सिक्किममा पवन चाम्लिङको २५ वर्षे सत्ता प्रेमसिंहले पल्टाए पछि

Special News Trending प्रवास

काठमाडौं: सिक्किममा पवन चाम्लिङको २५ वर्षे शासन सत्ता उल्टिएको छ । १७ औं विधानसभा चुनावमा पवनको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट ९एसडीएफ०ले नराम्रोसँग पराजय व्यहोरेको छ । सिक्किममा विधानसभाका ३२ सिटमध्ये प्रेमसिंह तामाङ ९पी।एस। गोले० नेतृत्वको क्रान्तिकारी मोर्चाले १७ सिटमा जित हासिल गरेको छ । चाम्लिङ नेतृत्वको डेमोक्रेटिक फ्रन्ट १५ सिटमा विजयी भएको छ । जबकी सन् २०१४ को चुनावमा चाम्लिङको पार्टीले २२ सिट जितेको थियो । सिक्किमको एकमात्र लोकसभा सिटमा पनि सिक्किम क्रान्तिकारी मोर्चा नै विजयी भएको छ । यससँगै सिक्किम क्रान्तिकारी मोर्चाले राज्य विधानसभा र लोकसभा दुवैमा आफ्नो पकड जमाएको छ ।
को हुन् प्रेमसिंह ?
अब गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले नयाँ सरकार बनाउने छ । गोले विगतमा पवन चाम्लिङकै पार्टीमा थिए । तर, उनले त्यहाँबाट अलग भएर नयाँ पार्टी ‘सिक्किम क्रान्तिकारी मोर्चा’ ९एसकेएम० गठन गरेका थिए । सन् १९९० मा प्रेमसिंहले ग्राजुएट शिक्षकको रुपमा सरकारी जागिर खाए । तर तीन वर्षमै शिक्षक पदबाट राजीनामा दिए । त्यसपछि उनी सामाजिक र राजनीतिमा अझ सक्रिय भएर लागेका थिए । भ्रष्टाचारको मुद्दामा केही महिना जेल सजायँसमेत भोगेका गोले आफू चुनावमा प्रतिष्पर्धा नगरे पनि उनको पार्टीले विधानसभाका ३२ वटै सिटमा उम्मेद्वार खडा गरेको थियो । सिक्किमको प्रमुख प्रतिपक्षी सिक्किम क्रान्तिकारी मोर्चाले भ्रष्टाचार नियन्त्रण गर्ने र बेरोजगारलाई रोजगारी दिने मुख्य एजेन्डा लिएर चुनाव लडेको थियो ।
प्रेमसिंहको राजनीतिक यात्रा
गोले पवन चाम्लिङको पार्टी एसडीएफमा रहँदा पश्चिमी सिक्किमको चुखुंग निर्वाचन क्षेत्रबाट सन् १९९४ मा विधानसभा सदस्यमा निर्वाचित भएका थिए । एसडीएफमा रहँदा उनले राज्य युवा संयोजक र उपाध्यक्षको रुपमा काम गरेका थिए । त्यसपछि उनले लगातार तीन पटकसम्म सिक्किम सरकारमा मन्त्रीस्तरीय भूमिकामा रहेर काम गरे । १९९४ देखि १९९९ सम्म र १९९९ देखि सन् २००४ सम्म पशुपालन तथा उद्योगमन्त्रीको रुपमा उनले काम गरेका थिए । त्यसपछि सन् २००४ देखि सन् २००९ सम्म भवन तथा आवास विभाग मन्त्रीको रुपमा काम गरे । सन् २००९ मा बर्टुक संविधानसभा चुनाव जितेपछि उनी उद्योग विभागको अध्यक्षको रुपमा नियुक्त भए ।
तर, उनले सन् २०१३ को सेप्टेम्बरमा चाम्लिङ नेतृत्वको एसडीएफ पार्टीका सबै जिम्मेवारी त्यागेको घोषणा गरे । त्यसपछि उनले सिक्किम क्रान्तिकारी मोर्चा ९एसकेएम० नामको नयाँ पार्टी खोले । सन् २०१४ को विधानसभा चुनावमा उनको पार्टीले १० सिट जित्यो । उनी आफैं बर्टुक निर्वाचन क्षेत्रबाटै सांसद निर्वाचित भएका थिए । उनको पार्टीले सिक्किममा कूल भोटको ४२ प्रतिशत भोट पायो ।
