नेपाल-जापान श्रम सम्झाैतामा आज हस्ताक्षर , अप्रिलबाटै कामदार लैजाने प्रक्रिया सुरु

Mukya Samachar Special News Trending समाचार


काठमाडौँ : बहुप्रतिक्षित नेपाल-जापानबीच श्रम सम्झाैतामा आज (साेमबार) हस्ताक्षर हुँदै छ । नेपाल र जापानबीच श्रमिक आपूर्तिबारे सहकार्यको समझदारी (एमओसी) मा आज हस्ताक्षर हुन लागेकाे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार जापानका सरकारी प्रतिनिधि र नेपालकाे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच आज काठमाडाैँमा हस्ताक्षर हुन लागेकाे हाे । नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले एमअाेयूमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

समझदारी पत्रमा हस्ताक्षर कार्यक्रमका लागि जापानको श्रम मन्त्रालयका अधिकारीसमेत नेपाल आइसकको मन्त्रालयले जनाएकाे छ । नेपालस्थित जापानी राजदूतले हस्ताक्षरसहितको (एमओसी) श्रमसचिवसामु पेस गर्ने बताइएकाे छ । दुई देशबीच हुने श्रम सम्झौताको ड्राफ्ट यसअघि नै तयार भइसकेको थियाे । 

जापानले केही महिनाअघि नै आफ्नाे अाप्रवासी कामदारबारेकाे नीतिमा हेरफेर गर्दै विदेशी कामदार भित्र्याउने प्रक्रिया थालेकाे छ । उसले नेपालसंगै थाइल्यान्ड, चीन, भियतनाम, इण्डोनेसिया, मंगोलियालगायत ९ देशबाट कामदार भित्र्याउने भएकाे हाे । आउँदो अप्रिल १ तारिखबाटै नेपाली कामदार लाने विषयबारे प्रक्रिया अघि बढ्ने जनाइएकाे छ ।


जापानको पछिल्लाे नयाँ नियमअनुसार आप्रवासी कामदारका लागि जापानी भाषा अनिवार्य गरेकाे छ । जापानले सरकारीस्तरमै समझदारी गरी विदेशी कामदारकाे भाषा सीप परीक्षणबाट मात्र व्यवस्थित तरिकाले कामदार लैजाने भएको हाे । यसका लागि उसले आवश्यक लागत बजेट १ वर्षका लागि १६ दशमलव ३ अर्ब जापानी येन छुट्याएको छ ।

भाषा परीक्षा र सिप परीक्षण, कामदार छनोट, लागत सहितका विषयमा जापान सरकारसँग समझदारी भएपछि मात्रै कामदार पठाउने प्रक्रिया थालनी हुनेछ । जापानले पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार विदेशी कामदारलाई १४ वटा औद्योगिक क्षेत्रमा बिदेशी कामदार लैजानेछ । जसमा नेपालीहरुले नर्सिङ केयर, निर्माण, होटल, कृषि, मत्स्यपालन लगायतका क्षेत्रमा जान पाउनेछन् ।

जापानले पहिलाे चरणमा कम्तिमा पनि ३ लाख ४५ हजार आप्रवासी कामदार भित्र्याउने तयारी गरेकाे छ । नेपालबाट झण्डै ४० हजार कामदार लगिने जनाइएकाे छ । कामदारको सीप परीक्षण गरी सोही अनुरुपको काम उपलब्ध गराउनेसमेत जापान सरकारकाे लक्ष्य रहेकाे बुझिन्छ । न्यूज24 बाट

Leave a Reply

Your email address will not be published.