नेपाल प्रवेश गर्दै मनसुन, इलाम, झापासहित पूर्वी नेपालमा वर्षा

नेपाल प्रवेश गर्दै मनसुन, इलाम, झापासहित पूर्वी नेपालमा वर्षा

इलामः बिस्तारै पूर्वी नेपालबाट मनसुन शुरु भएको छ । आज बिहानबाट पूर्वी जिल्ला हुँदै मनसुन नेपाल प्रवेश गरेको हो । गत २४ घण्टामा ताप्लेजुङमा सबैभन्दा बढी १४ दशमलब ६ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिभागका अनुसार इलाम , झापा ,ओखलढुंगा, धनकुटा, विराटनगर लगायतका क्षेत्रमा पनि वर्षा भएको छ ।


मौसमविद्हरूका अनुसार पूर्वी नेपालबाट मनसुनी वर्षा शुरु भइसकेको छ । गत वर्षको तुलनामा १० दिन ढिलो गरी मनसुन शुरु भएको हो । गत वर्ष ८ जुनमै मनसुन शुरु भएको थियो ।मनसुन देशभरी फैलिन केहि दिन लाग्न सक्ने मौसमविदले जनाएका छन् ।

सामान्तया पूर्वी नेपालमा १० जुन र काठमाडौंमा १२ जुनमा मनसुन शुरु हुन्छ ।विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार पूर्व र मध्य नेपालका केही स्थान तथा पश्चिम क्षेत्रका थोरै स्थानमा हल्का वर्षासहित मेघगर्जन हुने पूर्वानुमान गरेको छ ।यस्तै बिहीबार राति देशको पूर्वी तथा मध्य क्षेत्र र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।