पाँचथरमा १६५ वटा झोलुङ्गे पुल

Special News Trending समाज


पाँचथर: पाँचथरका विभिन्न खोलानालामा १६५ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । बिभिन्न दातृ निकायहरुको सहयोगमा झोलुङ्गे पुल निर्माण भएका छन् । बनेपछि धेरै स्थानीयवासीले जंगार तर्नु पर्ने बाध्यता हट्दै गएको छ । यससंगै खोलाले बगाएर घाइते हुने र ज्यान गुमाउनेको संख्यामा पनि धेरै नै न्यूनिकरण भएको छ ।
मिक्लाजुङ गाउँपालिका –६ कुरुम्बाका गंगामाया थाम्सुहाङले आफ्नो क्षेत्रमा बनेको पुलले जंगार तराउन छोडेको सुनाइन् । उनलेले पुल बनेपछि आफूहरुको क्षेत्रमा विद्यार्थीलाई खोलाउने बगाउने पिरलो हटेको पनि बताइन् ।
गंगामायाले पुल नहुदा जंगार तरेर विद्यालय जाने कुरुम्बाका चार जना बालबालिका खोलाले बगाएको पिडा सुनाईन् । उनी महिलाको अगुवाईमा गत वर्ष बनाइएको कुरुम्बा झोलुङ्गे पुल उपभोक्ता समिति सचिवसमेत हुनुहुन्छ ।
यहाँका बासिन्दालाई पुल नहुदाकै अवस्थामा लामो समय लागाएर घुमाउरो बाटोबाट हिडेर गन्तव्यमा पुग्नु पर्ने बाध्यता पनि हटेको छ । यसबाट आफूहरुलाई धेरै लाभ भएको याङ्वरक गा।पा–१ च्याङ्थापुका गाउँबारी झोलुङ्गे पुल उपभोक्ता समिति अध्यक्ष गोपाल अधिकारीले सुनाए ।
अध्यक्ष अधिकारीले पुल नहुदा घुमेर वारीपारी गर्न ८ लाग्टा लाग्ने गरेकोमा पुल बनेपछि आधा घण्टा मात्र लाग्ने गरेको बताए । यहाँको मेवा खोलामा पुल नहुदा हिउदयाममा गाउँवारीबासीले जोखिम मोलेरै जङार नै तर्नु पर्ने बाध्यता थियो । च्याङ्थापु र कुरम्बाका नागरिकले जस्तै पाँचथरका अन्य धेरै क्षेत्रकाले झोलुङ्गे पुल बनेपछि जंगार तर्नु पर्ने बाध्यता हटेको छ ।

२०५५ सालयता पाँचथरमा १६५ वटा पुल निर्माण गरिएको हो । पुल तत्कालिन जिविसको आर्थिक सहयोग र सिरिजंगा ग्रामिण विकास केन्द्रको प्राबिधिक तथा समाजिक सहयोगमा पुल हरु निर्माण भएका थिए । कादुरी भन्ने संस्थाले पनि पुल निर्माण गर्ने गरेका थिए । सिरिजङ्गा मार्फत मात्रै १२६ वटा पुल निर्माण गरीसकेको संस्थाका सव इन्जिनियर राम आङ्देम्बेले बताए ।
उनका अनुसार प्राविधिक तथा सामाजिक सहयोग गर्दै सिरिजङ्गाले थप १३ वटा झोपु बनाउने तयारी गरिरहेको छ । पाँचथरका ईवा, मेवा, हेवा, फेमे, निबु, पञ्चमे, पएवा लगायतका खोलामा झोपु बनाइएका र बनाउने क्रम रहेको हो । छिमेकी जिल्ला ताप्लेजुङ र तेह्रथुम विच जोड्ने १३ झोपुसमेत पाँचथरका उपभोक्ताको मागमा बनाइएका छन् । तेह्रथुमसंग जोडिइने तमोरमाथि ५ र ताप्लेजुङसंग जोडिइने इवा, काबेली माथी ८ पुल बनाइएका हुन् ।
यस क्षेत्रमा सुरुवातमा आलमुलिनयको लठ्ठा, तारजाली र काठको डेग लागाएर झोलुङ्गे पुल बनाइने गरेकोमा हिजोआज डेग फलामको लगाइन्छ । ६० वर्षसम्म थाम्ने पुल २४ देखि १२० मीटर लम्बाइका बनाइएका छन् । नजिक भएपनि खोलाका कारण टाढाको दुरी बनेर रहेका अल्लो र पल्लो गाउँ विचको सामिप्यता पुलले बढाइदिएको छ ।
खोलावारी र पारीवासी विचमा एकताको सुत्रमा बाधिन पुल सुविधाले भूमिका खेलीरहेको फाल्गुनन्द गापा आङ्सराङका अष्टमान योन्जनले बताए । माक्सिवा दोभान झोपु उभोस अध्यक्ष अष्टमानले झोलु्ङ्गे पुलले गाउँको विकास गर्न पनि सघाएको सुनाए । कृषि र पर्यटनको प्रबद्र्धन पनि सहयोग पुगेको छ ।
६० हजारदेखि ६० लाख रुपियाँसम्मको लागतमा पुलहरु बनाइएका छन् । निर्माण भएका तथा भइरहेका पुलमा स्थानीय निकायको ६, स्थानीय पूर्वाधार विकास तथा सडक विभागको ९२ प्रतिशत आर्थिक तथा २ प्रतिशत जनश्रमदान रहको छ ।
हालसम्म बनाइएका १५ ट्रष्टसहित १६५ झोलुङ्गे पुल बाट पाँचथर, तेह्रथुम र ताप्लेजुङका तीन लाख ३० हजार स्थानीयवासी प्रत्यक्ष लाभान्वित भएका बताइएको छ । फिदिम टुडेबाट

Leave a Reply

Your email address will not be published.