सरकारी श्रेस्तामै छैन मेची राजमार्ग

Special News Trending समाज

नमीन ढकाल, इलाम:

मेची राजमार्ग निर्माण सम्पन्न भएर सवारी साधन चल्न थालेको ३ दशक वित्यो । तर अझै पनि राजमार्ग आसपासमा बसोबास गर्ने स्थानिय सडकको मालपोत तिर्न वाध्य छन । निर्माण सम्पन्न भएको वर्षो बितिसक्दा पनि सरकारले राजमार्गको सडक क्षेत्रको लगतकट्टा गरेको छैन । झापाको केचनाकवलदेखि ताप्लेजुङ फक्तालुङ गाउँपालिकाको घारिल्लासम्म २२८ किलोमिटर क्षेत्र मेची राजमार्ग रहेको छ । सरकारको निर्णयअनुसार केचनादेखि घारिल्लासम्म ट्रयाक खोल्ने काम धमाधम भइरहेको छ । नयाँ निर्माणाधिन सडकको कुनै पनि भाग लगतकट्टा भएको छैन ।

राजमार्गको आसपासमा ठुला ठुला बजार रहेपनि अझै उनीहरुको लगतकट्टा हुन नसक्दा तिरो तिर्नुपरेको सुर्योदय नगरपालिकाका प्रभाकर प्रधान बताउँछन । सडक ऐन २०३१ अनुसार सडकको बीच भागबाट दायाँबायाँ १५–१५ मिटर छोडनुपर्ने हून्छ । त्यस बाहेक सेड व्याक दुवै तर्फ ६÷६ मिटर गरी सडक बिचमा २१ मिटर क्षेत्र छोडनुपर्ने ऐनमा उल्लेख गरिएको छ । सरकारले आफ्नो क्षेत्र नछुट्याउँदा जग्गा दिनेहरू राजस्व बुझाउन बाध्य छन । २०४४ सालमै झापाको चारआलीदेखि ताप्लेजुङ सदरमुकाम फुङलिङसम्म सडक पुगेको थियो ।

दैनिक सयौं गाडी चल्ने मेची राजमार्ग अहिलेसम्म सरकारको नक्सामा छैन । नापी कार्यालयले राजमार्गको क्षेत्रफल कित्ताकाट नगर्दा न सडक छेउमा संरचना बनाउने काम रोकिएको छ, नत जग्गाधनीले मुआब्जा नै पाएका छन । ‘४४ सालमा आएको सडकले अहिलेसम्म सडकको क्षेत्र कति हो जानकारी गराएको छैन । नत मुआब्जा नै दिएको छ ।’ प्रधान गुनासो गर्छन ‘ मेरो होटल छेउमा नक्सामा करिव ५ मिटर सडक देखिन्छ त्यहाँ देखी ट्राफिकबिट छेउसम्म सडकको संरचना नै देखिदैन् ।’

सरकारी संयन्त्रको समन्वय अभाव
राजमार्गको क्षेत्राधिकार कायम गराउन जिम्मेबार प्रमुख ३ सरकारी संयन्त्रको समन्वय अभाव देखिन्छ । सडक ऐनले राजमार्गको संरक्षण र क्षेत्राधिकार कायम गराउने जिम्मा डिभिजन सडक कार्यालयलाइ दिएको छ । सडक एक्लैले क्षेत्राधिकार कायम गराउन सक्दैन जस्का लागी नापी र मालपोत कार्यालयसंग समन्वय हुनु आवश्यक देखिन्छ । नापी कार्यालयको काम कित्ता काट गर्नुपर्ने, मालपोतले धनी पुर्जा र त्यसका लागी डिभिजन सडक कार्यालयले समन्वय गर्नुपर्ने भएपनि एक अर्कोको कारण देखाउँदै तिन दशकसम्म जनता राजस्वको मारमा परिरहेका छन ।

२०७२ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सडक डिभिजन कार्यालय इलाम र जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेपनि थप समन्वय नगरेको नापी कार्यालयको दाबी छ । नापी कार्यालय इलाका प्रमुख सुमन विक्रम पन्त सडक र मालपोतको प्रक्रिया पुरा नभई कार्यालयले कदम चाल्न नसक्ने बताउँछन् । ‘ मेची राजमार्गको क्षेत्राधिकार कायम गराउनका लागी समन्वय गरिदिन पत्र अहिलेसम्म डिभिजन सडकले कार्यालयमा पठाएको छैन ।’ उनले भने ‘ अंशवन्डा गर्दा राजमार्गसंग जोडिएको जग्गा वडा कार्यालय वा स्थानिय तहको सिफारिस सहित आए लगत कट्टा गरिदिने गरेका छौ ।’

