शब्द र तस्बिरमा सन्दकपुर गाउँपालिका ( फोटो फिचर )

शब्द र तस्बिरमा सन्दकपुर गाउँपालिका ( फोटो फिचर )

परिचय
सन्दकपुर गाउँपालिका सुदुर पूर्व इलामकाको चुचुरो रहेको गाउँपालिका हो । इलामको ४ नगरपालिका र ६ गाउँपालिका मध्ये सन्दकपुर गाउँपालिका पर्यटनको दृश्टिले सबैभन्दा अब्बल र उत्कृष्ठ गन्तव्यस्थल हो ।


दक्षिणमा माईटारबेसीदेखि उत्तरमा हिउँ तुसारो फुल्ने सन्दकपुरको चुचुरोसम्म,पूर्वमा आलेभञ्ज्याङ्ग देखि पश्चिममा थाक्लेभञ्ज्याङ्गसम्मको चार सीमानाभित्र समेटिएको छ । प्राकृतिक भु–बनोट बहुमूल्य जडिबुटी, दुलर्भ वन्यजन्तु, जैविक विविधता, विभिन्न जातजातिको भाषा सस्कृति, रहनसहन रितीरिवाज, र कृषिमा आधारित जीवनशैलीले सन्दकपुर गाउँपालिका सिंघारिएको छ ।


सन्दकपुर गाउँपालिका समुन्द्र सतहबाट ९ सय देखि तीन हजार ६ सय ३६ मिटर उचाईसम्म फैलिएको छ । सिंहलीला र महाभारत पर्वतश्रृंखलाबाट उत्पत्र दर्जनौ नदीला प्रणाली, विश्व सम्पदा सुचिमा सुचिकृत माईपोखरी रामसार, सिमसार क्षेत्र, लोपोन्मुख थुप्रै वन्यजन्तु, वनजंगलभरी हुलका हुल चराका बथान, वनस्पति, हिमश्रङ्खला, छाँगा छहरा सन्दकपुर गाउँपालिको पर्यटकका आकर्षणका केन्द्र हुन् ।
सन्दकपुर
समुन्द्र सतहदेखि ३ हजार ६ सय ३६ मिटरको उचाइ रहेको सन्दकपुर नेपालको प्रमुख पर्यटकीयस्थल हो । भारतीय सीमा क्षेत्रमा पर्ने सन्दकपुर पर्यटन क्षेत्र भारतीय पर्यटन नक्सामा नम्बर १ पदमार्गमा राखिएको छ । र भारततीरबाट बर्षेनी डेढलाख बढी पर्यटकहरु सन्दकपुर आउने गरका छन् ।


सन्दकपुर नेपाल भारत भुटानका ६० भन्दा बढी हिमाललाई कुम जोडिएझै १ सय ८० डिग्रीको सोझो सतहमा अंगालो हालेजस्तै आँखा अगाडी अवलोकन गरिने दक्षिण एसियाकै एक मात्र ठाउँ हो । सूर्योदय, सूर्यास्त अनेकौ प्रजातिमा फुल्ने लालिगुराँस हेरेर विश्वभरका पर्यटकले आनन्दित हुन्छन् । सामरिक दृष्टिले पनि महत्वपूर्ण सन्दकपुर नेपालको सबैभन्दा बढी एकैठाउँबाट सगरमाथा, कंचनजङ्गा, मकालु पाथिभरा, कुम्भकर्ण लगायत हिमाललाई नजिकबाट नियाल्ने उत्तम गन्तव्य हो सन्दकपुर । छिनछिमा बदलिरहने मौसम र आँखै अगाडी देखिने हिमश्रृंखलाको दृश्यले सन्दकपुर डाँडामा पाइला टेक्दा पर्यटकलाई धर्तिमै स्वर्गीय आनन्द जस्तो बनाउँछ ।
इलामको चार खोलामध्ये पवित्र माई नदीको मुहान रहेकाले सन्दकपूरमा विश्वभरका श्रद्धालु भक्तजनले पुजा गर्दै आएका छन् । सन्दकपुरको डाँडाबाट सुर्योदय र सुर्यास्तको अलौकिक दृश्य अनि इलाम झापा र पश्चिम बंगालका अधिकासं गाउँबस्तिहरु हत्केलामा राखेर हेरिरहु जस्तो लाग्छ ।
माइपोखरी
रामसार सुचिमा सचिकृत प्रख्यात माईपोखरी इलामको सन्दकपुर १ मा अवस्थित छ । सदरमुकाम इलामबाट १३ किलोमिटर यात्रामा पुगिने माईपोखरी क्षेत्र सन् २००८ मा विश्व रामसार सुचीमा सुचिकृत गरीएपछि माइपोखरी विश्वव्यापी पहिचान बनाएको हो ।
साक्षात देवीका रुपमा धार्मिक विश्वास गरिएको मानिने माइपोखरीमा चिताएको मनोकाक्षा पुरा होस् भनी भाकल गर्ने र परेवा उडाउने गरिएपनि वलिप्रथा भने निषेध छ । हिन्दु, बौद्ध, र किराँत मुन्धुम सबैधर्मको आस्थाको केन्द्र माइपोखरीमा बैशाख १ गते नयाँ वर्ष र हरिबोधनी ठुली एकादशीका दिन बिषेश पुजा र मेला लाग्ने प्रचलन छ ।


