बाढी पहिरोबाट प्रदेश १ मा १५ सहित देशभर ३२ जनाको मृत्यु

Special News Trending समाज


विराटनगर : अविरल वर्षापछिको बाढी पहिरोमा परी प्रदेश १ का विभिन्न जिल्लामा १५ जनाको ज्यान गएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार शनिबारसम्म वर्षाकै कारण उत्पन्न घटनामा परी विभिन्न व्यक्तिको ज्यान गएको हो ।

ओखलढुंगा मोलुङ गाउँपालिका ७ पात्ले बस्ने ४० वर्षीया खपुटी शेर्पा र निजको छोरी १२ वर्षीया याङजि शेर्पाको पहिरोले पुरिएर मृत्यु भएको छ । शनिबार बिहान ११ बजे घर माथिबाट पहिरो खसि पुरिएर बेपत्ता भएका दुबै जनाको खोजतलासका क्रममा अपरान्ह २ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

यसैगरी भोजपुर रामप्रसाद राई गाँउपालिका ५ बस्ने ३५ बर्षिया मनकुमारी राईको पुरिएर मृत्यु भएको छ । बिहान आफ्नै भान्सा घरले किच्दा पुरिएर बेपत्ता भएकी राईको खोजतलास गर्ने क्रममा ४ बजे शव फेला परेको थियो । यस्तै झापा शिवसताक्षी नगरपालिका ५ सालमारामा रहेको बनियानी खोलाले बगाउदा ९ वर्षीय सौगात चापागाईको मृत्यु भएको छ । अपरान्ह सबा २ बजेतिर सौगात आफ्नै फुपुको छोरी समीक्षा पौडेलसंग खोला छेउमा खेल्ने क्रममा चिप्लिएर खोलामा लड्दा बगेका थिए । भोजपुर रामप्रसाद राई गाँउपालिका ५ बस्ने १५ वर्षीय शक्तिकुमार राईको पुरिएर मृत्यु भएको हो । भान्साघरको माथिबाट पहिरो झरी पुरिएर बेपत्ता भएका राईको खोजतलास गर्ने क्रममा साँझ ५ बजे शव फेला परेको हो ।

हालसम्म यस प्रदेश १ मा मृत्यु हुनेको संख्या खोटाङमा ३ जना, झापामा २, ओलढुंगामा ३, भोजपुरमा ५, ईलाममा १ र सुनसरीमा १ जना गरी जम्मा १५ पुगेको छ ।

यता, मोरङमा कटहरी गाउँपालिका वडा नम्बर ४ वस्ने वर्ष ५० को सोभा सोरेन र जहदा गाउँपालिका ५ बस्ने वर्ष १६ को आदर्श पोदार खोलाले बगाएर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रदेश राजधानी विराटनगरका वडा नं ८ को सुकुम्बासी बस्ती,वडा १२ को बखरी, मुसहर र ऋषिदेव वस्ती, वडा१५ को पारिजात र मुसहर टोल, वडा नम्बर ६ को ब्रम्हपुरा र रामपुर, वडा १२ को सिमरिया र बखरी, कटहरी गाउंपालिका वडा नं २ को कदमगाछी, वडा ४ को नयांवजार र सुकुम्वासी बस्ती, रतुवामाई नपा वडा नं १० को मंगलवारे र पथरी शनिश्चरे नपा वडा नं ४ मा रहेका बस्तीहरु बढीबाट अधिक प्रभावित बनेको प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजकुमार खिउजुले जानकारी दिएका छन् । उनले भने,‘‘डुबान प्रभावितलाई स्थानीय निकाय, सुरक्षाकर्मी तथा अन्य विभिन्न संध संस्थाका प्रतिनिधिसमेत लागेर उद्धार गर्ने कामलाई गति दिइएको छ ।’’

पीडितको उद्धारमा खटिए विराटनगरका मेयर

विराटनगरमा बाढीबाट पीडित बनेकाहरुको उद्धारमा महानगरका प्रमुख भीम पराजुली आफै खटिएका छन् । विराटनगरका वडा नं। १, ६, ७, ८, ११, १२, १५, १६, १८ र १९का बासिन्दा डुबानबाट प्रभावित भएका छन् ।

