इटहरी: ओरियन्स ग्लोबल नेटवर्क मार्केटिङ नामक कम्पनीको इटहरीमा अवैधानिक रुपमा कार्यालय सञ्चालन गरी करोडौँ रुपैँया भन्दा बढीको ठगी कारोबार गर्दै आएका इटहरी ८ बस्ने रोहित कोइराला आइतबार फेरी पक्राउ परेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय इटहरीले ठगीको अरोपमा पक्राउ गरेको हो । भारतको चेन्नाईमा मुख्य कार्यालय रहेको उक्त कम्पनीले नेपालमा अवैधानिक रुपमा आफ्नो नेटवर्क संञ्चालन गर्दै आएको थियो । स्वास्थ्यसम्बन्धी उत्पादन भन्दै ठगी गरेर सर्वसाधारणसँग लाखौँ रुपैया लिने गरेको थियो ।
उनीहरुले नेटवर्किङको माध्यमबाट करोडौँ रुपैँया भन्दा बढी ठगी गर्ने गरेका थिए । आफुहरुलाई पनि ठगी गरेको भन्दै इटहरी र झापाका ५ जनाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको इटहरीका प्रहरी निरीक्षक बुद्धि चौलागाईले जानकारी दिए ।
यस्तै कोइरालासगै सुमन थापा र रोशन भट्टराईको नाममा समेत उजुरी परेको छ । उनिहरुको पनि खोजी भइरहेको चौलागाईले बताए ।
५ जनाबाट एक लाख ९५ हजारको दरले १७ लाख रुपैया ठगी गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी परेको हो । कोइराला यस अघि पनि यही मुद्धामा झुम्का कारागारमा बसी घरौटीमा रिहा भएका थिए ।