आहा ! भर्जिन ल्याण्ड सन्दकपुर

Special News Trending घुमफीर जीवन शैली पर्यटन प्रमोसन विचार समाज
                 

खेम अधिकारी

लेखक


नेपाल सरकारले हालै घोषणा गरेको नेपालका एकसय पर्यटकीय स्थल मध्ये इलाम जिल्लाको सन्दकपुर पनि एक हो । सूर्योदय तथा हिमश्रृंखलाहरुको दृष्यावलोकनका लागि विश्वकै नामुद स्थान सन्दकपुर इलाम जिल्लाको उत्तरी भेगमा अवस्थित छ । यसको उचाइ समुद्र सतहबाट तीन हजार छ सय ३६ मिटर रहेको छ, जुन नेपालकै महाभारत पर्वतको सर्वोच्च शिखर हो । सन्दकपुर नामाकरण तथा यसको प्रसिद्धिका बारेमा खोज गर्दा इतिहासका अध्येताहरुका अनुसार इलाम जिल्ला तथा यस आसपासका क्षेत्रहरुमा परापूर्व कालमा लेप्चा जातिले शासनन गरेको मानिन्छ । लेप्चा जातिले कञ्चनजङ्घा हिमाललाई धार्मिक आस्थाको केन्द्रको रुपमा हालसम्म पनि मान्ने गरेको पाइन्छ । सन्दकपुरबाट कञ्चनजङ्घा हिमाललाई दर्शन तथा आराधना गर्न सकिने हँुदा यसको नाम ‘सन्दफू’ राखियो । जसको अर्थ ‘उच्च स्थान’ भन्ने हुन्छ । कालान्तरमा यस क्षेत्रका लाप्चाहरु इलामकै नेपाल–भारतको सिमावर्ती क्षेत्र, भारतको दार्जिलिङ तथा सिक्किम क्षेत्रमा गएका थिए । यसको प्रभाव स्वरुप भारतीय क्षेत्रमा सन्दकपुरलाई आज पनि सन्दकफू नामले नै चिनिन्छ ।

त्यस्तै प्रकृतिपूजक हिन्दू ,बौद्ध, किरात धर्मावलम्वीहरुले साक्षात् देवी मान्ने माई भगवतीको शीर सन्दकपुर चुली नै भएकाले धेरै साधु–सन्तहरु आउने जाने ध्यान गर्ने गरेको र एक दिन एक जना नामुद सन्तले कठोर ध्यान तपस्या गरिरहेको अवस्थामा हिउँ आएको र त्यही हिउँमा सन्त लिन भएका हुँदा हिउँले सन्त पुरेको स्थान सन्तपुर भयो भन्ने भनाइ पनि रहेको छ । यस्तै, उक्त स्थानमा विभिन्न धर्मावलम्वी साधु–सन्तहरु आइरहने भएकाले सन्तहरुको नगर अर्थात् सन्तहरुको पुर भएर सन्तपुर नामाकरण भएको भन्ने भनाइ पनि रहेको छ । परापूर्वकालदेखि नै हिन्दू, बौद्ध, किरात धर्मका सन्तहरुले जप, तप तथा ध्यान गरेको पवित्र स्थल भएकाले सन्तपुर भन्ने गरेको कुरा र कालान्तरमा सन्तपुर शब्द सन्दकपुर भएको पुराना बुढापाकाहरुको भनाइ रहेको छ । अहिले पनि स्थानीय भेगमा सन्तपुर नाम नै उच्चारण गरिन्छ । परापूर्व कालदेखि हालसम्म पनि हिन्दू, बौद्ध, किरात आदि धर्मावलम्वीहरुले सन्दकपुर गएर नियमित पूजाका साथै बिभिन्न तिथि तथा समयमा पूजापाठ गर्ने गरेको पाइन्छ । यसरी यहाँको पृष्ठभूमि, प्राकृतिक अवस्था हेर्दा सबै धर्म संस्कारका मानिसहरुले धार्मिक सहिष्णुताको केन्द्रको रुपमा यस स्थालाई लिने गरेको पाइन्छ । यहाँ विभिन्न मन्दिर तथा गुम्वाहरु रहेका छन् ।


