फाल्गुनन्द जयन्तीमा इलामका तीन सहित प्रदेश १ का १९ स्थानीय तहमा सार्वजनिक विदा

Breaking News Hot News Mukya Samachar Special News Trending कला संस्कृति प्रदेश नं. १ समाज

इलाम: राष्ट्रिय विभुती महागुरु फाल्गुनन्दको १३५ औ जन्मजयन्तीको अवसरमा इलामका तीन स्थानीय तह सहित प्रदेश १ का १९ स्थानीय तहले कात्तिक २५ गते आज सार्वजनिक बिदा दिएका छन् । इलामको माई नगरपालिका, फाकफोकथुम गाउँपालिका र माङसेवुङ गाउँपालिकाले महागुरुको जन्मोत्सवमा स्थानीय विदा दिएका हुन् । प्रदेश १ का ८ नगरपालिका र ११ गाउँपालिका गरी १९ स्थानीय तहले सार्वजनिक विदा दिएका हुँन ।
माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इडिङगोले महागुरुको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिएको जानकारी दिनु भयो । इलामका तीनै स्थानीय तहले फाल्गुनन्द जयन्तीका अवसरमा बिभिन्न कार्यक्रम समेत आयोजना गरेका छन् । विस १९४२ कात्तिक २५ गते इलामको पश्चिमी क्षेत्र चुक्चिनाम्बामा जन्मिनु भएका फाल्गुनन्दले समाज सुधारमा महत्पूर्ण योगदान दिनु भएको छ ।
उहाले किरात धर्मावलम्बीहरुको मुन्धुमलाई लिखित रुपमा ल्याउन सुरुवात गर्नु भएको थियो । उहाको पहलमा पाँचथरको चोकमागुमा वि.स. १९८८ मा गरिएको बृहत भेलाले गरेको ‘सत्यधर्म मुचुल्का’ नामक निर्णयमा छोरीचेलीलाई छोरा समान शिक्षा, अंश दिनुपर्ने, बली प्रथा अन्त्य गर्नुपर्ने, आत्मनिर्भर बन्न स्वदेशी उत्पादनमा जोड दिनुपर्ने उल्लेख छ ।
करिब नौ वर्ष ब्रिटिस गोर्खा सैनिकमा कार्यरत फाल्गुनन्दले सैनिक जीवनबाट फर्कीएपछि समाज सुधार र धार्मिक कार्यमा जीवन बिताउनु भयो । उहाले समाज सुधारका लागि गरेको कार्यको सम्मान गर्दै सरकारले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेको छ ।

Leave a Reply

Your email address will not be published.