सिमानाका सिपाही !

सिमानाका सिपाही !


पर्वत पोर्तेल:मेचीपारि, झापा: —

भद्रपुर–३ डोलोवस्तीका ७० वर्षीय श्रीप्रसाद महतोले भारतले नेपालीको पश्चिमी भुभाग कालापानी आफ्नो बनाएको समाचार रेडियोबाट थाहा पाए । त्यो सुनेपछि उनी रातमा मज्जाले निधाउन सकेका छैनन् । वर्षौंदेखि आफूहरु बस्दै आएको जमीन पनि भारतले कब्जा गर्ने पो हो कि १ भन्ने त्रासले उनको मनमा डेरा जमाएको छ ।

भारतले साविकमा मेची नदी बग्ने जमीनमा राखेको सीमा स्तम्भ देखाउँदै स्थानीय अगुवा श्रीप्रसाद महतो । विगतमा यो जमीनबाट करिव दुई किलोमिटर पूर्वसम्म नेपाली जमीन थियो । तर, कालान्तरमा भारतले अतिक्रमण गर्दै आएको पाइएको छ । तस्बिर स् पर्वतरकान्तिपुर

‘भारतले राति नै पिलर सारेर हामीलाई लखेट्ने हो कि भन्ने डर भइरहेको छ,’ भद्रपुर नगरमा मेचीपारिको गाउँ पुग्दा कान्तिपुरसँग उनले शंका व्यक्त गरे, ‘कालापानी कब्जा गर्नेले हाम्रो गाउँ पनि मिच्न के बेर !तर, कुनै हालतमा पनि भारतलाई जमीन मिच्न नदिने उनले अठोट सुनाए।

भद्रपुर–३ मा पर्ने यो गाउँको पूर्वबाट मेची नदी बग्थ्यो, २०२० सालताका। नदीभन्दा झन्डै दुई किलोमिटर परै थियो, नेपाल–भारत छुट्याउने सीमा स्तम्भ। पहिला नेपालको यो भूमीमा अहिले बिहार किसनगंज जिल्लाको नेमगुडी गाउँ छ।

२२ सालपछि नदीले धार फेरेर पश्चिमबाट वग्न थालेपछि भारतले साविकको सिमाना मिचेको थियो। ‘हामी बलियो भएर नबसेको भए हाम्रो गाउँ पनि उहिल्यै भारतले लगिसक्थ्यो,’ भद्रपुर–३ डोलोवस्तीका ७० वर्षीय श्रीप्रसाद महतो आत्मविश्वासका साथ भन्छन्, ‘हामी सिमानामा सिपाही भएर बसेका छौं, भारतले छुन पनि सक्दैन।’

महतोका अनुसार यो गाउँमा ५० वर्ष भन्दा अघिदेखि नेपाली बसोबास गरिरहेका छन्। जसका कारण भारतले अतिक्रमण गरिहाल्ने साहस गरेको छैन। ‘हामी बसेका छौं र भारतले अतिक्रमण गर्ने आँट गरेको छैन,’ महतो भन्छन्। गाउँ नभएको भए भारतले मेची नदीलाई मुख्य सिमाना मानेर जमीन कब्जा गर्ने उनको दाबी छ। महतोका अनुसार डोलोवस्ती, भाङवारी र डाँडागाउँ छाडेर आसपास विस्तारै भारतले अतिक्रमण गरिरहेको छ। डोलोगाउँ उत्तर पश्चिमको सिमाना त भारतले नदीमा कायम गरिसकेको छ।

मेचीपारिको यो गाउँ अलग प्रान्त जस्तो लाग्छ। त्यही भएर सरकारी अनुपस्थितिको फाइदा उठाउँदै विस्तारै भारतले अतिक्रमण गरिरहेको स्थानीय उमेश कुर्मी बताउँछन्। पहिला यहाँका गाउँलेले भाग्दै आएको जमीन भारतीयले जोतभोग गरिरहेका छन्। उनका अनुसार यो गाउँको करिव सय बिगाहा जमीन अहिले भारतीय भूमिमा परेको छ।

विगतमा नेपाली रहेका केही परिवार अतिक्रमणपछि भारतीय बनेका छन्। २०४२ सालको नापीबाट भारतीय भूमिमा जमीन परेका परिवारका सदस्य सम मुर्मुले थाहा पाउँदासम्म उनको घर अघिल्तिर सीमा स्तम्भ थिएन। तर, अहिले उनको आँगनमै स्तम्भ उभिएको छ। ‘मैले थाहा पाउँदासम्म यहाँ पिलर नै थिएन,’ मुर्मुले भने, ‘पहिलाको नेपाली गाउँ रातारात भारत बनेछ।’

स्थानीय लक्ष्मण महतोका अनुसार द्वन्द्वकालमा प्रहरी चौकी विस्थापित भएको मौका छोपेर भारतले यहाँ पुनः अतिक्रमण गरेको थियो। अहिले पनि जमीन मिच्ने क्रम रोकिएको छैन। ‘हामीले बेला बेला विरोध गरेपछि भने अतिक्रमण कम भएको छ,’ उनले भने, ‘आवाज नउठाउने हो भने कतिबेला भूमि भारतले लैजान्छ पत्तै नहुने रहेछ।’

सिमानामा सिपाही जस्तो पहरा दिएर बसेका यो गाउँका सर्वसाधारण सधैं उपेक्षित बन्ने गरेका छन्। राजनीतिक दलले खासै चासो र चिन्ता नदिएको स्थानीयको आरोप छ। स्थानीयवासीका अनुसार भोटका बेला बाहेक नेता तथा राजनीतिक दलका मान्छेहरु हत्तपत्त मेचीपारि आइपुग्दैनन््। ‘भोट माग्ने बेलामा चै नेताहरुको लश्करै लाग्छ,’ स्थानीय लेकेरु राजवंशीको आक्रोस छ, ‘नत्र अरुबेला कोही पनि आउँदैनन्।’

करिव १ सय ५५ घर धुरी रहेको यो गाउँमा राजवंशी, सन्थाल र कुर्मी समुदायको बसोबास छ। स्थानीयको मुख्य पेशा खेती किसानी हो। यहाँ यातायातको असुविधा छ। किनमेल गर्न नेपाल भन्दा भारत पुग्नै सहज छ। सरकारी कामकाजका लागि नगरपालिका पुग्न भारतीय बाटो प्रयोग गर्नुको विकल्प छैन। ‘बल्ल झोलुंगे पुल बन्दैछ,’ एक स्थानीयवासीले भने, ‘पुल बनेपछि वल्ल आवातजावतको समस्याबाट छुट्कारा मिल्ने छ।’ इकान्तिपुर डटकमबाट