कुटिडाँडा: इलामको रोङ गाउँपालिका ३ कुटिडाँडास्थित शान्ति निकेतन माविमा चालु शैक्षिक वर्ष २०७६ देखि कक्षा ९ देखि १२ सम्म प्राविधिक तथा ब्यावसायिक धारअन्तर्गतको बाली विज्ञान विषय पढाई हुन लागेको छ । चालु वर्ष कक्षा ९ मा आगामी वर्ष कक्षा १० सम्म र त्यसैगरि चार वर्षभित्र कक्षा १२ सम्म नै पढाई हुने बाली विज्ञान सञ्चालनको तयारी भइरहेको विद्यालयले जनाएको छ ।
विद्यालयका प्राधानाध्यापक हेमन्त आचार्यका अनुसार बाली विज्ञान सञ्चालनको स्वीकृति प्राप्त गरेर शिक्षक ब्यवस्थापन तथा अन्य भौतिक पूर्वाधार ब्यवस्थापन गरेर पढाई थाल्न आगामी जेठ १५ गतेसम्म लाग्नेछ । उनले भने, ‘हामीले स्वीकृति लिइसक्यौँ । अब शिक्षक ब्यवस्थापनका लागि विज्ञापन खोलिएको छ । विद्यार्थी भर्नाको क्रम जारी छ । जेठ १५ मा पढाई शुरु हुन्छ ।’
यो विद्यालयमा पहिलो पटक यो विषय पढाई हुन लागेको हो । विद्यार्थीलाई स्थानीयस्तरमै प्राविधिक ज्ञान दिई स्थानीय स्तरमै ब्यवसायिक बन्न प्रेरणा मिलोस् भन्ने हेतुले यो विषय शुरु गरिएको पनि प्रधानाध्यापक आचार्यको भनाई थियो । उनले बाली विज्ञान पढ्ने विद्यार्थीले सबै खाले कृषि बालीनालीका बारेमा अध्ययन गर्न पाउनेछन् । माथिल्लो तहमा पुगेपछिमात्र निश्चित विषयमा केन्द्रीत भएर विषेशज्ञता हासिल गर्नुपर्ने भएकोले माध्यमिक तहमा सबै बालीको आधारभूत ज्ञान लिन सकिने उनले बताए ।
इलाम जिल्ला कृषि उत्पादनका लागि उर्बर र धेरै कृषि उत्पादन हुने जिल्ला भएकाले पनि बाली विज्ञानको पढाई यहाँ प्रभावकारी हुने विश्वास गरिएको छ । रोङ गाउँपालिकामा पनि मेची राजमार्ग भएका कारणले पनि तरकारी र अन्य नगदेबाली अधिक उत्पादन हुने र सहज रुपमा बिक्री हुने गरेको पाइएको छ । यहाँ स्थानीय स्तरमै कृषिसम्बन्धी प्राविधिक उत्पादन भएको खण्डमा यहाँका कृषकले अझ फाइदा लिन सक्ने विद्यालयका शिक्षकहरूको भनाई छ ।
शान्ति निकेतनमा हुने बाली विज्ञान विषयको पहिलो वर्ष कक्षा ९ को पाठ्यक्रम अनुसार साविकका साधारण विषय ४ वटा र बाली विज्ञानअन्तर्गतकै प्राविधिक विषय ६ वटा अध्ययन गर्नुपर्ने हुन्छ । यो विषय अध्ययनका लागि शान्ति निकेतनकै कक्षा ८ उत्तीर्ण गरेका र अन्य रोङ गाउँपालिकाका विद्यालयका विद्यार्थीलाई यस वर्ष भर्ना लिइने भएको छ । जम्मा ४८ जनासम्म विद्यार्थी कक्षा ९ मा भर्ना गराई पढाउन सकिने पनि प्रधानाध्यापक आचार्यले सन्दकपुर दैनिकलाई बताएका छन् ।
बाली विज्ञान अध्यापन गराउन आवश्यक पर्ने जग्गा, भवन र अन्य पूर्वाधारको पनि विद्यालयमा कमी नभएको उनले बताए । हाल विद्यालयमा पुस्तकालयसहित भवन प्रसस्त रहेका छन् । कक्षा नर्सरी र अङ्ग्रेजी माध्यमबाटसमेत अध्यापन भइरहेको यो विद्यालयको नाममा धनीपूर्जा रहेको जग्गा ५६ रोपनी र अन्य नेपाल सरकारको ऐलानीको रुपमा रहेको जग्गा पनि विद्यालयले ५०० रोपनी जति हकभोग गरिरहेको छ । सोही जग्गामा बाली विज्ञानका विद्यार्थीलाई प्रयोगात्मक शिक्षणका लागि आवश्यक बालीको रोपण, उत्पादन गरिने प्रअ आचार्यको भनाई छ ।
–(रोहितचन्द्र भट्टराई सन्दकपुर अनलाईनबाट)
रोङको शान्ति निकेतनमा यसै शैक्षिक सत्रदेखि बाली विज्ञान पढाई हुँने