सन्दकपुरबाट देखिने सूर्योदयको दृष्य कुनै अक्षरबाट वर्णन गर्न सकिँदैन जुन त्यहाँ पूगेर सूर्योदयको दृष्यावलोकन गरेपछि जोकोहीले मनन गर्ने विषय हो ब्याख्या गर्दा सबै शब्दहरु फितला लाग्छन् । क्षितिजबाट उदाउने सूर्य, ताँती लागेर उभिएका हिमालहरुमा घामको झुल्को पर्दा देखिने सुनौलो आकृति र सफा नीलो आकाश हेर्दा लाग्छ – म साक्षात् स्वर्गमा पुगेको छु । त्यसैले त हो सन्दकपुरले सूर्योदय ,सूर्यास्त तथा प्रकृतिको अनुपम छटाहरुको दृष्यावलोकनका गर्नका लागि पछिल्लो समय विश्वभर प्रसिद्धि कमाउँदै गएको छ । यहाँबाट अत्यन्तै मनमोहक रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै कञ्चनजङ्घा, मकालु, कुम्भकर्णलगायतका हिमालहरु आँखाभरी हेर्न सकिन्छ । नेपालका हिमाल, पहाड, तराईका कैयौँ जिल्लाहरु आफ्नै वरिपरि भएको भान हुन्छ । छिमेकी देश भारत तथा भूटानसमेतका बिभिन्न हिमालहरु तथा यी देशहरुको विभिन्न शहरबजार, पहाड अनि फाँटहरुसमेत यहाँबाट एकै साथ देख्न सकिन्छ । साँझमा देखिने सूर्यास्तको दृष्य, रातको समयमा खुला आकाशमा देखिने तारापुञ्जहरुको लुकामारी, चारैतिर नियाल्न सकिने बत्ती नै बत्तीका शहरहरु प्रकृतिले कुदेका पत्थरहरु अनि हिउँद याममा प्रशस्त मात्रामा पर्ने हिउँ खेल्न समेत पटकपटक बाह्य तथा आन्तरिक पर्यटकहरु सन्दकपुर पुग्ने गरेका छन् । पदयात्रा, साहसिक पर्यटन गर्दै पनि पुग्न सकिने सन्दकपुरमा चाँैरीगोठ, बहुरङ्गी गुराँस, लेकाली भेगमा पाइने जडीबुटीहरु , चराचुरुङ्गी, जीवजन्तुहरु नजिकबाट हेर्न पाइने यो क्षेत्र जैविक विविधताका हिसाबले समेत आकर्षक गन्तव्य बन्दै गएको छ ।


यस्तै, सन्दकपुर पूर्वको प्रसिद्ध माईखोला(जसलाई झापामा पुगेपछि कन्काई पनि भन्ने गरिन्छ) को उद्गमस्थल पनि हो । सूर्योदय हेर्ने स्थानबाट करिब तीनसय मिटर तल माईखोलाको उद्गमस्थल रहेको छ । गाईका चार थुनहरु जस्तै चारवटा ससाना ढुङ्गाहरुबाट थोपाथोपा जसरी पानी झरेर माइखोलाको उत्पति भएको मानिन्छ तर संरक्षणको लागि भन्दै हाल यस ठाउँलाई घेरिएका कारण माइखोला उत्पत्ति जसरी गाईका चारथुनजस्तै देखिने ढुङ्गाबाट भएको छ भनिन्छ, त्यसलाई नियाल्न भने पाइँदैन ।

सन्दकपुर क्षेत्रलाई एक फन्को


इलाम सदरमुकामबाट उत्तर तर्फको ३६ किलोमिटरको दूरीमा पर्यटकीय स्थल सन्दकपुर रहेको छ । जहाँ पुग्नका लागि इलाम बजारबाट बिब्ल्याँटे बजार हुँदै त्यहाँबाट करिब पाँचसय मिटर मेची राजमार्ग हिँडेपछि राजमार्ग छोडेर माइपोखरी सन्दकपुर मार्गको यात्रा शुरु गर्नु पर्ने हुन्छ । त्यहाँबाट कालोपत्रे अनि र कच्चीबाटो हुदै जसबीरे चिया बगान, ढकमक्क फुलेका बहुरङ्गी फूलहरु हेर्दै जाँदा सन्दकपुर गाउँपालिकामा अवस्थित नेपालको प्रसिद्ध धार्मिक, साँस्कृतिक महत्व बोकेको जैविक विविधता युक्त रमणीय स्थल माइपोखरी पुगिन्छ । माइपोखरीको दर्शन गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको पाइन्छ । पौराणीक , धार्मिक ग्रन्थहरुमा समेत उल्लेख भएको यो पवित्र पोखरी नौकुने आकारमा १.८८ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । जुन विश्व रामसार सूचीमा सन् २००८ मा सूचीकृत भइसकेको छ । ठकठके तथा गलैंचे झ्याउका लागि यो स्थान विश्वप्रसिद्ध छ । यसका साथै विभिन्न प्रकारका गुराँस तथा पुतलीको अध्ययनका लागि महत्वपूर्ण यो पोखरी समुद्र सतहबाट करिब दुई हजार एक सय २१ मिटरकोे उचाइमा रहेको छ ।