सिंगो इलामको सास्कृतिक सभ्यताको प्रतिबिम्भ माईपोखरी आउने पर्यटकलाई स्थानीय परिकारको मिठो स्वादमा रमाउँदै आरामदायी बसाईका लागि पोखरी आसपासमा सुविधासम्पन्न होमस्टे होटल संचालनमा छन् ।
नौवटा कुनामा फैलिएको माईपोखरी क्षेत्रमा विश्वमा लोपउन्मुख गलैचे झ्याउ र लोउन्मुखनै उभयचर ठकठके लगायत रुख भ्यागुतो र ३ सय बढी प्रजातीका चराको सुमधुर आवाज सुनिन्छ । २ हजार १ सय २१ मिटरको उचाइमा अवस्थित २ हेक्टर जलासयसँगै १२ हेक्टर क्षेत्रमा फैलिएको माईपोखरीमा सुनगोहोरो, लालिगुराँस, सुनाखरी, जडीबुटी, रैथाने माछा, उभयचर, सरिसृप र स्तनधारी प्राणिको अवलोकन गर्न सकिन्छ ।

सात खाल्डे
प्रजातन्त्रका निम्ति सुरु भएको सशस्त्र संघर्षका क्रममा ७ जना प्रजातान्त्रिक योद्धाको हत्या भएको यो क्षेत्र सात खाल्डेका नाममा पनि चिनिन्छ । २०१९ सालमा सुरक्षा फौजले आफै खाल्डो खन्न लगाई त्यही खाल्डोमा प्रजातान्त्रिक योद्धाको हत्या गरेको थियो । देउराली बजारको नजिकै उत्तरपट्टि रहेको सात खाल्डेमा अहिले तीनै सहिदहरुको सम्झनामा स्मृति पार्क निर्माणाधिन अवस्थामा छ ।
सात खाल्डेमा सन्दकपुर १ का तुला बहादूर राई डाकमान राई, तेज बहादुर राई, जीतबहादुर राई, बल बहादुर गुरुङ्ग, लाखमान राई र खड्गबहादुर राईको विभत्स हत्या भएको थियो । पार्क वरिपरि अहिले फूलबारी, बगैंचा, चौतारी र बीचमा सहिद स्तम्भ राख्ने योजना रहेको छ ।


शोकलाई शक्तिमा बदल्दै, पहाड पल्टाउने ‘माउन्टेन म्यान’ यानकी स्वर्गीय डम्बरसिंह सुनुवारको कला देउराली बजारबाट डेढ किलोमिटर ठाडो उकालो यात्रापछि देखिन्छ । प्रजातान्त्रिक योद्धा र सुरक्षा फौजबिच २०१८ साल माघ २ को भिडन्तमा डम्बरसिंहका १२ बर्षीय छोरा डिकबहादुर र डेढ बर्षीया छोरी ओममायालाई गुमाएपछि सुनुवारले जलकुण्ड, ढुंगे चौतारो ,मन्दिर र अनौठो आकृति बनाएका छन् ।
छिन्टापु
समुद्री सतहबाट तीन हजार दूई सय मिटरमा छिन्टापु रहेको छ । जैविक विविधता तथा प्रकृतिले सिंघारिएको छिन्टापुमा वसन्त ऋतुमा डाँडा पाखाभरि राताम्ये फुल्ने लालिगुराँस अनि छिन्तापुको काखैमा रहेको पोखरीहरुमा कंचनजङ्गा कुम्र्भकर्ण हिमालको दृश्य हेर्न सकिन्छ । छिन्तापु आसपासमा सास्कृतिक महत्व रहेका तालपोखरी, फुस्रेपोखरी, छिन्तापु पोखरी लगायतका दर्जनौ पोखरीहरुले रहेका छन् ।


