काबेलीदेखि माझीटारसम्म जलयात्रा

Special News Trending पर्यटन


ताप्लेजुङ: पाँचथर र ताप्लेजुङलाई जोड्ने काबेलीखोलादेखि लिम्बुनीपुल, पिनासी र नक्कले घाट हुँदै माझीटारसम्मको २५ किलोमिटर दूरीमा व्यावसायिक जलयात्रा सञ्चालनमा आएको छ ।

पाँचथरस्थित तमोर भ्याली ट्राभल्स टुर एन्ड ट्रेकिङले र्‍याफ्टिङ सञ्चालन गर्न थालेको हो । गत वर्ष पाँचथरको पिनासीबाट माझीटारसम्म १२ किलोमिटर क्षेत्रमा जलयात्राका लागि अनुमति लिएर काम थालेको उक्त कम्पनीले यो वर्ष सेवा विस्तार गर्दै काबेलीदेखि माझीटारसम्मको जलयात्रा सुरु गरेको हो ।
जलयात्राका लागि नयाँ गन्तव्यका रूपमा लिइएको उक्त क्षेत्रमा आइतबार पहिलो १० जनाको टोलीले सफलतापूर्वक यात्रा पूरा गरेसँगै सोमबारदेखि व्यावसायिक रूपमा जलयात्रा सुरु गराइएको ट्राभल्सका सञ्चालक दीपेन्द्र तुम्बापोले बताए । र्‍याफ्टिङका लागि सदरमुकाम फिदिमस्थित तमोरभ्याली गेस्टहाउसलाई ‘मिट पोइन्ट’ मानिएको छ । आठ जनाको समूह बनाएर तमोर भ्याली गेस्टहाउसदेखि हिलिहाङ गाउँपालिकास्थित काबेली नदीसम्म लगेर र्‍याफ्टिङ सुरुवात गराइन्छ ।
२५ किलोमिटर दूरीको र्‍याफ्टिङका लागि टिकट बुकिङ गर्नेलाई बिहानको खानासहित दिउँसो र साँझ दुईपटक नास्ताको व्यवस्था संस्थाले गर्ने जनाइएको छ । र्‍याफ्टिङका लागि प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ ।
दुई वर्षअघि प्रक्रिया सुरु गरी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयवाट स्वीकृति लिएको ट्राभल्सले २२ लाख रुपैयाँ लगानी गरी १६ फुट लम्बाइका २ वटा बोट खरिद गरेको छ ।
२५ किलोमिटरको जलयात्रा गर्न साढे ३ घण्टा लाग्ने गरेको छ । नेपाल ‍र्‍याफ्टिङ एसोसिएसनका पूर्वअध्यक्ष गोपाल खरेलका अनुसार तमोर नदीमा ताप्लेजुङको दोभनदेखि सुनसरीको चतरासम्म सन् १९९७ सालमा सर्वे भएको थियो । तमोर नदीमा कहिलेकाहीं विदेशी पर्यटकले जलयात्रा गर्दै आए पनि व्यावसायिक रूपमा सञ्चालनमा ल्याइएको भने यो पहिलो पटक हो ।
अहिलेलाई दुईवटा बोटबाट सुरु गरिएको जलयात्रा केही समयपछि संख्या थप गर्ने तयारी भइरहेको तुम्बापोले जनाए । यस क्षेत्रमा जलयात्रा सुरु भएपछि विराटनगर र धरानसहित तराईका विभिन्न क्षेत्रबाट ताप्लेजुङस्थित विश्वको तेस्रो हिमाल रहेको कञ्चनजंघा बेसक्याम्प र पाथिभरा देवीको दर्शन गर्न आउने तीर्थयात्रीले जलमार्ग हुँदै सप्तकोसीसम्म पुगेर यात्रा छोट्याउन सक्ने जनाइएको छ । इकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published.