चिया श्रमिकहरु भोकभोकै आन्दोलनमा

चिया श्रमिकहरु भोकभोकै आन्दोलनमा

अम्बिका भण्डारी भद्रपुर:

बैशाखको टन्टलापुर घाममा तरतरी पसिना चुहाउँदै चिया श्रमिकहरु सडक आन्दोलनमा उत्रिएको एक महिना पूरा भइसकेको छ । श्रम कानूनसम्मत ज्याला पाउनु पर्ने जायज माग गरिरहेका उनीहरुको आवाज न सरकारले सुनेको छ, न चिया बगान र उद्योगका मालिकहरुले नै ।
झापा, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा लगायतका दर्जन जिल्लामा सञ्चालित चिया बगान र कारखानामा ५० हजार भन्दा बढी मजदुरहरु कार्यरत छन् । जसमध्ये सबैभन्दा बढी १०० वटा बगान र २६ वटा कारखाना झापामै छन् । ती सबै प्रतिष्ठानमा कार्यरत मजदुरहरु अहिले काम छाडेर सडकमा उत्रिएका छन् । झापामा दिनहुँ जुलुस, धर्ना र हड्ताल भइरहेको छ ।

काम छाडेर आन्दोलनमा लागेका श्रमिक महिलाहरु आफ्ना बालबच्चा च्यापेरै तातो घाममा जुलुसमा आउने गरेका छन् । एक छाक मात्र खाएर आन्दोलन गरिरहेको बताउने उनीहरुले परिवारको गर्जो टार्न कसैले ऋण काढेको र कसैले व्यापारीबाट उधारोमा सरसामान किन्ने गरेको बताएका छन् ।

सरकारले गत साउन १ गतेदेखि चिया श्रमिकको न्यूनतम दैनिक तथा मासिक ज्याला लागू गरेको छ । जस अनुसार बगानमा काम गर्नेले दैनिक ज्यालादारी भए रु. ३८५÷– र मासिक ज्यालादारी भए रु.१० हजार ८५०÷– पाउने व्यवस्था छ ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का १ नंं. प्रदेशका अध्यक्ष सन्तकुमार राई सरकारले तोकेको ज्याला समेत नपाएपछि श्रमिकहरु बाध्य भएर वार कि पारको आन्दोलनमा होमिनु परेको बताउनु हुन्छ ।

उहाँका अनुसार चिया बगान तथा उद्योगहरुले अहिले चिया श्रमिकहरुलाई सरकारले तोेकेको भन्दा दैनिक रु. १२०÷– कम ज्याला दिएर काम लगाइरहेका छन् । उनीहरुले दैनिक ज्याला रु. २६५÷– मात्र पाइरहेका छन् ।

विर्तामोडको गिरीबन्धु टी इस्टेटमा विगत १५ वर्षदेखि हरियो पत्ती टिप्ने मजदुरी काम गर्दै आउनुभएकी सावित्रा बन्जारा पौडेलले चिया बगान र उद्योगका सञ्चालकहरुले दिने गरेको ज्यालाले परिवारको एक छाक टार्न पनि सम्भव नहुने बताउनुभयो ।

सरकारले तोकेको ज्याला नपाएसम्म सडक आन्दोलनबाट काममा नफिर्ने आफुहरुको सङ्कल्प रहेको बताउँदै उहाँले भन्नुभयो–‘भोकभोकै पटकपटक मर्नुभन्दा आन्दोलन गरेरै एकैपटक मर्न अब हामी तयार भएका छौं ।’

सरकारबाट निर्धारित र श्रम कानूनमै उल्लेखित ज्याला नपाएपछि गत चैत १७ गतेदेखि सडक आन्दोलनमा निस्किएका चिया मजदुरहरुले मुलुकभरका चिया प्रतिष्ठानहरु ठप्प पारेका छन् भने केही उद्योगमा आन्दोलनकारीले तोडफोड समेत गरेका छन् ।

हल्दिबारी–२ स्थित कामख्यादेवी टी प्रालिको कारखानामा बासका भाटा बोकेर आएको मजदुरहरुको एउटा समूहले तोडफोड र आगजनी गरी रु. १० लाखको क्षति पुर्याएको उद्योगी पक्षको भनाइ छ ।

अखिल नेपाल चिया मजदुर सङ्गठनकी केन्द्रीय अध्यक्ष सीता सापकोटा आफैले बनाएको कानून कार्यान्वयन गर्न नसक्ने सरकारविरुद्ध अबको आन्दोलन सोझिने चेतावनी दिनु भएको छ । ‘हिजोसम्म उद्योगीविरुद्ध मात्र आन्दोलन गरिरहेका थियौ’, आन्दोलनको नेतृत्व गरिरहनु भएकी सापकोटा भन्नुहुन्छ, ‘अब आफैले बनाएको कानून कार्यान्वयन गर्न नसक्ने सरकारविरुद्ध पनि हाम्रो आन्दोलन केन्द्रित हुनेछ ।’

अखिल नेपाल ट्रेड युनियन महासङ्घका १ नं. प्रदेश इञ्चार्ज भूपाल सापकोटाले चिया मजदुरहरुले भोकभोकै एक महिनासम्म रापिलो सडकमा पसिना चुहाउँदै आन्दोलन गरेको विषयमा सुनुवाई नभएपछि मुलुकमा मजदुरका लागि सरकार नै नभएको जस्तो लागिरहेको बताउनुभयो ।