छिन्टापुमा भारतीय पर्यटक मुख्य सिजन फागुन, चैत र बैशाखमा ढकमक्क फुल्ने चाँप गुराँस र सुनाखरीको फुलमा रमाउन पुग्ने गरेका छन् । छिन्टापु जाँदा गाउँका होमस्टे र ग्रामीण होटलहरुमा लोकल कुखुराको सुप, सिस्नो र कोदोको ढिडोको स्वादिलो खाना र न्यानो आतिथ्य सत्कार पाइन्छ ।
माबुथाम÷ हाँगेथाम
सन्दकपुर गाउँपालिकाको प्राकृतिक पर्यटकीयस्थल माबुथाम डाँडा हो । वडा नम्बर ५ मा अवस्थित प्राकृतिक, जैविक विविधताको दृश्यावलोकन र लोपउन्मुख वन्यजन्तु रेडपाण्डा हाब्रेको बासस्थल रहेको माबुथाम क्षेत्र बुहुमुल्य प्राकृतिक जडिबुटीको अध्ययन गर्न पाइन्छ ।
सन्दकपुर वडा नम्बर ५ मा जमुनाको हाँगेथाम डाँडा । पुर्वमा हाँगेथाम जंगलमा मात्रै पाइने विश्वमै दूलर्भ स्पाइब्नी ब्याब्लर अर्थात काँडेभ्याकुर चराको अध्ययन अनुसन्धान गर्न वर्षेनी पक्षीविदहरु आउने गरेका छन् । रेडपाण्डा हाब्रे, थार, ध्वाँसे चितुवा, कालोभालु, चरिबाघ, राजपखिं, ठकठके लगायत जिवजन्तु र पक्षि पाइने हाँगेथाम क्षेत्रमा अमेरिकी वन्यजन्तु विज्ञ ब्राइम विलियमले डेढ दशक अघि सात महिना लामो रेडपाण्डाको गहिरो अध्ययन गरेका थिए ।


हाँगेथाम क्षेत्र पछिल्लो दिनमा बनभोज स्थल पिकनिक स्पट पनि बन्दै गएको छ । हाँगेथामबाट नजिकैको सीमा क्षेत्रका पर्यटकीयस्थलहरु कैयाकट्टा, गैरिबास, जौबारी तुम्लिङ्ग, मेघमा पनि सहजै १ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ ।
जौबारी
सीमा क्षेत्रको जौवारी भारततीरबाट सन्दकपुर घुम्न आउने पर्यटकहरुको बास बस्ने स्थल हो । आधुनिक कृषि प्रणालीको विकास गर्न नेपाल सरकारले नेपाल कृषि अनुसन्धान परिषद् र आलुबालि तथा बागबानि विकास केन्द्र पुनः स्थापना गरेपछि कृषि क्षेत्रको अध्ययनको थलो भएको हो ।

हुस्सु र भुई कुहिरो लुकामारि खेल्ने जौबारी र तालपोखरी क्षेत्र अहिले कृषि बैज्ञानिकहरु र कृषि मजदुरहरुको ज्ञान सिप र पसिना बगाउने कर्मथलो बन्दै गएको हो । जौबारीमा पर्यटकहरुको गिद्धको पनि अध्ययन गर्न सकिन्छ ।
टप्पु
सन्दकपुर वडा न १ मा रहेको टप्पु प्राकृतिक रमणिताले भरिएको ठाउँ हो । लोपउन्मुख जीव वन्यजन्तु वनस्पिती १२ महिना फरक फरक मौसममा फुल्ने जंगली फुल र जडिबुटी पाइने टप्पु क्षेत्रलाई प्राकृतिक चिडियाखाना बनाई रेडपाण्डाको संरक्षण गर्न लागिएको छ ।
टोड्के झरना


