इलामका संचार संस्थालाई प्रेस संगठनद्धारा स्वास्थ्य सामग्री वितरण

इलामका संचार संस्थालाई प्रेस संगठनद्धारा स्वास्थ्य सामग्री वितरण

इलाम । प्रेस संगठन इलामले जिल्लाका संचारमाध्यमहरुलाई कोरोनाको महामारीबाट बच्न लागि स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

कृष्ण सेन इच्छुकको १८ औ स्मृति दिवसको अवसर पारेर संगठनले मास्क, सेनिटाइजर लगायतको सामाग्री प्रदान गरेको हो । जिल्ला समन्वय समितिको समिक्षालयमा सामाजिक दुरी कायम गरेर सामाग्री हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो ।

संगठनका संयोजक सुजन तिमसिनाको अध्यक्षता र जिल्ला समन्वय समिति प्रमुख गणेश बरालको प्रमुख आतिथ्यतामा सामाग्रीहरु प्रदान गरिएको हो । संगठनले इलाम सदरमुकाम क्षेत्रमा रहेका नेपालवाणी एफएम, इलाम एफएम, चियाबारी एफएम, इलाम पोष्ट दैनिक, इलाम एक्सप्रेस दैनिक, नयाँ बुलन्द अनलाइन, निगरानी डटकम अनलाइन, इलाम ग्रीन अनलाइन, माइपोखरी न्युज अनलाइन, सन्दकपुर अनलाइन, सरलपाटी अनलाइन तथा माङसेवुङ गाउँपालिकामा रहेको माङ्सेबुङ एफएमलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष सोम सुसेली, जिल्ला अध्यक्ष कोकिला ढकाल, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचार विभाग प्रमुख नवराज शंकर, नेकपा जिल्ला सचिवालय सदस्य जिवन शर्माको आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम अतिथिहरुले संचारमाध्यमका प्रमुख तथा प्रतिनिधिहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले समाजको ऐनाको रुपमा रहेको पत्रकारिता जगत कोरोनाको उच्च जोखिममा रहेकोले भिटिएम किट जिल्लामा आएपछि पिसीआर परिक्षणका गराइने बताए । उनले कोरोनाको कहर अझै ५÷७ महिनासम्म जान सक्ने संभावना देखिएकाले कृषि क्षेत्रलाई प्रर्वद्धन गर्नका लागि संचारकर्मी कलम चल्नुपर्ने बताए । बरालले कृष्ण सेनले पत्रकारिता जगतमा पु¥याएको योगदान उच्च रहेको बताउँदै प्रेस संगठनको कार्यको प्रशंसा समेत गरे ।

कार्यक्रमका अतिथि नेकपा प्रचार विभाग प्रमुख नवराज शंकरले फ्रन्टलाइनमा खटिएर सुचना सम्प्रेषणमा खटिने पत्रकारहरुको लागि जिल्ला संकट व्यवस्थापन केन्द्रले स्वास्थ्य सामाग्रीका साथै कोरोनाको परिक्षणको व्यवस्था मिलाउन आग्रह गरे । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ प्रदेश समितिका उपाध्यक्ष सोम सुसेलीले इलाममा कार्यरत ५० जना पत्रकारहरुको बिमाको लागि पहल भइरहेको बताए ।

उनले पत्रकार महासंघ मार्फत जिल्लामा रहेका मिडियाहरुसँगको समन्वयमा क्रियाशिल पत्रकारहरुको हितका लागि बिमा प्रभावकारी हुनेमा विश्वास रहेको बताए । उनले जिल्लाका रेडियो, अनलाइन, पत्रपत्रिका तथा राष्ट्रिय मिडियामा कार्यरत पत्रकारहरु बिमाको लागि योग्य रहेको बताए । कृष्ण सेनलाई सम्झदै सुसेलीले उनी निडर र तत्कालिन सरकारको गलत कदमका विरुद्धमा लड्ने साहसी पत्रकार रहेको बताए ।

पत्रकार महासंघ इलाम शाखाकी अध्यक्ष कोकिला ढकालले इलामका क्रियाशिल पत्रकारहरुको पिसिआर टेस्टका लागि स्वास्थ्य कार्यालयसँग समन्वय भइरहेको बताइन् । उनले प्रेस संगठन लगायत कोरोना सम्वन्धी स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्ने इलाम नगरपालिका–७ र फिक्कल खानेपानीलाई धन्यावाद समेत ज्ञापन गरिन् ।