दक्षिण कोरियामा कसरी रोकियो कोरोना ?

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ प्रमोसन रोचक स्वास्थ्य/शिक्षा

काठमाडौं: दक्षिण कोरिया एकैपटक सबैभन्दा धेरै कोरोना भाइरस फैलिएका दुई मुलुकमध्येको एक हो । चीनपछि दक्षिण कोरियामा यो भाइरसको प्रकोप फौलिएको थियो ।तर अहिले चीनको साथै दक्षिण कोरियामा नयाँ संक्रमणको संख्या उल्लेख्य कमी आएको छ ।

दक्षिण कोरियाले चीनको जस्तो अभिव्यक्ति स्वतन्त्रतामा पनि रोक लगाएन न त उसले यूरोप र अमेरिकाको अर्थतन्त्रलाई नै जोखिममा पर्ने गरी भाइरस फैलिन दियो । भाइरसको संक्रमण कति जनामा भयो भन्ने कुरा बिर्सिने हो भने यो भाइरस नियन्त्रणमा अडिग रहेको मुलुक दक्षिण कोरिया हो ।

फेब्रुअरीको अन्तिम र मार्चको शुरुमा दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण केही दर्जन मानिसमा देखिएको थियो । बिस्तारै यो संक्रमण बढ्दै केही हजारमा पुग्यो ।

फेब्रअरी २९ मा दक्षिण कोरियामा सबैभन्दा धेरै ९ सय ९ जनामा कोरोना भाइरसको नयाँ संक्रमण देखिएको थियो । यो आँकडाले दक्षिण कोरियामा व्यापक मात्रामा यसको महामारी फैलिन सक्ने आशंका गरिएको थियो । तर एक साताभित्र दक्षिण कोरियामा नयाँ संक्रमितको दैनिक संख्या आधामा झर्‍यो । त्यसको पनि चार दिनमा पुनः संक्रमितको संख्या आधामा आयो र भोलिपल्ट अझै घट्यो ।

आइतबार दक्षिण कोरियामा केवल ६४ जना नयाँ संक्रमित फेला परे । यो एक महिनामा सबैभन्दा कम नयाँ संक्रमितको संख्या हो ।

जबकी अहिले विश्वभर नयाँ संक्रमितको संख्या बढ्दो क्रममा छ । दैनिक रुपमा नै हजारौं मानिसहरु यो भाइरसबाट संक्रमित भइरहेका छन् । यो भाइरससँगै विश्वको स्वास्थ्य स्याहार प्रणाली र अर्थतन्त्र नै समस्यामा पुगिसकेको छ ।

इटालीमा केही दिनयता दैनिक ५ सय भन्दा बढी मानिसले ज्यान गुमाइरहेका छन् । तर दक्षिण कोरियामा भने दैनिक आठ जनाभन्दा बढीको ज्यान गएको छैन ।

दक्षिण कोरियाले कोरोना भाइरस नियन्त्रणका लागि गरेको प्रयासलाई अरुले पाठका रुपमा लिनुपर्ने विशेषज्ञहरु बताउँछन् । कठिनभन्दा कठिन कामलाई पनि सहज रुपमा गर्ने, प्रत्यक्ष रुपमा आवश्यक नियन्त्रण र मुलुकले धान्न सक्ने कदम, मुलुकभर परीक्षण र संक्रमितसँग सम्पर्क गर्ने मानिसलाई ट्रेसिङ र नागरिकलाई पाएको ठूलो सहयोगले दक्षिण कोरियाले कोरोना नियन्त्रण गर्न सक्षम भएको हो ।

अहिलेसम्म भाइरसबाट सबैभन्दा प्रभावित मुलुकले भने दक्षिण कोरियाको बाटो समात्न सकेका छैनन् । केही मुलुकले यस्तो बाटोमा इच्छा देखाउन थालेका थिए तर यो भाइरसको महामारी फैलिएसँगै उनीहरुले त्यसलाई निरन्तरता दिन सकेनन् ।

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रो र स्वीडेनका प्रधानमन्त्री स्टेफेन लोफभेनले दक्षिण कोरियाका राष्ट्रपति मूनजाइ–इनसँग कोरोना भाइरस नियन्त्रणका लागि चालेको उपायबारे जानकारी दिन आग्रह गरेका थिए ।

तर दुबै मुलुकले त्यो मोडल अपनाउन सकेनन् ।

अझै पनि दक्षिण कोरियाका अधिकारी भने भाइरस नियन्त्रणका लागि निकै सचेत भएर अघि बढिरहेका छन् । यहाँ दक्षिण कोरियाबाट सिक्नुपर्ने केही पाठ उल्लेख गरिएको छ –