२ सय ८० फिट अग्लो माईमझुवाकाृ टोड्के झर्ना नेपालको दोस्रो अग्लो झरना हो । टोड्के झरनाको फेदीमा पुगेपछि झरनाको पानीमा देखिने सप्तरङ्गी इन्द्रेणीको मनमोहक दृश्यले त्यहाँ पुग्ने जो कोहीलाई त्यही बसिरहु हेरिरहुँ जस्तो आनन्दित बनाउँछ । सन्दकपुर वडा नम्बर २ मा रहेको टोड्के झर्नाको रोमाञ्चित दृश्य माबुको सायङ्बा गहिरिगाउँबाट मञ्जाले अवलोकन गर्न सकिन्छ । सन्दकपुर गाउँपालिका क्षेत्रको धप्पर झरना र पाहा खोला झरना आकर्षक छन् ।
रेडपाण्डा
सन्दकपुर गाउँपालिका वडा नं ५ को जमुना इङ्लाको चोयाटार जंगल र ४ को दोबाटे विश्वमै दूर्लभ रेडपाण्डा हाब्रे पाइने क्षेत्र हो । रेडपाण्डाको अध्ययन अनुसन्धान र अवलोकनमा वर्षेनी वन्यजन्तु विद् र सयौँ पर्यटकहरु यहाँ आउने गरेका छन् । उत्तिकै प्रख्यात ठाउँ माबुको कैयाकट्टा क्षेत्र पनि हो । गाउँपालिका क्षेत्रमा लोपउन्मुख गिद्ध, लामपुछ्रे मुनाल, काँडे भ्याकुर लगायत सर्यौ चराहरुको बासस्थान रहेको छ ।
भारतपट्टि सिंहलिला संरक्षित क्षेत्र भएकाले सन्दकपुर गाउँपालिकामा वन्यजन्तु र चराचुरुङ्गीहरुले सहजै आउजाउ र बसोबास स्थल बनाएका छन् ।
सास्कृतिक सम्पदा
सन्दकपुर गाउँपालिकामा ऐतिहासिक र पुरातात्विक महत्वका दर्जनौ सास्कृतिक र धार्मिक सम्पदाहरु धामिछन् । वडा नम्बर ४ माबुमा रहेको डुग्डे छेम्पो नामगेलिङ्ग साधना केन्द्र लामा गुरु उत्पादन गर्ने पुर्वकै प्रशिद्ध धार्मिक साधना केन्द्र हो । साधना केन्द्रसँगै रहेको उर्गेन तेङ्गेलिङ गुम्बा सेर्पा जातिहरुको जायि संस्कृति रितिरिवाज र रहनसहन अध्ययन गर्ने अर्को सम्पदा हो । वडा नम्बर ४ मा गुरुङ्ग तमु जातिको आस्थाको केन्द्र काथोक नमनाङ् होसेल छोलिङ्ग गुम्बा रहेको छ ।


सुतुलुङ्ग ढुङ्गा
वडा नम्बर ३ सुलुबुङ्ग टारीमा रहेको सुतुलुङ्ग ढुङ्गा ऐतिहासिक सास्कृतिक सम्पदा हो ।
लेप्चाहरुको बसोबास रहेका बेला अन्य समुदायले थिचोमिचो गरेपछि पाँच दिने लेप्चा सुत्केरी महिलाले पहरो चिरेर गाडिएको ढुङ्गालाई सुतलुङ्ग ढुङ्गा नामाकरण गरिएको किम्बदन्ति छ । आफ्ना थातथलो छोड्न बाध्य भएपनि इतिहास रहोस् भनि गाडिएको सुतलुङ्ग ढुङ्गाको नाम अपभ्रंस गरि सुलुबुङ्ग नामाकरण गरिएको कथन छ ।
जातिय संस्कृति
आदिवासी जनजातिको मौलिक रहनसहन, जातिय भेषभुषा र हरेक चाडपर्वहरुमा नाचिने जातिय झाँकिले पनि सास्कृतिक रौनक थपेको छ । प्रकृति पुजक किराँत राई जातिले आफ्नो भेषभुषमा सजिएर नाच्ने उधौली, उभौली र साकेला चण्डि नाच हेर्न पाइन्छ ।
आफ्नो भेषभुषा सस्कृति र परम्परामा आधारित रहेर नाचिने सुनुवार जातिको स्यादर चण्डी नाच यहाँको अर्को आकर्षक संस्कृति हो । पुर्खाहरुले परापूर्वकालमा गरिएका कामको स्मरण गर्दै गाइने र नाचिने हुर्रा नाच मगर जातिको जातिय सास्कृतिक नृत्य देख्न पाइन्छ । गुरुङ्ग जाति बसोबास रहेको यहाँ उनीहरुको रहनसहन, सास्कृतिक सम्पदासँगै आफ्नै भेषभुषामा नाचिने नृत्य ग्रामीण पर्यटनको माध्यम हो । हिन्दु सनातन समुदायले गर्ने १६ संस्कारमा आधारित सस्कृतिक नृत्य यहाँ बसोबास गर्ने बाम्हण र क्षेत्री समुदायले संरक्षण गरेका हुन् । लिम्बु जातिले बिहे भोज भतेर र मेला पर्वहरुमा नाचिने धाननाच, पालमनाच, च्याब्रुङ्ग ढोलनाच सन्दकपुर गाउँपालिका जिवन्त राखेका छन् ।
जडिबुटी
औषधियजन्य गुण रहेका बहुमुल्य जडिबुटीको व्यवसायीक खेती हुँदै आएको सन्दकपुर गाउँपालिका पूर्वी पहाडको जडिबुटी र बनस्पतिको राजधानी हो । किसानहरुले पाखा पखेरुहरुमा सतुवा, मजिटो, इन्द्रेणि,लौठ सल्ला, सुनाखरी, चिराइतो, पाँचऔले, कुड्की, ओख्खे आलु चिम्फिङ्ग लगायतका जडिबुटीहरुको व्यवसायिक खेती गरेका छन् ।


