-सालको अन्तिम दिन-

-सालको अन्तिम दिन-

बिमल बैद्य,इलाम


डिसेम्बरको अन्तिम रात
चिसोले धावा बोलिरहेको समय
म भित्ते घडीको काँटा हेर्दै
आउने नयाँ सालको स्वागतार्थ
उभिएको छु,
नुहेका छन् शीतले फुलहरू
आँगनको फुलबारीमा,
चिप्लिदै गरेको समय
तुलसी मठको छेउमा आएर
समाधिस्त बनेकोछ,
तुषारो पोतिएको
अघिल्तिरको डाँडा छिचोल्दै
आउदै होलिन् उनी पनि
हातमा बुके बोकेर
नयाँ समयलाई आँगनमा खसाल्न ।

मेरा व्यग्र आँखाहरू धारिला बनेका छन्
बिदा हुन लागेको
अन्तिम रातको चिसोमा
साटासाट गर्नु छ दुई आँखाका नानीहरू
र छल्काउनु छ प्रेमको नीलो पानी
भिजेर समयको छालमा
छोड्नु छ
भोलि आउने नयाँ सालकालागि
न्यानो आगत
जहाँ प्रेमले उस्तै उत्सवमा मनाओस्
हिजो जस्तै,
नयाँ साल भन्नु
विगतलाई बिर्सनु पनि हो भने
यो डिसेम्बरको अन्तिम रात
बाटाका अवरोधहरू नाघ्दै आउ
र यो चिसो जूनलाई न्यानो बनाउन
सम्मिलनको धूनी बालौ
त्यही आगोको रापमा
म तिमीलाई देख्न सकु
तिमी मलाई नियालिरहनु।