पाँचथरमा खानेपानी अभावले बसाइँसराइ

पाँचथरमा  खानेपानी अभावले बसाइँसराइ

पाँचथर: कुम्मायक गाउँपालिका–१ यासोकका खेम निरौलालाई घर नजिकै पानीको मुहान भएको स्मरण ताजै छ। खानमात्र होइन खे पनि यहींको पानी प्रयोग हुन्थ्यो। ‘निरौला धारा’ नामले प्रख्यात सो ठाउँमा पानीको मुहान थियो भनेर भन्दा अहिले कसैले पत्याउँदैनन्। ‘१५ वर्षजति भयो यहाँको मुहान सुक्न थालेको, अहिले त धाराको संरचना पनि छैन,’ निरौला विगत सम्झँदै भन्छन्, ‘यहाँ मात्र हैन गाउँभरिका मुहान सुकेका छन्। बर्सेनि पानीका मुहान सुक्दै गएपछि गाउँमा पानीको पिर थपिँदै गएको छ।’

कुम्मायक गाउँपालिका साविकका यासोक, रानीगाउँ र स्वाबरुम्बा गाविसलाई सरकारले सुखा क्षेत्र नै घोषणा गरेको छ। यहाँका खानेपानीका अधिकतर मुहान सुकिसकेका छन्। केही बचेकाहरूमा पनि पानीको मात्रा घट्दै गएको छ। यसरी खानेपानीको मुहान सुक्ने क्रम बढ्दै गएर अहिले हिजोआज यो पाँचथरको साझा समस्याको रूपमा देखिन थालेको छ। बर्सेनि पानीको मुहान सुक्दै जाने र बचेकाहरूमा पनि पानीको मात्रा घट्दै जाँदा जिल्लामा खानेपानी, पशुपालन, सिँचाइ आदि क्षेत्रमा ठूलो समस्या देखा पर्न थालेको छ।

जिल्लाको उत्तरीभन्दा दक्षिणी क्षेत्रमा यो समस्या बढी छ। उच्चपहाडी क्षेत्र बाहेकमा पानीको मुहान अपत्यारिलो ढंगले सुक्दै जानाले खानेपानीको चरम अभाव सिर्जना भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय फिदिमका प्रमुख सुरतलाल चौधरी बताउँछन्। छिमेकी इलाम र ताप्लेजुङ जिल्लाको तुलनामा पाँचथरमा पानीको मुहान पूरै सुक्ने र पानीको मात्रा घट्ने क्रम ह्वातै बढेको उनको भनाइ छ। खानेपानी अभावका कारण जिल्लामा बसाइँसराइको दर पनि ह्वात्तै बढेको छ। जनताले एक गाग्रो पानीका लागि ठूलो संर्घष गर्नुपर्ने बाध्यता छ।

धमाधम मुहान सुकेर खानेपानी अभाव हुन थालेपछि जिल्लामा बसाइँसराइको दर ह्वात्तै बढेको छ। जनताले एक गाग्रो पानीका लागि ठूलो संर्घष गर्नुपर्ने बाध्यता छ।
पाँचथर जिल्लामा खानेपानीका मुहान एकपछि अर्को गर्दै किन सुकिरहेका छन् भन्ने ठोस अध्ययन–अनुसन्धान त भएको छैन तर विभिन्न अड्कलबाजीहरू भने भइरहेका छन्।

मुहान छेउछाउमा स्काभेटर लगाएर सडक निर्माणको काम अनिन्त्रित ढंगले भइरहेको लाई जिल्लामा खानेपानीको मुहान सुक्नुको मुख्य कारक मानिएको छ। त्यसो त जलवायु परिवर्तनको असर र वन विनाशका कारणले खानेपानी मुहान सुक्दै गएको सरोकारवालाहरू बताउँछन्। जिल्लामा पानीको मात्रा घट्दा पुराना आयोजनाहरूसमेत प्रभावित बनेका छन्। ‘जिल्लामा पानीको मुहान सुक्ने समस्या ठुलो बन्दै गएको छ,’ डिभिजन प्रमुख चौधरी भन्छन्, ‘यही क्रम बढ्ने हो भने जनजीवन थप प्रभावित हुनेछ।’

