लोप हुँदै तमोरका माछा

लोप हुँदै तमोरका माछा


पाँचथर :
कुनै बेला तेह्रथुम र पाँचथरको सीमा माझीटार, नक्कलेघाट, पिनासी, लुमुघाट, सिम्राघाट लगायत तमोर नदीमा बग्र्रेल्ती माछा पाइन्थे । स्वादिला माछा खान लागि पूर्वी तराईदेखि पारखीहरू भेला हुन्थे ।

अचेल अवस्था फेरिएको छ । नदीमा पानी घट्दै गएको छ । माछा पाउन मुस्किल हुन थालेको छ । तमोर नदीमा पाइने माछा निकै स्वादिलो मानिन्छ । अचेल पर्याप्त पाइन छाडेपछि नदी किनारमा बसोबास गर्ने माझी समुदायको पेसा पनि समस्यामा छ ।
माछा मारेर जीविकोपार्जन गर्दै आएका तेह्रथुम, पाँचथर र धनकुटाकाका माझी समुदाय परम्परागत पेसाबाट नै विस्थापित भएका छन् । तमोर किनारका यी बस्तीमा करिब १ सय ५० भन्दा बढी माझी परिवारको बसोबास छ । ताप्लेजुङको उत्तरी क्षेत्रमा ०७२ जेठमा खसेको पहिरोपछि नदी थुनिएर तमोर नदीमा आएको बाढीले माछा बगाएपछि तमोर नदीमा माछाको संख्या घट्दै गएको कुम्मायक गाउँपालिका १ भुल्केका ५० बर्षिय हर्कबहादुर माझीले बताए । नदीमा पानीको सतह घटेको समयमा समेत माछा नभेटीएको उनको भनाइ छ ।
नदीमा माछा नभेटीएपछि माछा मारेर जीविकोपार्जन गर्दै आएका धेरै माझी परीवारको विचल्ली भएको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । निरन्तरको बर्षाका कारण नदीमा आईरहेको बाढीले माछाका धेरै प्रजातीका भुरा समेत बगाएको छ ।
बाढीले माछाका भुरा बगाएपछि खोला र नदीमा माछा पाउन छाडेको आठराई गाउँपालिका छातेढुंगा माझी गाउँका शिवनारायण माझीले बताए । बाढी आएयता नदीमा माछाको संख्या घटेको र भएका माछासमेत बाहीरबाट आउनेहरूले करेन्ट लगाएर मार्ने गरेकाले नदीमा रहेका असला, कत्ले, बुदुना, काभ्रे, बाम, तिते लगायत जातका माछाका प्रजातिसमेत मासिएको स्थानीयको भनाइ छ ।
नदी किनारमा पानीमै विषादी र करेन्ट लगाएर माछा मार्न थालिए पछि खोलामा माछाको संख्या पातलिँदै गएको पाँचथर स्याबरुम्बा लुमुघाटकी दिलकुमारी माझीले बताईन् ।
जाल हान्ने र पासो थापेर माछा मार्ने परम्परागत मौलिक तरिका हो । तर, पछिल्लो समय करेन्ट लगाएर माछा मार्ने क्रम बढेको छ । नदी र खोलाभित्रै विस्फोट गरेर समेत माछा मार्ने गरिन्छ । यसले गर्दा प्रशस्त माछा पाउन छाडेको माझीहरू बताउँछन् । विभिन्न ठाउँबाट ब्याट्री बोकेर ल्याएर करेन्ट लगाएर समेत माछा मार्ने गरिीएको छ । स्थानीय प्रशासनले यसलाई नियन्त्रण गर्न सकेको छैन । कान्तिपुर दैनिकबाट