विदेशबाट उद्धार गर्ने तालिका सार्वजनिक, कुन देशका नेपाली कहिले आउँदैछन् ?

Breaking News Hot News Mukya Samachar Special News Trending अन्तर्राष्ट्रिय प्रदेश नं. १ प्रवास सूचना प्रविधि

काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउन गरिएपछि विदेशमा समस्यामा परेका नेपालीहरुलाई सरकारले धमाधम उद्धार कार्य सुरु गरेको छ ।

विदेशका नेपालीहरुलाई राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी जहाजहरुले उद्धार गर्नेछन् । नेपाल एयरलाइन्सका वाइडबडी र न्यारोबडी दुवै जहाज तथा हिमालय एयरलाइन्सको न्यारो बडी जहाज नेपालीहरुको उद्धारमा परिचालित छन् ।

बिहीबार कुवेतबाट फ्लाइटबाट करिब ३ सय महिला श्रमिक फर्किंदै छन् । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका महिलालाई कुवेतले काठमाडौं ल्याइदिन लागेको हो । कुवेतबाट दुईवटा जहाजमा नेपालीहरु काठमाडौं आइपुग्दैछन् । एउटा फ्लाइट साढे ११ बजे र अर्को फ्लाइट दुई बजेतिर काठमाडौं आउने छ ।

पर्यटन मन्त्रालयले सार्वजनिक गरेको उडान तालिका अनुसार तत्कालका लागि नेपाल एयरलाइन्सको २४ र हिमालय एयरलाइन्सको १९ उडान हुनेछन् । साथै २४ वटासम्म विदेशी उडान पनि हुने तालिकामा उल्लेख छ ।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले अनलाइनखबरसँग भने, ‘यी सबै उडान हुँदा करिब ११–१२ हजार नेपालीहरु आउँछन् । यी उडान गरिसकेपछि स्थितिको थप विश्लेषण गरी आवश्यक निर्णय हुन्छ ।’

उनले थपे, ‘यो तालिकाबाट के बुझ्नुपर्छ भने विदेशमा अलपत्र परेका नेपालीहरुलाई सरकारले धमाधम उद्धार गर्दै छ ।’

यस्तो छ उडान तालिका

बंगलादेशको ढाकाबाट जुन १४ तारिखमा दुई वटा फ्लाइट छन् । यी दुवै फ्लाइट विदेशी विमान कम्पनीका हुनेछन् ।

यस्तै जुन १५ तारिखमा नेपाल एयरलाइन्सले माले र क्वालालम्पुरबाट नेपालीहरुलाई ल्याउने छ । सोही दिन हिमालय एयरलाइन्सले साउदी अरब र सिंगापुरका नेपालीहरुलाई ल्याउने छ ।

जुन १६ मा युएई र कतारबाट नेपाल एयरलाइन्सले तथा कुवेत, र श्रीलंका र मालेबाट हिमालय एयरलाइन्सले नेपालीहरुलाई स्वदेश ल्याउने छ ।

जुन १७ मा अष्ट्रेलिया, बैंकक र बहराइनबाट नेपाल एयरलाइन्सको उडान हुने छ भने हिमालय एयरलाइन्सले बंगलादेश र कतारबाट उडान भर्ने छ । जुन १७ मै अमेरिकाबाट एक विदेशी एयरलाइन्सको पनि उडान हुने पर्यटन मन्त्रालयलले सार्वजनिक गरेको उडान तालिकामा उल्लेख छ ।

जुन १८ मा नेपाल एयरलाइन्सले साउदी र युएईका नेपालीहरुलाई काठमाडौं ल्याउने छ । सो दिन हिमालय एयरलाइन्सले क्वाललम्पुर र मस्कटबाट उडान भर्ने छन् ।

यस्तै जुन १९ मा जापान र कुवेतबाट नेपाल एयरलाइन्सले तथा साउदी र नाइजेरीबाट हिमालय एयरलाइन्सले उडान गर्ने छन् ।

उडान तालिका अनुसार २० जुनमा साइप्रस, क्वालालम्पुर र कतारबाट नेपाल एयरलाइन्सका तीन उडान हुने छन् । सोही दिन हिमालय एयरलाइनसले युएई र बंगलादेशबाट नेपालीहरुलाई ल्याउने छ । २० जुनमै ईयूको एउटा फ्लाइट हुने पर्यटन मन्त्रालयको तालिकामा उल्लेख छ ।

यस्तै २१ जुनमा दक्षिण कोरिया र मस्कट ९ओमान०बाट नेपाल एयरलाइन्सले नेपालीहरुको उद्धार गर्ने छ । कुवेत र क्वालालम्पुरबाट हिमालय एयरलाइन्सले जहाजको उडान हुने छ ।

२२ जुनमा अष्ट्रेलिया र बैंककबाट नेपाल एयरलाइन्सको तथा पाकिस्तान र कतारबाट हिमालय एयरलाइन्सको उडान हुने छ ।

२३ जुनमा जापानको नारिता र मालेबाट नेपाल एयरलाइन्सको तथा युएई र युगान्डाबाट हिमालय एयरलाइन्सको उडान हुने तालिकामा उल्लेख छ ।

२४ जुनमा नेपाल एयरलाइन्सको मात्र फ्लाइट छ । सो दिन नेपाल एयरलाइन्सले साउदी र कुवेतका नेपालीहरुलाई उद्धार गर्ने छ ।

२५ जुनमा नेपाल एयरलाइन्सको वाइड बडीले जापानका नेपालीलाई उद्धार गर्दा हिमालय एयरलाइन्सले साइप्रस÷इजरायलबाट उडान गर्ने छ ।

यी उडान तालिका यात्रुको उपलब्धताको आधारमा परिवर्तन पनि हुन सक्ने पर्यटन मन्त्रालयले जनाएको छ । साथै ८५ प्रतिशत यात्रु भएमात्र उडान हुने पनि मन्त्रालयले जनाएको छ । यात्रुहरुले पीसीआर वा आरडीटी नेगेटिभ रिपोर्टको प्रमाणपत्र पेश गर्नुपर्ने छ ।

विदेशबाट उद्धार गरिने नेपालीहरुलाई होटल क्वारेन्टिनमा राख्ने सरकारको नीति छ । क्वारेन्टिनको रूपमा प्रयोग गर्ने होटलहरुको सूची सरकारले यसअघि नै सार्वजनिक गरिसकेको छ ।अनलाईन खबरबाट

Leave a Reply

Your email address will not be published.