१।संकट सुरु हुनुभन्दा पहिला नै कदम चाल्नु

दक्षिण कोरियामा पहिलो संक्रमण देखिएलगत्तै जनवरी अन्तिममा सरकारी अधिकारीहरुले केही चिकित्सा क्षेत्रका कम्पनीहरुसँग छलफल गरे । उनीहरुले कोरोना भाइरसको परीक्षण र आवश्यक सामग्रीको उत्पादन बढाउन आग्रह गरे ।

दुई साताभित्र संक्रमितको संख्या दुई अंकमा पुगिसकेको थियो । तर सरकारले सुरक्षाका किट्स उत्पादनसँगै आपूर्तिमा जोड दियो र धेरैभन्दा धेरै परीक्षण गरायो ।

अहिले एक लाख किट्स उत्पादन भइरहेको छ भने १७ मुलुकसँग किट्स निर्यातका लागि कुरा गरिरहेको छ छ।

अधिकारीहरुका अनुसार डाइगु शहरस्थित एक चर्चबाट कोरोना भाइरसको संक्रमण फैलिएको थियो । संक्रमण देखिनासाथ उक्त शहरमा आपतकालीन अवस्था घोषणा भयो ।

दक्षिण कोरियाली अधिकारीले मानिसको गतिविधिमा प्रतिबन्ध नलगाई भाइरस नियन्त्रणको योजना ल्याए । विशेष गरी भीडभाडबाट यो भाइरस फैलिएको थियो । त्यसैले अधिकारीले त्यसमा अंकुश लगाए ।

कोरोना भाइरसको संक्रमण पाँच दिनसम्म संक्रमणकालीन अवस्थामा हुन्छ । यस्तोमा यो भाइरस निकै सजिलै सर्छ । केही समयमै सयौं वा हजारौं मानिसमा यो संक्रमण सर्नसक्छ । त्यसैले यसले संकटको रुप लिनुभन्दा पहिला नै यसलाई रोक्न सके मात्र यो भाइरस नियन्त्रण आउन सक्छ ।

२। परीक्षण र सुरक्षित हुनु

दक्षिण कोरियाले अहिलेसम्म विश्वमै सबैभन्दा धेरै मानिसमा कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अहिलेसम्म दक्षिण कोरियाले ३ लाखभन्दा धेरै मानिसलाई कोरोना भाइरसको परीक्षण गरिसकेको छ ।

र, जसलाई संक्रमण देखिन्छ, उनीहरुलाई आइसोलेट गर्दै भाइरस नियन्त्रणको प्रयास गर्‍यो । त्यसका लागि अस्पताल र क्लिनिकमा कोरोना भाइरसको परीक्षण सेवा बढायो । अधिकारीहरुले ६०० परीक्षण केन्द्र स्थापना गरे । दक्षिण कोरियामा भाइरस परीक्षणको लागि केवल १० मिनेटभन्दा कम समय लाग्छ भने केही घण्टामा त्यसको नतिजा पनि आइपुग्छ ।

३। पहिचान, आइसोलेसन र सर्वेक्षण

दक्षिण कोरियामा जब कुनै मानिसमा भाइरसको संक्रमण पुष्टि हुन्छ, स्वास्थ्यकर्मीले बिरामीसँग पछिल्लो समय सम्पर्कमा आएका मानिसको परीक्षण गर्ने मात्र होइन, आवश्यक परे उनीहरुलाई पनि आइसोलेट गर्ने काम गर्छन् । अर्थात सम्भावित सबै मानिसमा भाइरस संक्रमण भए नभएको परीक्षण गरिन्छ ।

यसअघि मार्स भाइरसको महामारी फैलिँदा पनि दक्षिण कोरियाले सम्भावित मानिसको पहिचान गर्ने अभ्यास गरेको थियो । त्यसका लागि उसले फुटेज, जीपीएसलगायतका प्रविधिहरुको प्रयोग गर्‍‍यो । सरकारले कुनै नयाँ संक्रमित फेला परेको खण्डमा उसको नजिकका मानिसहरुलाई यसको सूचनादिने र सुरक्षित रहन मानिसहरुलाई स्मार्टफोनमार्फत आग्रह गर्ने काम गर्‍यो ।

त्यहाँ पर्याप्त स्वास्थ्यकर्मी पनि उपलब्ध छैनन् । त्यसैले सरकारले सूचना दिन र सहकार्य गर्न नागरिकलाई आग्रह गर्‍यो । त्यसका लागि आवश्यक मात्रामा सार्वजनिक सेवा केन्द्र खोल्यो । यसले पनि दक्षिण कोरियामा कोरोना भाइरस फैलिन दिएन । अनलाईन खबरबाट

Leave a Reply

Your email address will not be published.