बिमल दाहाल ,माई : इलामको माई नगरपालिकामा रहेका गर्भवति महिलालाई निःशुल्क भिडियो एक्सरे सेवा पाउने भएका छन् । करुणा फाउण्डेसन नेपालको सहयोगमा माई नगरपालिकालाई एक थान अल्ट्रा साउण्ड मेसिन प्रदान गरिए पछि अव यो सेवा प्रदान गरिने माईका नगरप्रमुख दिपक कुमार थेबेले जानकारी दिए । बाल अपाङ्गता रोकथाम तथा अपाङ्गता भएका व्यक्तिहरुको पुनस्र्थापनाका क्षेत्रमा कार्यरत गैर सरकारी संस्था करुण फाउण्डेसन नेपालले अपाङ्गता रोकथामको लागि सहयोग पुर्याउन अल्ट्रा साउण्ड मेसिन नगर प्रमुख थेबेलाई प्रदान गरेको करुणा फाउण्डेसन नेपाल इलामका जिल्ला ब्यबस्थापक अजीत योञ्जनले बताए ।
भिडियो एक्सरे मेसिनका माध्यमबाट गर्भवती महिलाहरुको गर्भमा रहेको वच्चाको अवस्था पत्ता लगाउन मद्धत पुग्ने र अपाङ्गता हुनबाट बचाउन सहयोग हुने योञ्जनले बताए । सात लाख मुल्य रहेको मेसिन बितरण कार्यक्रममा योञ्जनले बच्चा र गर्भवती महिलालाई बच्चा जन्माउने क्रममा हुन सक्ने सम्भावित जोखिम न्यूनिकरण गर्न समेत सहयोग पुग्ने जानकारी दिए ।
माईका मेयर दिपककुमार थेबेले अल्ट्रा साउण्ड मेसिनको प्रयोगबाट माईका सबै वडाका गर्भवति महिलालाई सेवा दिन सकिने बताउदै हाललाई दानाबारी स्वास्थ्य चौकी मार्फत निःशुल्क सेवा प्रदान गरिने बताए । हेरचाहका लागि उत्प्रेरणा कार्यक्रम अन्र्तगत माई नगरपालिका र करुणा फाउण्डेसन नेपाल विच सम्झौता भई बाल अपाङ्गता रोकथाम तथा अपाङ्गता भएका व्यक्तिहरुको पुनस्र्थापना कार्यक्रम सञ्चालन गर्दै आएको छ । निःशुल्क भिडियो एक्सरे सेवाका लागि अनमी कमला श्रेष्ठलाई तालिमा पठाईएको र आउदो दशै पछिबाट माईका सबै क्षेत्रलाई समेटने गरी लागु गरिने नगर उपप्रमुख बिष्णुमाया आचार्यले बताइन । करुणाले हाल नेपालका इलाम, सुनसरी र रसुवा जिल्लाहरुमा कार्यक्रम संचालन गरिरहेको छ ।लोकल शन्देशबाट
माई नगरपालिकाका गर्भवति महिलालाई अब निःशुल्क भिडियो एक्सरे सेवा प्रदान
