आयुर्वेद उपचार पद्दतिमा ब्रह्रलुट : उपचारको क्रममा महिलाको मृत्यु, नियमनकारी निकाय बेखवर

Mukya Samachar Special News Trending स्वास्थ्य/शिक्षा

बिर्तामोड : आयुर्वेद उपचार पद्दति पुरानो उपचार पद्दति हो । चिकित्सा विज्ञानले समेत आयुर्वेद उपचार पद्दतिलाई मान्यता दिएको छ । तर,मानिसलाई रोग लाग्नासाथ उपचार गरिसक्दा निको हुनुपर्ने मानवीय प्रवृत्तिका कारण आयुर्वेद उपचार पद्दति भन्दा आधुनिक चिकित्सा पद्दति प्रति मानिसनको आकर्षण बढ्यो । पछिल्लो समय विस्तारै आयुर्वेद क्षेत्रमा पनि दक्ष चिकित्सकले उपचार गर्न थालेसंगै आयुर्वेद प्रतिको विश्वास बढ्दै गएरहेका बेला झापाका केही आयुर्वेदिक क्निक तथा फर्मेसीले विरामीको स्वास्थ्य माथि गम्भीर खेलवाड गरिरहेको तथ्य सार्वजनिक भएको छ ।

दमक नगरपालिकामा पायल्सको शल्यक्रिया गर्ने क्रममा एक युवतीको मृत्यु भएसंगै आयुर्वेद उपचारका नाममा क्लिनक तथा फर्मेसीले विरामीको स्वास्थ्य माथि गम्भीर खेलवाड गर्ने गरेको तथ्य खुलेको हो । दमक नगरपालिका–५ रातोपुलस्थित वरदान आयुर्वेदिक चिकित्सा केन्द्रमा पायल्सको शल्यक्रिया गर्ने क्रममा शनिबार दमक– ९ निवासी १७ वर्षीया सुष्मादेवी चौधरीको मृत्यु भएसंगै आयुर्वेदिक चिकित्साको नाममा विरामीको स्वास्थ्य माथि गम्भीर खेलवाड भइरहेको पाइएको हो ।

झापामा दर्ता नै नभएको वरदान आयुर्वेदिक चिकित्सा केन्द्रले युवतीको उपचार गर्ने क्रममा निधन भएको हो । कानूनत विना दर्ता क्लिनिक सञ्चालन गर्न पाइँदैन । तर, नियमनकारी निकायले समयमा अनुगमन नगर्दा विना दर्ता क्लिनिकमा उपचारका क्रममा युवतीको ज्यान गएपछि शुक्रवार र शनिवार दमक दिनभर जसो तवान ग्रस्त बन्यो ।

विवरण अनुसार शुक्रबार चौधरीको पायल्सको शल्यक्रियाका डा प्रकाश लिम्बूले युवतीलाई वेहोस बनाउन ‘जाइलोकिन’ नामक औषधि प्रयोग गरेका थिए । औषधि सहितको इन्जेक्सन लगाए लगत्तै उनी वेहोस भएकी थिइन् । लामो समयसम्म उनी होसमा नआएपछि तत्काल थप उपचारका लागि लाइफलाइन अस्पताल लगिएको थियो । तर, उनको बाटैमा मृत्यु भएपछि मृतकका आफन्तले उपचारमा सम्लग्न चिकित्सकलाई कारवाहीको माग गर्दै आन्दोलन गरेका थिए ।

विमारीको मृत्यु लगत्तै डा लिम्बू फरार भएपनि इलाका प्रहरी कार्यालय दमकले डा लिम्बूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार विना दर्ता सञ्चालित चिकित्सा केन्द्रका सञ्चालकलाई समेत नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

यता इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक श्यामल सुब्बाले भने उनीहरुलाई प्रारम्भीक सोधपुछका लागि मात्रै नियन्त्रणमा लिइएको बताएका छन् । उनले सो विषयमा जाहेरी नपरेकाले आफूहरुले डा लाई नियन्त्रणमा राख्न नकिल्ने बताए । आयुर्वेद उपचारका नाममा विरामीलाई लुट्दा समेत नियमनकारी निकाय अहिलेपनि बेखवर छ । उपचारकै क्रममा अनाहकमा ज्यान गुमाएकी चौधरी पछिल्लो प्रतिनिधि पत्र मात्रै हुन् ।

जिल्लामा संचालित आयुर्वेद फार्मेसीले औषधि मात्रै बेच्नु पर्ने भएपनि डा राखेर गैर कानूनी रुपमा विरामीको स्वास्थ्य माथि खेलवाड गर्दा समेत नियननकारी निकाय भने वेखबर छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रबीन्द्र निरौला भन्छन्– ‘क्लिनिकका रुपमा दर्ता भएका स्वास्थ्य संस्थाले मात्रै डा राखेर विरामी जाँच्न पाउँछन् । तर, फर्मेसीका रुपमा मात्र दर्ता भएका स्वास्थ्य संस्थाले डा राखेर विरामी जाँच्न पाउँदैनन् । उनीहरुले चिकित्सकले सिफारिस गरेको औषधि मात्रै विक्री गर्नु पर्ने हुन्छ । ’

