झापामा नक्कली नागरिकताको बिगबिगी, जनप्रतिनिधि फरार

Special News Trending

झापा:

भारतसँग सीमा जोडिएको झापा जिल्लाबाट नक्कली नागरिकता लिने भारतीयहरुको बिगबिगी बढेको छ । पहाडे मूलका भारतीय नागरिकले नेपाली नागरिकता लिने क्रम जिल्लामा बढेको छ ।

झापाबाट भारतीयहरुले कसरी नागरिकता लिइहेका छन् भन्ने एउटा दृष्टान्त अनलाइनखबरले फेला पारेको छ । स्थानीयवासीलाई नक्कली नातेदार बनाएर नागरिकता लिने प्रचलन झापामा सामान्यजस्तै बनिसकेको छ ।

भारतको दार्जिलिङ, सिक्किम, आसाम, मणिपुरमात्रै होइन म्यानमारबाट समेत झापा आएर नागरिकता लिने क्रम चल्दै आइरहेको छ । विगतमा कैयौं भुटानी शरणार्थीहरुले कर्मचारीलाई पैसा खुवाएर आफूलाई नेपालीकरण गरिसकेका छन् भने अहिले पनि पारिबाट झापा छिरेर नागरिकता बनाउने क्रम रोकिएको छैन ।

यही क्रममा एक भारतीय युवकलाई नेपाली नागरिकताको सिफारिस बनाइदिएको खुलेपछि झापाको कचनकवल गाउँपालिका वडा नं। २ का वडाध्यक्षसहित ९ जना फरार भएका छन् । प्रहरीले जनप्रतिनिधिविरुद्ध वारेन्ड काटेपछि वडा कार्यालयले गर्नुपर्ने दैनिक काम प्रभावित बनेको छ ।

कचनकवल गाउँपालिकाको यो घटनाले झापा जिल्ला प्रशासनलाई गम्भीररुपमा सोच्न बाध्य बनाएको छ ।

मतदानको मसीले खुल्यो पोल १

झट्ट हेर्दा नेपालीजस्तै देखिने र भाषा पनि दुरुस्तै भएका एक अधबैंशे युवक १० वैशाखमा नागरिकता लिन जिल्ला प्रशासन कार्यालय, झापा पुगे । गृहमन्त्रालयले जन्मसिद्ध आधारमा नागरिकता जारी गर्न बाटो खोलेलगत्तै प्रशासनमा नागरिकता लिन आउनेको भीड लागेको थियो ।

नागरिकता फाँटका कर्मचारीलाई भ्याइनभ्याइ थियो । प्रवेश गर्ने वित्तिकै ती युवकले कचनकवल गाउँपालिका वडा नं। २ बाट ल्याएको सिफारिस देखाए । स्थानीय बमबहादुर र चन्द्रकला गुरुङ दम्पत्तिका छोरा भुपाल गुरुङका रुपमा उनले आफ्नो परिचय दिए ।

तर, नागरिकता जारी गर्ने तर्खर हुँदै गर्दा एकजना कनिष्ठ कर्मचारीले भुपालको हातको नङमा मतदान गर्दा लगाइने मसी देखे, जसले उनलाई सोच्न बाध्य बनायो ।

‘पारि निर्वाचन भएको दुईदिन मात्रै बितेको थियो । त्यसैले उहाँलाई शंका लागेछ’, झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनलाइनखबरसँग भने, ‘त्यसपछि ती युवकलाई बोलाएर सोधपुछ थालियो ।’

केहीबेरको केरकारपछि उनका साथबाट भारतको मतदाता परिचय पत्र र आधार कार्ड फेला परेको दाहालले बताए । उनका अनुसार त्यसलगत्तै झापाका प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीलाई खबर गरिएको थियो । र, कार्यालय परिसरबाटै उनी पक्राउ परे ।

वडाध्यक्षसहित ९ जनाविरुद्ध वारेन्ट

तराईका अन्य जिल्लाभन्दा झापामा नागरिकता लिनेको संख्या बढी देखिएपछि विभिन्न आशंका सार्वजनिक भइरहँदा प्रमाणसहित प्रशासन कार्यालयबाटै गुरुङ पक्राउ परेपछि गम्भिरतापूर्वक अनुसन्धान सुरु भयो ।

त्यस क्रममा बमबहादुर र चन्द्रकलाले भुपाललाई नक्कली छोरा बनाएको खुल्यो । उनीहरु मात्र होइन, यो अपराधमा कचनकवल गाउँपालिका–२ का जनप्रतिनिधि र कर्मचारीसमेत संलग्न देखिएको छ ।

प्रहरीले अनुसन्धानका लागि वडाध्यक्ष मेखबहादुर भट्टराईसहित सदस्य धनबहादुर गुरुङ, कर्मचारी हरिप्रसाद गौतम र खगेन्द्रप्रसाद खतिवडाविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको छ ।

१५ वैशाखमा अदालतबाट पक्राउ अनुमति लिएर जनप्रतिनिधि, वडाका कर्मचारी र स्थानीय कविता गुरुङ, गंगा भट्टराई, प्रेमप्रसाद तिम्सिना, शिवकुमार दाहाल र तुलसीराम गुरुङको खोजीमा हाल प्रहरी जुटेको छ ।

झापाका डीएसपी महेन्द्र श्रेष्ठ भन्छन्, ‘पूर्जी जारी भइसकेका व्यक्तिको खोजी तीब्र पारिएको छ ।’ उनका अनुसार पक्राउ परेपछि मात्रै नागरिकता सिफारिसमा आर्थिक चलखेल थियो÷थिएन भन्ने खुल्नेछ ।

प्रहरी स्रोतका अनुसार भुपालले वयानका क्रममा आफूले गल्ती गरेको स्वीकारेका छन् । ‘खुलेका बेला लिइराखौं भनेर लिएको हुँ’, गुरुङले प्रहरीलाई भनेका छन् ।’

नक्कली नागरिकता बनाउन खोज्ने भुपालको स्थायी ठेगाना उनीसँग रहेको भारतीय आधार कार्डमा भारतको मणिपुरस्थित ‘कोल्पेचाङ नेपाली भिलेज’ उल्लेख छ ।

आधार कार्डमा भुपालका पिताको नाम चन्द्रबहादुर गुरुङ उल्लेख छ भने झापाबाट लिएको सिफारिसमा कचनकवल गाउँपालिका वडा नम्बर २ बस्ने बमबहादुर गुरुङको छोरा भूपाल गुरुङको मिति ०४० साल १० महिना ७ गते कचनकवल गाउँपालिका वडा नम्बर २ मा जन्म भएको उल्लेख छ ।अनलाईन खबरबाट साभार

Leave a Reply

Your email address will not be published.