राजनीतिक अध्येता तथा पर्यटकहरुलाई पुग्नै पर्ने अर्को स्थान माइपोखरीकै समीपमा रहेको देउराली बजारमाथि सात खाल्डे शहीद पार्क हो । यो स्थान बि.सं. २०१८ मा सातजना प्रजातन्त्र सेनानीलाई आफै खाल्डो खन्न लगाएर गोलीहानी मारेर पुरेको स्थान हो । यही देउराली क्षेत्रमा सन्दकपुर गाउँपालिकाको केन्द्र रहेको छ । यस क्षेत्रबाट सन्दकपुर जानका लागि दुई वटा बाटोवाट जान सकिन्छ । छिन्टापु हुदै जाने हो भने पैदल बाटो ठाडो उकालो जानु पर्ने हुन्छ । देउराली बजारबाट करिब पाँचघण्टाको यात्रामा २९ सय ४६ मिटरको उचाइमा रहेको छिन्टापु पुग्न सकिन्छ । छिन्टापु क्षेत्रबाट बिभिन्न हिमश्रृङ्खला, लेकाली वनस्पति, जडिबुटी, बिविध जातका चराचुरुङ्गी, पुतलीहरु, जीवजन्तु, लेकाली जनजीवन , परम्परागत गोठपालन हेर्दै पुग्न सकिन्छ । साथै यस क्षेत्रबाट एक नं. प्रदेशका सबै जिल्लाहरु देख्न सकिन्छ । हिमालमा घाम परेसँगै पोखरीमा विभिन्न रङ्गको छायाँ देख्न सकिन्छ । पुरानो रानीवन रहेको यो क्षेत्रमा जैविक विविधतालाई नजिकबाट अवलोकन गर्दै सुनसान उकालो ठाडो बाटो हुँदै सन्दकपुर पुग्न सकिन्छ ।
यस्तै, अर्को बाटो देउरालीबाट कच्ची मोटर बाटो तय गरी माइमझुवा क्षेत्रमा विभिन्न जातजातिको रहनसहन तथा जीवनयापनको नजिकबाट अध्ययन गर्दै बुधबारे बजार हुँदै खुर्सानेटार पुग्न सकिन्छ । यहाँ दैले ढुङ्गा क्षेत्र, व्यवसायिक लोक्ता तथा किवी खेती गरिने यस क्षेत्रको अर्गानिक खेतीपाती, सागसब्जी स्वादिष्ट मानिन्छ । यस क्षेत्रलाई सन्दपुरयात्राको आधार शिविर मान्न सकिन्छ । यस क्षेत्रको बाटोमा देखिने विभिन्न आकृति र रोचक प्रकतिका भीमकाय ढुङ्गा पत्थरहरु पर्यटकहरुलाई जति हेर्यो त्यति आश्चर्यजनक लाग्दछन् । चैत तथा बैशाख महिनामा गुराँस फुल्ने फाँटहरु तथा विभिन्न प्रजातिका बनस्पति, चराचुरुङ्गी , ठाउँठाउँमा नागीहरु हेर्दै नेपाल भारतको सिमावर्ती क्षेत्र रहेको कालपोखरी पुगिन्छ । जुन समुन्द्र सतहबाट तीन हजार एक सय मिटरको उचाइमा रहेको छ । यहाँ नेपाली भूमिमा लज होटल भएको सानो बजार समेत छ । कालपोखरीबाट विखे भञ्ज्याङ, चौरीखर्क हुँदै चट्टानको पहाड छिचोल्दै प्रकृतिको सुरम्य सौगात सन्दकपुर पुगिन्छ । आफ्नो अनुकुलता अनुसार सन्दकपुर चुलीमा बसेर गएको बाटो भन्दा फरक बाटोबाट फर्किएमा सम्पूर्ण सन्दकपुर क्षेत्रलाई नियाल्न सकिन्छ । जसका लागि कालपोखरीबाट माबुको बाटो तय गर्नुपर्ने हुन्छ । कालपोखरीबाट केही तल झरेपछि करिब दुई सय रोपनी क्षेत्रफलमा फैलिएको गराँसैगुराँसको फाँट बलुवन भेटिन्छ । चैतबैशाखमा विभिन्न रङ्ग र प्रजाति गुराँस ढकमक फूल्ने यो क्षेत्र पुग्दा जोकोहीलाई पनि साँच्चै प्रकृतिको रङ्गभूमि पुगेको आभाष हुन्छ । यही बाटोमा रेडपाण्डा संरक्षित क्षेत्र भेटिन्छ । लालीगुराँस, भालुचिन्डे , मालिगोको घना जंगलमा सैसल खेल्दै विश्वकै दुर्लभ वन्यजन्तु खेलिरहेको पाइन्छ । रेडपाण्डाको अवलोकन गर्न हजारौ स्वदेशी तथा विदेशी पर्यटक, शोधकर्ता तथा