको उच्च मूल्यांकन हुन जरुरी छ।’

गुरागाईंका अनुसार नियमित काममा खटिनु पर्दा सुरक्षाकर्मी पनि कोरोनाबाट अछुतो छैनन्। तर पनि हिम्मत नहारिकन सर्वसाधारणको सुरक्षामा केन्द्रित हुनुलाई सकारात्मक मान्नुपर्ने उनको भनाइ छ। ‘सुरक्षाकर्मीलाई मात्रै कोरोना लाग्छ भन्ने आम बुझाइ हुनु सरासर गलत हो,’ गुरागाईंले भने, ‘सबै सचेत भएर सावधानी अपनाएन भने आगामी दिनमा झन जटिल अवस्थाको सामना गर्नुपर्ने अवस्था आउन सक्छ।’

अधिकारकर्मी उमेश विश्वकर्मा सुरक्षाकर्मीले मिहिनेत नगरेको भए कोरोनाले अवस्था थप भयावह बनाउने बताउँछन्। ‘कोरोना नियन्त्रणका लागि सुरक्षाकर्मीको भूमिका निक्कै तारिफयोग्य छ,’ उनले भने, ‘महामारीबाट जोगिन र बच्न सबैले सुरक्षाकर्मीलाई साथ दिनुपर्ने अवस्था छ। किशोर बुढाथोकीले अन्नपूर्ण पोष्टमा लेख्नु भएको समाचार साभार

Leave a Reply

Your email address will not be published.