कानूनमा व्यवस्था भएको अधिकार प्राप्तिको लडाई भएको हुँदा यो आन्दोलन सफल नभएसम्म चिया मजदुरहरु जीवनमरणको आन्दोलनमा होमिइरहने उहाँको भनाइ छ । चिया प्रतिष्ठानहरुले मजदुरहरुको श्रमको अवमूल्यन गरेकोमा त्यसको चर्को मूल्य चुकाउनु पर्ने उहाँले चेतावनी दिनुभएको छ ।

चिया मजदुरहरुको आन्दोलन लम्बिदै गए पनि अहिलेसम्म आन्दोलनको स्वरुप शान्तिपूर्ण नै रहेको छ । नेपाल चिया बगान श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष दिपक तामाङ श्रमिक भोकभोकै मर्ने अवस्था आउँदा प्रतिष्ठानहरु अटेर गरिरहने र सरकार रमिता हेरिरहने हो भने आन्दोलनले नयाँ र कडा रुप लिन सक्ने बताउनुभएको छ ।

चिया बगान तथा कारखाना सञ्चालकहरु आवद्ध रहेको नेपाल चिया उत्पादक सङ्घले लागत बढ्ने र व्यवसाय घाटामा जाने दावी गर्दै श्रमिकलाई सरकारले तोके जति ज्याला दिन नसकिने जनाएको छ ।

‘अहिले मजदुरले मागे जति ज्याला दिने हो भने चिया उत्पादनमा ५० प्रतिशतले लागत वृद्धि हुन्छ’, नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष सुरेश मित्तल भन्नुहुन्छ, ‘हामी अहिलेकै हालतमा सरकारले तोकेको ज्याला दिन सक्दैनौं ।’ सरकारले चिया क्षेत्र र अरु उद्योगलाई एउटै दर्जामा राखेर श्रम कानून बनाउन नहुने उहाँको धारणा छ ।

चियाको पहिलो मुना (फस्ट फ्लस) टिप्ने सिजनमा आन्दोलन भएका कारण चिया उद्योगमा एक महिनाभित्र रु. ५० करोडको क्षति भइसकेको अध्यक्ष मित्तलले जानकारी दिनुभयो । चिया क्षेत्रमा उत्पन्न श्रम समस्याको व्यावहारिक समाधान खोज्न सरकार असफल भइरहेको उहाँको आरोप छ ।

चिया मजदुरहरुको माग पूरा नहुँदा आन्दोलन लम्बिएको छ भने प्रमुख राजनीतिक दलहरुले समेत आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् । सत्तारुढ र विपक्षी दलका नेताहरुले सरकारले तोकेको ज्याला श्रमिकले माग्नु न्यायोचित भएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय नेता एवम् झापाबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद राम कार्की श्रम कानून नै मान्दिन भन्न उद्योगीहरुले नपाउने र यदि कसैले कानूनको पालना गर्दैन भने सरकार कडा कार्वाहीमा लाग्नु पर्ने बताउनुहुन्छ ।

चिया मजदुरहरु वर्षौदेखि श्रमको उचित ज्याला नपाएर तड्पिरहेको हुँदा सरकार र राजनीतिक दलहरु मजदुरको हितको पक्षमा निर्णायक ढङ्गले उभिनु पर्ने सांसद कार्की बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘उद्योगीले चिया बगान चलाउन सक्दैनन् भने चिया बगानका नाममा रहेको हदबन्दीभन्दा माथिको जग्गा सरकारले अधिग्रहण गर्नुपर्छ ।’

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चिया श्रमिकहरुले कानूनसम्मत रुपमा मागेको ज्याला दिन आनाकानी गर्न नहुने बताउनु भएको छ ।

मजदुर दिवस मनाउनु पर्ने बेलामा चिया श्रमिकको आँखामा आँशु देख्नु पर्दा आफु दुःखी भएको उल्लेख गर्दै प्रवक्ता शर्माले काङ्ग्रेस सरकारमा भएका बेला श्रम ऐन पारित गराएको स्मरण गर्नुभयो । उहाँले चिया श्रमिकका समस्या समाधानका लागि दवाव दिन प्रधानमन्त्री केपी ओलीसँग कुराकानी गरिने जानकारी दिनुभएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सरकारले लागू गरेको कानून पालना गराउन प्रशासन दृढ रहेको जनाउँदै तोडफोड र उद्दण्ड खालको गतिविधि नगर्न आन्दोलनकारीलाई आग्रह गर्नु भएको छ ।

उहाँले चिया श्रमिकको माग सम्बन्धमा स्थानीय स्तर र राष्ट्रिय स्तरमा पटकपटक छलफल भइसकेको र हालै विभिन्न सरोकारवाला मन्त्रालयको प्रतिनिधित्व रहने गरी समाधान खोज्न एउटा कार्यदल गठन भएको जानकारी दिनुभयो ।

नेपालमा डेढ सय वर्ष पहिलेदेखि चिया खेती सुरु भएको मानिन्छ । सरकारले नै नेपाल चिया विकास निगम स्थापना गरेर झापा र इलाममा ठूलो क्षेत्रफलमा चियाका विरुवा रोपेपछि चिया खेती व्यापक भएको हो । हाल रु. ३ अर्बको चिया भारत लगायत तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ । चिया मजदुर र उद्योगीविचको समस्या समाधान नखोज्ने हो भने चिया क्षेत्र तहसनहस हुने सम्भावना छ ।

तर, चिया समस्याको समाधान खोज्दा श्रमिकको ज्यालालाई अनदेखा गर्न नहुने नेपाल चिया विकास निगमको टोकला बगानमा २२ वर्षदेखि कार्यरत मजदुर तिलक दर्जी बताउनुहुन्छ ।
(रासस)