टीका खतिवडा
इलाम फागुन : इलाम देउमाई नगरपालिका ६ वाफ्रुङकी सुस्मिता गुरुङ यतिबेला जिवन र मरणको दोसाँदमा हुनुहुन्छ । आफ्ना दुबै मृगौलाले काम गर्न छाडेपछि उहाँ यस्तो अवस्थामा पुग्नु भएको हो । बुद्धराज गुरुङकी बुहारी लाक्पाकी श्रीमती सुस्मिताका दुबै मृगौलाले काम गर्न छोडेपछि समस्या भएको छ । अर्को कुरा त उहाँको ८ महिने बच्चा छ । आमाको दुध खुवाउन समेत नपाएपछि बच्चाको समेत बिजोग भएको उहाँकी फुपु कला राईले बताउनु भयो ।
सुस्मिताको बिराटनगर स्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा बस्दा खर्च बढ्ने भएकाले उहाँहरु हाल माईत सूर्योदय नगरपालिकाको कन्याममा बस्दै आउनु भएको छ । डाक्टरले दुबै मृगौला फेर्नु भनेपछि बिचल्लीमा परेको परिवार हाल रकम जुटाउन लागि परेको छ ।
करिब डेढ महिना अगाडीदेखी उहाँ रोगका कारण थलिएर ओछ्यानमा पर्नुभएको छ । श्रीमान लाक्पा पनि गएको २०७५ साल फागुन २३ गते पुवाखोला छेउको बन्चरे गोलाईमा गाडी दुर्घटनामा परि काम गर्न नसक्ने अवस्थामा पुग्नु भएको फुपु कलाई राईले बताउनुभयो । परिवारमा तीन सदस्य रहेका उहाँहरुका घरमा हाल तीनै जना ओछ्यानमा परेपछि हातमुख जोर्न नै समस्या भएको छ ।
श्रीमान दुर्घटनाबाट र श्रीमती दुबै मृगौला फेल भएर उपचारमा हुँदा सानो नानीको भविष्य नै अन्धकारमा पर्ने चिन्ता छाएको छ । सुस्मिताको हातगोडा सुन्निएका छन् । मुख समेत च्याप्प नहुँदा झनै समस्या थपिएको परिवारको भनाई छ ।
उहाँका आफन्तहरु हाल सुस्मिताको उपचारमा रकम जुटाउन लागि पर्नुभएको छ । आफुहरुले मात्र सहयोग गर्दा रकम पर्याप्त नहुँने भएकाले थप आर्थिक जुटाउनु पर्ने बाध्यता छाएको छ । उहाँहरु हाल देउमाई नगरपालिका ६ बाट सिफारिस बनाएर यथासक्य रकम जुटाउन लाग्नु भएको छ । केही न केही भएपनि सहयोग माग्दै उहाँहरु सुस्मिताको जिवन बचाउन अपिल गरिरहनु भएको छ । यसका लागि देश बिदेशमा छरिएर रहनु भएका नेपाली दाजुभाई, दिदिबहिनीहरुबाट थप रकम जुट्ने परिवारले अपेक्षा लिएको छ ।
सुस्मिताको जिवन रक्षाका लागि अपिल !
