गर्मीका कारण पूर्वको जनजीवन प्रभावित , विराटनगरमा वैशाख यताकै बढी गर्मी

Special News Trending ज्ञानविज्ञान समाज

मोरङ : मोरङ र गर्मीले विराटनगर लगायत पूर्वी तराईका जिल्लाको जनजीवन नराम्ररी प्रभावित बनेको छ । केही दिनदेखि बढेको गर्मीका कारण सर्वसाधारणको जनजीवन निक्कै कष्टकर बनेको हो । विराटनगरमा बिहीबार वैशाख यताकै सबै भन्दा बढी गर्मी महसुस गरिएको छ । दैनिक मजदुरी गरेर जीवन यापन गर्नेहरुलाई कठिन भएको छ । रिक्सा मजदुर, निर्माण मजदुर, सडक मजदुरदेखि दैनिक श्रम गरेर छाक टार्नु पर्ने अवस्था भएकाहरु गर्मीका कारण बढी प्रभावित बनेका छन् । दिउँसो समय प्रतिकूल हुन थालेपछि सडकमा साइकल, मोटरसाइकल समेतका साना सवारीका साधन पातलिन थालेका छन् । सरकारी कार्यालय, कृषि उद्यम, बजार, पसल एवं सार्वजनिक क्षेत्रहरुमा दिउँसो चहलपहल कम हुन थालेको छ ।

हावा पानी फिल्ड कार्यालय विराटनगरका अनुसार बिहीबार वैशाख यताकै सबै भन्दा बढी तापक्रम विराटनगरमा मापन गरिएको छ । अधिकतम ३७।३ र न्यूनतम २६।२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको कार्यालयका प्रमुख विकास देउजाले बताए । कोसी अस्पताल विराटनगरका निमित्त मेडिकल सुपरिटेन्डेन डा। लक्ष्मीनारायण यादवले गर्मीको सबै भन्दा बढी असर बालबालिका र वृद्धवृद्धामा पर्ने जानकारी दिए । उनले उपचारका लागि स्वास्थ्य संस्थामा पुग्ने बिरामीको संख्या पनि बढेको बताए ।

जलवायु परिवर्तनले हरेक वर्ष पृथ्वीको तापक्रम बढाउँदै लैजानुले गर्मी दिन प्रतिदिन बढ्दै गएको वातावरण क्षेत्रका जानकार एवं त्रिभुवन विश्व विद्यालयका वातावरण विज्ञानका उप–प्राध्यापक रामचन्द्र अधिकारीले बताए । नेपालको तापक्रम वृद्धिदर ० दशमलव ०६ डिग्री सेल्सियस रहेको बताउँदै उनले पूर्व अनुमान गर्न नसक्ने किसिमका परिवर्तनहरु आउने भएकाले यस्तो गर्मी कहिलेसम्म रहन्छ भनेर भन्न नसकिने जानकारी दिए ।पूर्वेली न्यूजबाट

Leave a Reply

Your email address will not be published.