प्रदेश १ मा कोरोना संक्रमण घट्दै, मृत्युदर भने उच्च

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

विराटनगर : पछिल्ला केही दिनयताबाट प्रदेश १ का जिल्लामा क्रमशः कोरोना सङ्क्रमण दर घटेको छ । प्रदेशका ६ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १० भन्दा कममा झरेको छ ।तर सङ्क्रमणको दर घटे पनि मृत्युदर भने अहिले पनि उच्च दरमा नै देखिएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका १४ जिल्ला मध्ये पहाडी तथा हिमाली जिल्लाहरु खोटाङ, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ र ओखलढुङ्गामा सङ्क्रमणको दर १० भन्दा तल झरेको छ ।

मन्त्रालयको तथ्याङ्कअनुसार खोटाङमा ६ जना, सोलुखुम्बुमा १ जना, सङ्खुवासभामा १ जना, तेह्रथुममा पाँच जना, ताप्लेजुङमा ४ जना र ओखलढुङ्गा सङ्क्रमणमुक्त जिल्ला रहेको छ ।पहाडी जिल्लामा सङ्क्रमणको दर घटे पनि तराईका जिल्लाहरु सुनसरी, मोरङ र झापामा सङ्क्रमणको दर यथावत् रुपमा रहँदै आएको छ । मन्त्रालयका जनस्वास्थ्य अधिकृत ओमकुकारी राजवंशीले पहाडी जिल्लामा पछिल्ला एक हप्तादेखि सङ्क्रमणको दर ओरालो झरे पनि बाक्लो बस्ती रहेको तराईका जिल्लामा भने सङ्क्रमणको दर यथावत् हुँदा सङ्क्रमणको जोखिम टरी नसकेको बताइन् ।

उनले अहिले पनि कोरोना विशेष अस्पतालमा सङ्क्रमितहरु उपचारका लागि भर्ना हुने क्रम बढिरहेको एकातर्फको अवस्था र अर्को तिर सङ्क्रमितहरुको मृत्युदर अहिले पनि दैनिक करिब १० जनाको हाराहारीमा कायम रहेकाले सङ्क्रमणको जोखिम उत्तिकै रहेको बताइन् ।जनस्वास्थ्य अधिकृत राजवंशीका अनुसार अहिले तराईका तीन जिल्लामध्ये सबैभन्दा बढी झापामा १ हजार ८४९ जना सङ्क्रमित रहेका छन् । त्यसपछि मोरङमा १ हजार ६४० र सुनसरीमा १ हजार ३७ जना सङ्क्रमित रहेका छन् ।

अन्य बाँकी जिल्लामा पाँच जिल्ला उदयपुर, भोजपुर, इलाम, पाँचथर र धनकुटामा १ हजार ५ सयमुनिको सङ्ख्यामा सङ्क्रमित रहेका छन् ।

प्रदेशका विभिन्न सरकारी तथा निजी स्तरमा सञ्चालित ३१ कोभिड अस्पतालमा ३ सय ८६ जना उपचाररत छन् । जसमा भेन्टिलेटरमा ४० जना आईसीयूमा ९६ जना, आइसोलेसन बेडमा ३७ जना एचडीयूमा १ सय ७३ र जेनरल बेडमा ८९० जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । त्यसबाहेक होम आइसोलेसन र संस्थागत आइसोलेसनमा ८९ जना रहेका छन् ।मन्त्रालयका अनुसार प्रदेश १ मा कुल सक्रिय सङ्क्रमित ४ हजार ७७८ जना रहेको छ ।

घटेन मृत्युदर

प्रदेश १ मा कोरोना सङ्क्रमणको दर घटेको देखिए पनि मृत्युदर भने उच्च नै देखिन्छ। यस प्रदेशमा अहिले पनि सङ्क्रमितका कारण दैनिक पाँच जना माथिको सङ्ख्यामा मृत्युदर रहेको छ । यो सङ्ख्या कहिलेकाहीँ १० जनासम्म पुग्ने गरेको छ।मन्त्रालयका तथ्याङ्कअनुसार भाद्र १४ गते अर्थात् सोमबार मात्र प्रदेश १ मा कोरोना सङ्क्रमणका कारण १० जनाको मृत्यु भएको छ । त्यसैगरी भाद्र १३ गते ६ जना, भाद्र १२ गते सात जना भाद्र ११ गते ६ जना र भाद्र १० गते ९ जनाको मृत्यु भएको छ ।प्रदेश १ मा दोस्रो कोरोना कालदेखि हालसम्म १ हजार १०७ जनाको मृत्यु भएको छ भने पहिलो कोरोना कालमा ६ सय ४४ को मृत्यु भएको थियो । प्रदेशमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म १ हजार ७५१ जनाको मृत्यु भएको छ । रातोपाटीबाट

Leave a Reply

Your email address will not be published.