कर्णाली सहकारीद्वारा बिपन्नलाई आठ लाख राहत दिने निर्णय

प्रदेश नं. १ प्रमोसन स्वास्थ्य/शिक्षा

बिर्तामोड: झापा बिर्तामोडको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले जिल्लाका १५ वटा स्थानीय तहमा विपन्न नागरिकका लागि राहत अभियानमा सघाउने भएको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले झापाका १५ वटै स्थानीय तहलाई राहत अभियानमा सघाउने निर्णय गरेको हो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले देश लक डाउन गरेपछि दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका नागरिक समस्यामा छन् । उनीहरुलाई राहत दिन झापाका १५ वटै स्थानीय तहले कोष बनाउनुका साथै सङ्घ संस्थालाई एकद्वार प्रणालीबाट राहत अभियानमा सघाउन आह्वान गर्दै आएका छन् ।
संस्थाको आकस्मिक राहत कोष र सामाजिक उत्तरदायित्व अन्तरगत झापाका सबै पालिकालाई हुने गरी संस्थाले आठ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाका सन्चालक समिति सदस्य गुन्जन थापाले बताए ।। ‘एकद्वार प्रणालीबाट राहत वितरण गर्ने पालिकाहरुको निर्णय रहेकाले राहत कोषमा जम्मा हुने गरी सहयोग गर्ने निर्णय भएको छ’, सन्चालक समिति सदस्य थापाले भने । संस्थाले झापाका १४ स्थानीय तहलाई ५० हजारका दरले र संस्थाको मुख्य कार्यालय रहेको बिर्तामोड नगरपालिकालाई एक लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको समिति सदस्य थापाले जानकारी दिए । २० वटा शाखामार्फत वित्तिय सेवा दिँदै आएको कर्णालीमा ३३ हजार सदस्य आवद्ध छन् ।

Leave a Reply

Your email address will not be published.