इलाममा आजबाट निषेधाज्ञा कडाई,खाद्यान्न पसल समेत बन्द

  • 37
    Shares
इलाममा आजबाट निषेधाज्ञा कडाई,खाद्यान्न पसल समेत बन्द

फिक्कल: इलाममा आगामी २५ गतेसम्म खाद्यान्न पसल समेत बन्द हुनेगरी निशेधाज्ञा जारी जारी गरिएको छ । जिल्लामा कोराना संक्रमण र मृत्युदर बढेपछि जिल्ला प्रशासन कार्यालय इलामले निषेधाज्ञामा कडाई गरेको हो । इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार खाद्यान्न पसल सहित निजी, सार्वजनिक यातायातका साधन सबै बन्द गरिएको छ ।
बन्द गराउन जिल्लाको इलाम बजार फिक्कल , पशुपतिनगर , मंगलबारे लगायत सबै बजारमा बिहानैबाट प्रहरी परिचालन गरिएको छ ।
यसअघि तरकारी, फलफूल र खाद्य सामग्रीका पसललाई निश्चित समय तोकेर खुला गरिएको थियो । तर, सोमबार जारी आदेशमा तरकारी, फलफूल र दूध विक्री गर्ने पसललाई बिहान ५ देखि साढे ७ बजेसम्ममात्र खुला रहन दिने भनिएको छ । प्रशासनले जारी गरेको आदेशमा मेची राजमार्गबाहेक जिल्लाका सबै क्षेत्रमा यातायातका साधन चलाउने नपाइने, खोपकेन्द्र जाँदा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने, सार्वजनिक निकाय, संस्थान तथा कार्यालयले प्रदान गर्ने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने उल्लेख छ । निजी बैंक, वित्तीय संस्था र सेवासमेत हाललाई स्थगित गरिएको छ ।
परीक्षार्थीले परीक्षा दिन जाँदा सोझै परीक्षा केन्द्रसम्म र घरसम्म फर्किनेबाहेक अन्यत्र हिँडडुल गर्न बन्द गरिएको प्रशासनले जनाएको छ । जिल्लामा कोरोना संक्रमितको कुल संख्या ३ हजार ५ सय बढी रहेको छ । यीमध्ये ९ सय ८६ जना सक्रिय संक्रमित छन् भने २ हजार ४ सय ४८ जना निको भइसकेका छन् । हाल सम्म इलाममा ७५ जनाको निधन भएको छ ।