जिल्लाका कुम्मायक र तुम्बेवा गाउँपालिकाका अधिकतर टोलमा रहेका खानेपानीको मुहान सुकिसकेका छन्। सबै स्थानीय तहमा उही प्रकारको समस्या छ। हिलिहाङको भारपा, पञ्चमी, अमरपुरमा पनि पानीको मुहान सुुकेर समस्या सिर्जना भएको छ।

यीलगायत तमोर नदीले छोएका अधिकतर गाउँमा खानेपानीको चरम अभाव छ। खानेपानी समस्या भएका यी ठाउँहरूबाट बसाइ सर्ने क्रम जारी छ। फिदिम नगरपालिकामा मिसिएका साविकका सबै गविसमा खानेपानीको समस्या छ। मिक्लाजुङ, फाल्गुनन्द, फालेलुङ गाउँपालिका कछाडमा मुहान सुक्ने क्रम बढेको छ। उच्च पहाडी क्षेत्र र सेरोफेरोका बस्तीबाहेक सदरमुकाम फिदिम र जिल्लाका अधिकतर ग्रामीण बजारमा खानेपानीको समस्या दिनप्रतिदिन बढ्दो क्रममा छ।

मुहानमा पानीको मात्रा घट्दा जिल्लामा सञ्चालनमा रहेका जलविद्युत्, सिँचाइ तथा विकास–निर्माणसँग सम्बन्धित अधिकतर आयोजना समस्याग्रस्त बनेका छन्। धारा, खोल्सा र मुहानमा पानीको मात्रा घटेको र कछाडतिरका मुहानहरू बढी सुकेको मिक्लाजुङका घनश्याम घिमिरे बताउँछन्। जिल्लाका रवि, पञ्चमी, सप्तमी, मौवा, यासोक, गोपेटार, जोरपोखरीलगायत बजारका बासिन्दाले खानेपानीको चरम अभाव खेपिरहेका छन्। खानेपानीका मुहानहरू सुक्दै गएपछि केन्द्रीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले खानेपानीसम्बन्धी ठूला आयोजना निर्माणको योजना अघि सारेका छन्।

जिल्लामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको समन्वयमा लिफ्टिङ, डिप बोरिङ, बृहत् खानेपानी आयोजना अघि बढाइएको छ। कुम्मायकमा तमोरबाट पानी ल्याउने लक्ष्यसाथ अघि बढाइएको ४० करोड रूपैयाँ लागत भएको लिफ्ट खानेपानी आयोजना परीक्षणको चरणमा पुगेको छ। तुम्बेवामा ४५ करोडमा रुपैयाँमा ठेक्का लगाएर लिफ्टमार्फत खानेपानी ल्याउने योजना निर्माणको चरणमा छ तर यसको निर्माण कार्यमा ढिलाइ भइरहेको छ।

फिदिमको लुम्फाबुङ र फाल्गुनन्दको नमिडाँडामा ३३ करोड लागत भएको लिफ्टिङ आयोजनाको ठेक्का अगाडि बढाइएको छ। एक अर्ब २४ करोड बजेटको सुभाङ बृहत् खानेपानी आयोजना अघि बढ्ने चरणमा छ। यस्तै, अमरपुरमा ५० करोडको लिफ्ट खानेपानी आयोजना अघि बढाउने तयारी भएको छ।

खानेपानीको समस्या समाधान गर्न जिल्लाका आठ स्थानमा डिपबोरिङ प्रणालीबाट जमिनमुनिको पानी निकालिएको छ। प्रदेश सरकारको सहयोगमा कुम्मायकको पाँच स्थानमा र स्थानीय तहको सहयोगमा नवमीडाँडा, पञ्चमी र नागीनमा डिपबोरिङ गरी पानी निकालिएको हो। यस्तै फिदिमको खानेपानी आयोजनालाई सुधार्न प्रदेशले पाँच करोड रूपैयाँ बजेट छुट्याएको छ। साना आयोजनाहरू स्थानीय सरकारले अघि बढाएको छ। तर पुराना आयोजनाका धारामा पानी आउन छाडेको छ। (गिरिराज बाँस्कोटाले नागरिक दैनिकमा लेख्नु भएको समाचार साभार गरिएको हो । )