कृषि उपज
आलु, अलैची, अम्लिसो, गाईबस्तुको दूध लगायत पछिल्लो दिनमा किबीको व्यवसायिक खेती हुँदै आएको छ । पर्यटकीय क्षेत्रमा पुग्ने पर्यटकहरुले स्थानीय उत्पादनको परिकार पस्कने गरेका छन् । सन्दकपुर गाउँपालिकालाई कबि फलको किबि जोन घोषणा भएपछि देशविदेशका उद्यमी किसानको आगमन बढेको छ । उद्यमसिल किसानहरुको पसिनाले रुखो डाँडाडाँडामा रहरलाग्दा चियाका बुटाहरु मौलाएका छन् । मकै र धान फल्ने घर घुरानदेखि खेतबारीमा अलैची खेती विस्तार भएको छ । व्यवसायीक गाईभैसी पालनले गाउँगाउँमा खोलीएका असंख्य डेरी र चीज उद्योगहरुबाट गुणस्तरीय चिज र छुर्पीले उत्पादन हुँदै आएको छ ।
ढाप पोखरी
पर्यटन प्रवद्र्धनमा सबै मिलि गरे के हुँदैन भन्ने एउटा जवलन्त उदाहरण जमुनाको चन्द्रपाल थेवे सिमसार ढाप पोखरी पनि हो । विगत ४ वर्षअघि स्थानीय जमुनाबासीको अगुवाई र सक्रियतामा उपयोगविहन ढापलाई पोखरी बनाई पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने उदेश्यले थालिएकोे ढापपोखरी निर्माण अभियानपछि अहिले दिनहुँ पर्यटकहरु घुमेर आनन्द दिने गरेका छन् । प्राकृतिक पर्यटकीय उपजले सिंघारिएको इलाममा ढापपोखरी मानव निर्मित पर्यटकीय उपज हो । पर्यटन प्रवद्र्धनका लागि ढापपोखरीमा अहिले डुङ्गा सयरसँगै रामनहमिकोे बेला सास्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गरिँदै आएको छ ।
कालपोखरी र बिखेञ्ज्याङ्ग
नेपाल र भारत दूबैतीरबाट सन्दकपुर भ्रमणका आउने पर्यटकको संगमस्थल, हो कालपोखरी र बिखेञ्ज्याङ्ग । त्यहाँ पुगेपछि पर्यटकीय सिजनमा सन्दकपुर पुग्न लम्किरहेको हुलका हुल पर्यटकको लावलस्कर ताँतीले बास बस्दै आएका छन् । लालबास सीमसार क्षेत्र र त्यहाँ अनेकौँ प्रजातिको लालीगुराँस, सुनाखरी फुल र चराहरुको चिरबिर आवाजले हामीलाई मन्त्रमुग्ध बनाउँछ । जंगलकै बिचमा ठुलो ढुङ्गामा गौतम वृद्धको स्तुतीगान कुदिएको शिलालेख पनि छ ।


सन्दकपुर पुग्ने बाटो
सन्दकपुर गाउँपालिका पुग्न झापाको चारआलिदेखि पूर्व पश्चिम राजमार्गलाई छोडि मेची राजमार्गबाट उकालिदै सुनमाईदेखि घुमाउरो बाटो छिचोल्दै कन्याम, फिक्कल, माईखोला हुँदै इलाम सदरमुकाम पुगिन्छ ।
इलाम सदरमुकामबाट बिब्ल्याँटे धारापानी, जसबिरेदेखि चाँपगैरी पुगेपछि सन्दकपुर गाउँपालिको यात्रा शुरु । इलाम सदरकुकामदेखि सन्दकपुर गाउँपालिका केन्द्र पुग्न १८ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ ।लोकल शन्देशबाट