२ बर्षअघि इलामस्थित सडक डिभिजन कार्यालयले मेची राजमार्गअन्तर्गत विभिन्न खण्डको लगतकट्टा गरी धनीपुर्जा निकाल्न मालपोत कार्यालयमा पेस गरेको थियो । तर सडकको नाममा धनीपुर्जा जारी गर्न नमिल्ने जानकारी आएको डिभिजन सडक कार्यालय इलामका प्रमुख कृष्णनाथ ओझाले बताए । ‘ लगत कट्टा गर्दै सडकको क्षेत्राधिकार कायम गराउन मालपोतलाई डिभिजन सडकको नाममा लालपुर्जा बनाइदिन सिफारिस पठाएको थियौ ।’ उनले भने ‘ तर सरकारी संरचनाको लालपुर्जा सडकको नाममा मालपोतले दिन नमान्दा ढिलाई भइरहेको छ ।’ मालपोतकै कारण क्षेत्राधिकार कायममा अवरोध देखिएको उनको आरोप छ । ‘ मालपोतमा राख्दा सरकारी डिभिजन सडकको नाममा लालपुर्जा दिन किन नमिल्ने रु’ उनले भने । २ महिनाको अवधीमा लगतकट्टा गराउनका लागी आएको निवेदन मालपोतमा पठाइएको उनले जानकारी दिए । स्थानिय तहमा नापी र मालपोत जाने सरकारीको निर्णयले राजमार्गको जग्गा पास गर्ने काम अधुरो बनेको छ ।
क्षेत्राधिकार कायम गराउने स्थानिय सरकार अघि सर्दै
राजमार्ग क्षेत्राधिकार कायम गराउने इलामको सुर्योदय नगरपालिकाले काम थालनी गरेको छ । उस्ले स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४५ बमोजिम सडकको क्षेत्राधिकार खाली गराउन हर्कटे बजार, कन्याम, फिक्कल, तिनघरे लगायतका बजार क्षेत्रमा काम बढाएको बताउँदै आएको छ । तर नगरले सडक ऐन २०३१ ले निर्धारण गरे अनुसार काम गर्न सकेको छैन । नगरले सडक दायाँबायाँ साढे ७ मिटर मात्र भत्काएको छ ।

सडक क्षेत्राधिकार कायम गराउनका लागी नगरले २०७४ मंसिरमा वडा नं ६ का अध्यक्ष शिवकुमार बस्नेतको नेतृत्वमा मेची राजमार्ग क्षेत्राधिकार कायम गराउने समिती बनाएको थियो । समितीले कन्याम देखी पाल्टांगे क्षेत्रसम्म करिव ४० लाख रुपैया खर्च गरेर पश्चिमको भाग भत्काएपनि व्यवस्थित रुपमा बाटो निर्माण गर्न सकेको छैन । बजार क्षेत्रमा भत्काएको साढे ७ मिटर क्षेत्र मर्मतका लागी केही दिनभित्रबाटै काम सुरु हुने वडा नं १० का अध्यक्ष पेमा उगेन लामाले बताए ।
राजस्वको मारमा घुम्ती सडकका स्थानिय
राजस्वको सबैभन्दा ठूलो मार घुम्ती भएको सडकका स्थानियलाई परेको छ भने गाउँबाट आएर सडक छेउमा घडेरी किन्न खोज्नेहरू ठगिने जोखिम बढेको छ । सडक क्षेत्र नछुट्याइँदा राजमार्गसँग जोडेर घरटहरा निर्माणको क्रम पनि रोकिएको छैन । इलामको राँके, रक्से, बाघखोर, नेपालटार, पुवाखोला, बिब्ल्याटे, चुरघाँटी, गोलाखर्क, तीनघरे, फिक्कल, हर्कटे, कुटिडाँडा र झापा बुधबारेमा पनि सडकसँगै जोडिएर घर बनेका छन । सडकसँगै जोडिएर घर बन्दा सडक दुर्घटनाको जोखिम बढी हुने देखिएको छ । गत बर्ष तिनघरे क्षेत्रमा ट्रक पल्टिएको राजमार्ग क्षेत्रमा जोडिएको एउटा घर पुर्ण रुपमा क्षति पु¥याएको थियो ।

राजमार्गमा बजार विस्तार तिव्र
राजमार्ग आसपासमा पछिल्लो समय बजार विस्तार हुने क्रम बढेको छ । राजमार्गको मध्यभागबाट दुवैतर्फ १५ मिटर राजमार्गकै स्वामित्वमा रहने भए पनि धनीपुर्जा नहुँदा समस्या छ । १५ मिटरबाहेक सम्बन्धित जग्गाधनीले अरू ६ मिटर छाड्नुपर्छ । एकातिर राजमार्गले लगतकट्टा गरी धनीपुर्जा लिन नसक्नु र सम्बन्धित जग्गावालाले राजमार्गसँगै जोडेर घर बनाउँदा समस्या थपिँदो छ । राजमार्ग पर्ने बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनको समस्या चुलिँदो छ । अधिकांश स्थानमा सवारी ओहोरदोहोर गर्न समस्या भएर जाम हुने गरेको छ । लोकल शन्देशबाट

Leave a Reply

Your email address will not be published.