विशेषज्ञहरु यस क्षेत्रमा आउने गरेको पाइन्छ । चाँप, कटुस आदि लेकाली जंगल पार गर्दै झर्दा बाटोमै लालबास पोखरी भेटिन्छ । कालोपानी प्रकृतिले जस्तो छोडेको त्यही हालतमा यो पोखरीले संरक्षण खोजिरहेको छ । बिभिन्न पत्थरहरुमा बुद्ध धर्मका मन्त्र खोपिएका लेखोटहरु ठाउँठाउँमा देख्न पाइन्छ । यी सम्पदाहरु कति संरक्षण हुँदैछन् भने कतिपयको संरक्षण हुन सकेको छैन । यहाँ धार्मिक तथा ऐतिहासिक अनुसन्धानयोग्य अटल, अजर अक्षर पाउन सकिन्छ । यसै बाटोमा पर्ने माबुथाम पहाड दुई हजार ६० मिटर उचाइमा पर्दछ । शिवालय मन्दिर, चराचुरुङ्गी पाइने, बालागुरु गुफा माबुथाम नजिकै पर्ने, तपोभूमि, रमितेढुङ्गा आसपासका धेरै क्षेत्र देखिन्छ । रक क्याविडगको लागि यस क्षेत्रमा संभावित क्षेत्रहरु प्रशस्तै ठम्याउन सकिन्छ । डुप्दे छेम्पो नम्ग्यालिङ्ग गुफा माबुमा रहेको लामा उत्पादन पूर्वको गर्ने एकमात्र गुम्बा यही क्षेत्रमा रहेको छ । उगेन तन्गेलिगं गुम्वा, फरक शैलीमा निमार्ण भएको काथोग नमनाङ्ग होसेल छेलिङं गुम्वा, शिवकमलधाम पनि त्यही आसपासमा रहेका छन् । धेरै आन्तरिक पर्यटकहरु पुगिरहने इलाम जिल्लाको सबैभन्दा अग्लो टोड्के झरना यसै क्षेत्रको यात्राबाट पुग्न सकिन्छ । साविक माइमझुवामा गाविसमा पर्ने दुई सय ८० फिट अग्लो यो झरना अत्यन्तै मनमोहक र आकर्षक छ ।
जमुनाको ढापपोखरी पछिल्लो समय पर्यटकहरुको रोजाइको स्थान बन्दै गएको छ । पोखरीमा डुङ्गा सवार गर्न तथा हिन्दु, किरात, बौद्ध मन्दिर, गुम्बाहरु यस क्षेत्रमा पाउन सकिन्छ । यसै क्षेत्रमा पर्ने हाँगेथाम क्षेत्रमा विभिन्न प्रकारका पुतली चरा पाउनाका साथै संसारमै दुर्लभ रेडपाण्डा लगायत धेरै जंगली जनावरहरु पाइने गर्दछ । चोयाटार, जौबारीको आलु विकास क्षेत्र र यस आसपासका फाँटहरु पनि पर्यटहरुका लागि आकर्षक बनेका छन् । यति ठाउँहरु घुमेर माइखोलामा संचालित हाइडो पावरको पनि अवलोकन गर्दै सुलुबुङ क्षेत्रमा रहेका किबी जोन अन्तर्गत रहेको व्यवसाहिक किवीखेती , अलैँचीखेती, बृहत पशुपालन आदिमा रमाउदै ब्राह्मण, क्षेत्री, राई, लिम्बू, तामाङ, गुरुङ, शेर्पा, लेप्चा लगायतका जातजातिका धर्म, संस्कार, संस्कृति, भाषा भेषभूषालाई नजिक बाट नियाल्दै इलाम सदरमुकाम फिर्नु पर्ने हुन्छ ।
अनि सुनाउनु हुनेछ तपार्इँ लेकभरि फुलेका चाँप अनि गुराँसका थुँगाहरु तपाईंकै स्वागतमा फुलेका छन् । खोलानाला झरना तपाईंकै स्वागत गान गाइरहेका छन् । अलैंचीको पहाड, संस्कारका घडाहरु, पूर्वको स्वर्ग, प्रकृतिहरुको रङ्गभूमी, सूर्योदयको डाँडा ,मठमन्दिर र गुम्वाहरु आज तपाईंलाई भेट्न आतुर छन् । यहाँका ढुगाढुगामा लेखिएका बुद्ध बाणि अनि थुम्का थुम्कावाट देखिने रमणिय दृष्यले सबैलाई भन्न मन लाग्छ जहाँ ढुगा ढुगामा देवताको वास छ जहाँ थुम्काथुम्कामा पर्यटनको आश छ आहा कति राम्रो भर्जिन ल्याण्ड अर्थात पवित्र भूमि सन्दकपुर ,जो तपाँइलाई पर्खि रहेको छ ।

Leave a Reply

Your email address will not be published.