फाकफोकथुम वडा नम्बर १ को कार्यालय उद्घाटन

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ समाचार समाज


इलामको फाकफोकथुम गाउँपालिकामा रहेका वडा कार्यालय धमाधम निर्माण सम्पन्न भएका छन् । गतवर्षदेखि निर्माण कार्य सुरु गरिएका यहाँका तीन वटा वडा कार्यालयहरु उद्घाटन चरणमा छन् ।
फाकफोकथुम गाउँपालिका वडा नं. १ ठिंगेपुरस्थित वडा कार्यालयको आज एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले कार्यालयको उद्घाटन गर्नुभएको हो ।
वडा कार्यालय उद्घाटन समारोहमा विशेष अतिथि तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखनाथ दाहालले वडा कार्यालय निर्माण भएसँगै सेवाग्राहीले सहज तरिकाले सेवा पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रमकी विशेष अतिथि तथा फाकफोकथुम गाउँपालिकाका उपाध्यक्ष सरस्वती राई (सरु) ले आगामी वर्षभित्रमा गाउँपालिकाका सबै वडामा वडा कार्यालय निर्माण गर्ने र गाउँपालिका भवन समेत निर्माण सम्पन्न गर्ने बताउनुभयो । आजकै दिन प्रजातन्त्र दिवस परेकाले उहाँले गणतन्त्र पश्चात स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न गाउँपालिका लागि परेको विचार व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले अब गाउँपालिका समृद्धितर्फ उन्मुख भएको बताउनुभयो । अब जनताले दुख पीडा केही भोग्नु नपर्ने बताउनुभयो । हामी भ्रष्टाचार गर्दैनौं र गर्न पनि दिंदैनौं भन्नुभयो । कहिलै पनि जनप्रतिनिधि र कर्मचारीबीच कुनै द्धन्द्ध नभएको स्पष्ट पार्दै अध्यक्ष श्रेष्ठले सबै कर्मचारीलाई एकै प्रकारले हेरिरहेको स्पष्ट पार्नुभयो । केन्द्रमा कर्मचारी माग गरिएपनि लेखालगायतका कर्मचारी चाँडै आउने विश्वस्त पार्नुभयो । लेखाका कर्मचारी नहुँदा धेरै योजनाको काम सम्पन्न भएपनि भुक्तानी लिन पाएका छैनन् भने शिक्षक कर्मचारीले तलब भत्ता पाउन सकेका छैनन् । जनप्रतिनिधिहरुले कामै गरेनन् भन्ने कुरामा कुनै तुक नरहेको बताउँदै अध्यक्ष श्रेष्ठले भन्नुभयो हामीले वडा कार्यालय निर्माण, सडक निर्माणलगायतका ठूल्ठूला काम गरेका छौं, यस्ता अनरगल प्रचार नगर्न छाड्नुस्, भन्नुभयो । गाउँपालिकालाई नमुनाको रुपमा विकास गरेको उहाँको भनाई थियो । उहाँले समयमा वडा कार्यालय निर्माण गरिदिने ठेकेदार कम्पनीलाई समेत धन्यवाद दिनुभयो ।
वडा कार्यालय नहुँदा भाडाको घरमा निक्कै कष्टप्रद तरिकाले कार्यालयले सेवा प्रवाह गरिरहेको थियो । भाडाको घरमा कार्यालय सञ्चालन गर्नुपर्दा सबै फाँटको सेवा एउटै कोठाबाट प्रवाह गरिरहनुपरेको थियो । कार्यालय निर्माण भएपछि जनतालाई राम्रोसँग सेवा प्रवाह गर्न सकिने र व्यवस्थित तरिकाले सेवा प्रवाह गर्न सकिने वडाध्यक्ष टेकवीर नेम्वाङ्ग बताउनुहुन्छ ।
२०७५ साल साउन २६ गते गाउँपालिकामा सम्झौता भई निर्माण सुरु गरिएको थियो । जिआरडि कन्ट्रक्सन प्रालिले भ्याटसहित ५३ लाख ७२ हजारमा निर्माणको ठेक्का लिएको थियो । वडाध्यक्ष, प्राविधिक कक्ष, सभाहल र प्रशासन कक्ष सहितको एक तले सुविधासम्पन्न भवन निर्माण गरिएको निर्माण कम्पनीका प्रतिनिधि टीका बोहोराले बताउनुभयो । गाउँपालिकामा कर्मचारी अभावका बीच निर्माण सुरु गरिएको भवनका लागि आवश्यक बजेट निकासाका लागि बारम्वार समस्या हुँदै आएको समेत प्रतिनिधि बोहोराले जानकारी दिनुभयो । गाउँपालिकामा लेखा शाखाका कर्मचारी नहुँदा काम सकिएको लामो समय बितिसक्दा पनि भुक्तानी पाउन नसकिएको बोहोराको गुनासो छ ।
वडा नं. १ का वडाध्यक्ष टेकवीर नेम्वाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष हरिप्रसाद दंगाली, वडा नं. ६ का वडाध्यक्ष डिकबहादुर थापा, वडा सदस्य अमृता नेपाली, इन्द्रकुमार नेम्वाङ्ग, नेपाली काँग्रेसकी नेतृ डालाकुमारी विष्ट, नेकपाका गुरुभक्त लामिछाने, नेकाका गाउँसभापति चुडामणि पौडेल, संघीय समाजवादी पार्टीका टीका सम्वाहाम्फेलगायत विभिन्न व्यक्तिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । सो अवसरमा जग्गादाता, इञ्जिनियर कुशल खनाल, सव इञ्जिनियर सिताराम पौडेल, किसन लिम्वू, वडा सचिव तिलरुपा राई, कर्मचारी पेमाडोल्मा योल्मुलगायतलाई सम्मान पत्र प्रदान गरियो । कार्यक्रममा विभिन्न जातजातिका झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.