उनलाई सन् २०१६ मा भ्रष्टाचारको मुद्दा लाग्यो । सन् १९९४ देखि १९९९ को बीचमा एसडीएफ पार्टीमा रहँदा उनीमाथि सरकारी सम्पत्ती दुरुपयोग गरेको अभियोग थियो । सन् २०१७ मा उनी अदालतबाट दोषि ठहरिए । त्यसपछि सिक्किम विधानसभा सदस्यका लागि उनलाई अयोग्य घोषित गरियो । उनी जेलबाट रिहा भएपछि १० अगष्ट सन् २०१८ मा सिक्किममा भव्य जनसभा आयोजना भयो । जसलाई सिक्किममा सबैभन्दा धेरै मानिस जम्मा भएको राजनीतिक कार्यक्रम मानिन्छ ।
सधैं क्षेत्रीय दलको दबदबा
पवन कुमार चाम्लिङ सिक्किम डेमोक्रेटिक फ्रन्टको संस्थापक अध्यक्ष हुन् । उनी सन् १९९४ देखि लगातार २५ वर्ष सिक्किमको मुख्यमन्त्री बनेका छन् । पहिला छुट्टै देश सिक्किम भारतमा विलय भएपछि सबैभन्दा लामो समय राज्यमा शासन गर्ने पवनकुमार चामलिङ नै हुन् । उनी सिक्किमको तेस्रो मुख्यमन्त्री हुन् । उनीअघि काजी लेन्डुप दोर्जी र नरबहादुर भण्डारी सिक्किमका मुख्यमन्त्री थिए । भण्डारीको शासनकालमा चामलिङ भण्डारीका विश्वासपात्र थिए । तर, पछि चामलिङले पार्टी फुटाएर सिक्किम डेमोक्रेटिक फ्रन्ट नामको पार्टी स्थापना गरेका हुन् ।
सिक्किममा सुरुदेखि नै क्षेत्रीय दलको दबदवा छ । चाखलाग्दो कुरा के छ भने सन् १९७९ देखि अझैसम्म सिक्किमको सत्तामा राष्ट्रिय दल भाजपा पुग्न पाएको छैन । सन् १९८४ मा कांग्रेस केबल १३ दिन सत्तामा थियो । त्यसपछि कांग्रेस फेरि सत्तामा फर्किन सकेन । भाजपा सिक्किम संग्राम परिषदसँग मिलेर चुनाव लड्दै आएको छ ।
यसकारण महत्वपूर्ण छ सिक्किम
भारतको पूर्वोत्तर राज्य हो सिक्किम । यहाँ लोकसभामा एक मात्र सिट छ । यो सिट किन महत्वपूर्ण छ भने यसले पूरै राज्यको प्रतिनिधित्व गर्दछ । यहाँ राज्यसभाका लागि पनि एक सिट छ । विधानसभा भने ३२ सिट छ । यहाँ भाजपा, कांग्रेस, तृणमुल कांग्रेस जस्ता राष्ट्रिय दल पनि छन् । तर, सधैं क्षेत्रीय दलकै बोलवाला छ । सिक्किममा कुल मतदाता ३ लाख ७० हजार ७३१ छ । जसमा १ लाख ७९ हजार ६५० महिला छन् । जनसंख्याको घनत्व ७६ व्यक्ति प्रति वर्ग किलोमिटर छ जुन भारतमा निकै कम हो ।
सिक्किम पर्वतीय क्षेत्र हो । यो राज्य पश्चिममा नेपाल, उत्तर तथा दक्षिणमा चीनको तिब्बत तथा दक्षिण पूर्वमा भुटानसँग जोडिएको छ । भारतको पश्चिम बंगाल सिक्मिकको दक्षिण पर्दछ । यहाँ अंग्रेजी, गोर्खा खस भाषा, लेप्चा, भुटिया, लिम्बु र हिन्दी आधाकारिक भाषा छन् । हिन्दु तथा बज्रयान बौद्ध सिक्किमका प्रमुख धर्म हुन् । सिक्किम प्रदेशको राजधानी गान्तोक हो । यो यहाँको सबैभन्दा ठूलो शहर पनि हो । सिक्किम पहिले नामग्याल राजतन्त्रको एक स्वतन्त्र राज्य थियो, तर जनमत संग्रह गरेर सन् १९७५ मा भारतमा विलय गराइयो । पूर्व सिक्किम, पश्चिम सिक्किम, उत्तर सिक्किम र दक्षिण सिक्किम गरी यहाँ चारवटा जिल्ला छन् ।
सिक्किम भौगोलिक दृष्टिले धेरै विविधतापूर्ण छ । प्राकृतिक सुन्दरताले पनि धनी छ । त्यसैले यो पर्यटनको प्रमुख केन्द्र बनेको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा सिक्मिको उत्तरपश्चिम भागमा नेपालको सीमासँग जोडिएको छ । चीनको सीमासँग जोडिएका कारण यहाँ भारतीय सेनाको बाहुल्य छ । धेरै क्षेत्रमा प्रवेश निषेध छ । घुम्न जाँदा कतिपय ठाउँमा अनुमति लिनुपर्ने हुन्छ । अनलाइन खबरबाट

Leave a Reply

Your email address will not be published.