निजी विद्यालयमा जातिय पोशाक

निजी विद्यालयमा जातिय पोशाक

फिक्कल: इलाम सदरमुकाममा सञ्चालित ग्रीनभ्याली एकाडेमीमा मंगलबारबाट विद्यालयमा जातिय पोशाक लगाउन थालेका छन् । विद्यालयले जातिय भेषभुषाबारे विद्यार्थीलाई जानकारी होस भनेर यस्तो अभियान थालेको हो ।
महिनाको एक दिन भएपनि विद्यालयमा यस्तो पोशाक लगाउन विद्यार्थीहरुलाई आग्रह गरिएको विद्यालयका कोअर्डिनेटर सञ्जिव प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार जुनसुकै जातजातिको विद्यार्थी भएपनि अन्य जातजातीको पोशाक लगाउन छुट गरिएको छ । पुर्खाहरुले लगाएको पहिरन सहित इतिहासकाबारेमा जानकारी गराउन यस अभियान फलदायी बन्ने उहाँको अपेक्षा छ ।
‘जातिय पहिरनले जातजातीको महत्व बुझ्न सजिलो हुन्छ’ कोअर्डिनेटर प्रधानले भन्नुभयो । उहाँले पोशाक लगाउन मन नलाग्ने विद्यार्थीलाई छुट दिइएको छ । जातिय पोशाक लगाउन नचाहानेले विद्यालयकै पोशाक लगाउनु पर्ने हुन्छ ।
जातिय पोशाक लगाउन विद्यार्थीलाई प्रोत्साहन गर्ने ग्रीनभ्याली एकाडेमी जिल्लाकै पहिलो हो । निजी विद्यालयहरुले अन्य पोशाकको मात्र प्रोत्साहन गरेको आरोपलाई चिर्न पनि जातिय पोशाक लगाउने अभियान थालिएको विद्यालयले जानकारी दिएको छ ।
साथै सोहि विद्यालयले विद्यालयमा धेरै पाठ्यपुस्तक बाह्यका क्रियाकलाप गर्न सुरु गरेको कोर्डिनेटर प्रधानले वताउनुभयो । बिद्यालयमा विहान कक्षा सुरुहुनु पूर्व दैनिक छोटो नाटक, गित संगित सहित समाचार पढ्ने लगायतका कार्य गराइने वताइएको छ ।
हाल यस विद्यालयका प्री नर्सरीदेखी कक्षा १० सम्म करिव १२ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जानकारी दिएको छ ।