उनका अनुसार क्लिनिकको अनुगमन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले गरेपनि फर्मेसीको अनुगमन भने औषधि व्यवस्था विभागले गर्नु पर्ने प्रावधान रहेको छ ।
प्रमुख निरौलाका अनुसार जिल्लामा सञ्चालित २३ वटा आयुर्वेद स्वास्थ्य संस्थाले मात्रै सञ्चालनको अनुमति लिएका छन् । फार्मेसीले भने औषधि व्यवस्था विभागबाट सञ्चालनको अनुमति लिन्छन् उनले भने – यस विषयमा हामीलाई जानकारी हुँदैन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापामा दर्ता भएका आयुर्वेद स्वास्थ्य संस्था मध्ये विर्तामोडका धेरै छन् । बिर्तामोडमा मात्रै १३ वटा दर्ता छन् भने दमकमा ८, अर्जुनधारा र भद्रपुरमा एक – एक वटा छन् ।

बिर्तामोडामा स्पार्क पूर्वाञ्चल अस्पताल प्रालि, बिर्ता आयुर्वेद एण्ड फिजियो थेरापी सेन्टर, शिवम आयुर्वेद क्लिनिक,आयुर्वेदिक काफ्ले क्लिनिक, सप्त गण्डकी अस्पताल प्रालि, तारा होमियो पेथिक क्लिनिक प्रालि, सुस्रुत अस्पताल प्रालि, ओम धनमन्तरी आयुर्वेद क्लिनिक, सरस्वती होमियो पोलियो क्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर , रवीन आयुर्वेद क्लिनिक, आरोग्य योग तथा प्राकृतिक चिकित्सा केन्द्र, माता मनकामना आयुर्वेद क्लिनिक प्रालि र सताक्षी आयुर्वेद क्लिनिक सञ्चानमा छन् ।

त्यस्तै दमकमा झापा होमियो पेथिक मेडिकल सेन्टर, रीता होमियो पेथिक सेन्टर प्रालि, दमक होमियो क्लिनिक सेन्टर प्रालि, जनसेवा होमियो सेन्टर प्रालि, सुजन आयुर्वेदिक क्लिनिक, खनाल आयुर्वेदिक क्लिनिक, आदित्य आयुर्वेदिक क्लिनिक र पवित्रा आयुर्वेदिक क्लिनिकले सञ्चालनको अनुमति लिएका छन् । यता अर्जुनधारामा आशिष आयुर्वेद स्वास्थ्य क्लिनिक र भद्रपुरमा निताई आयुर्वेद उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।

उपचारका क्रममा विरामीको मृत्यु हुँदा समेत जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाले अहिलेसम्म पनि घटनाको विषयमा जानकारी लिएको छैन । दर्ता विहिन आयुर्वेद चिकित्सा केन्द्रमा महिलाको मृत्यु भएको २४ घण्टा वितिसक्दा समेत जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख निरौलाले घटनाको विषयमा जानकारी नै नलिएको पूर्वाञ्चलसंगको टेलिफोन सम्पर्कमा स्वीकार गरेका छन् । उनले भनेका छन् – ‘स्थानीय तहले स्वास्थ्य संस्था नियमनको जिम्मा पाएपछि जिल्लाले त्यो विषयमा जानकारी लिएको छैन । स्थानीय तहले समेत आफूलाई सो विषयमा अहिलेसम्म जानकारी गराएका छैनन् ।’

स्वास्थ्य सम्वन्धि धेरै अधिकारहरु स्थानीय तहलाई दिएपनि स्थानीय तहको नियमन तथा समन्वय गर्ने जिम्वेवारी निकाय अझैंपनि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नै हो । तर, अहिलेसम्म यस विषयमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नै वेखवर हुनुले स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा समेत जिम्वेवार निकाय मौन बसेको सरोकारवालाले बताएका छन् ।

यता निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले घटनाको विषयमा आफूलाई जानकारी आएपनि विस्तृत रुपमा वुझ्न नपाएको बताएका छन् । उनले आफू जिल्लामा भर्खर आएको र सुरक्षा सम्यन्त्रको वैठकमा लगत्तै विराटनगर जानु परेकाले सो विषयमा गहन रुपमा बुझ्न नपाएको बताए । उनले घटनाको विषयमा गहन अध्ययन गर्ने र दोषी देखिए कानूनी कारवाहीको दायरामा ल्याउने बताएका छन् । पूर्वेली न्यूजबाट

Leave a Reply

Your email address will not be published.