पीडितहरुलाई विराटनगरका विभिन्न विद्यालय तथा सुरक्षित स्थानमा राखिएको छ । विराटनगर स्थित वडा नं।१ को विजयपुर टोल नयाँ बस्ती,पाथिभरा मन्दिरको धर्मशाला र शान्तिचोकमा सेल्टर बनाएर बाढीपिडितहरुलाई राखिएको वडाध्यक्ष उद्धव अर्यालले जानकारी दिए । वडा नंं २ को हनुमान मन्दिर छेउ र धनाबत चोकका स्थानीयहरु प्रभावित भए पनि घरमै बसेको वडाध्यक्ष कुमार पोखरेलले बताए । वडा नं ४ को इक्राइ ,पुलचोक,अमाइ,जामुनगाच्छी,विमटोल,वस्ता लगायतका क्षेत्र डुबानमा परेको वडाध्यक्ष देवेन्द्रराज पोखरेलले जानकारी दिनुभयो । वडा नं। ७ मा पानिको सतह घटेपछि शनिवार आफ्नै घरमा बाढीप्रभावित परिवारहरु फर्केको वडाध्यक्ष मधुवावु तिवारीले बताए । वडा नं। १२ को बखरी निम्न माध्यमिक आधारभूत विद्यालयमा बाढीप्रभावित परिवारहरुलाई राखिएको वडाध्यक्ष हिरालाल कामतले बताए । वडा नं १६ को मिल्स मावि र हुलास मेटलमा बाढीप्रभावितहरुलाई राखिएको वडाध्यक्ष मनोज सुव्बाले बताए ।

वडा नं १९ का विभिन्न स्थानमा बाढीप्रभावित रहेको र उनीहरुलाई शुरक्षित स्थानमा बस्न आग्रह गरिएको वडाध्यक्ष बद्रिनारायण सरदारले जानकारी दिए । सेल्टर र विद्यालयमा राखिएका बाढीप्रभावितहरुलाई विराटनगर महानगरले खानपिनको ब्यवस्था मिलाएको प्रमुख भीम पराजुलीले बताए । भने,‘‘म आफैं पनि उद्धारमा खटिएको छु । पीडितलाई आश्रय दिलाउने र खानपानको व्यवस्था मिलाएका छौं ।’’ सबै वडाहरुमा मेयर पराजुलीसहित उपमेयर इन्दिरा कार्की,प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी सहितको टोली पुगेर बस्तुगत अवस्था बुझ्ने काम गर्नका साथै आवश्यक प्रबन्ध गर्ने काममा जुटेको महानगरले जनाएको छ ।

देशभर ३२ जनाको मृत्यु, १७ जना बेपत्ता

अविरल वर्षापछि आएको बाढी र पहिराका कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । सत्र जना बेपत्ता भएका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार हालसम्म विभिन्न ठाउँबाट ८३१ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी १२ जना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा पाँच तथा काठमाडौँ, खोटाङ, काभ्रेपलाञ्चोक, भोजपुर र मकवानपुरमा तीन÷तीन जनाको मृत्यु भएको छ ।

यस्तै धादिङ र सिन्धुलीमा दुई÷दुई तथा ओखलढुङ्गा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा एक÷एक जनाले ज्यान गुमाएको थापाले जानकारी दिनुभयो । महोत्तरीमा ५००, रौतहटमा २००, सिन्धुलीमा ७०, काठमाडौँमा ४२, उदयपुरमा १०, ललितपुरमा तीन, सिरहामा दुई तथा खोटाङ, भक्तपुर, सुनसरी र मकवानपुरमा एक÷एक जनाको उद्धार गरिएको छ ।

मकवानपुरमा चार, काभ्रेमा दुई तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एक÷एक जना घाइते भएका छन् । सिन्धुलीमा चार, भोजपुरमा दुई तथा काठमाडौँ, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, मकवानपुर र ललितपुरमा एक÷एक जना बेपत्ता भएको थापाले बताउनुभयो । बाढी र पहिरोबाट प्रभावित ठाउँमा सुरक्षा निकाय परिचालन गरी उद्धार तथा बेपत्ताको खोजी कार्य तीव्र पारिएको छ । विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य जारी रहेको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले उद्धार र राहत वितरणलाई प्रभावकारी बनाएको जनाएको छ ।बाह््खरी र पूर्वेली अनलाईनबाट

Leave a Reply

Your email address will not be published.