इलामका युवाले बनाए कोरोना अस्पतालमा प्रयोग गर्ने रोबोट

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १ प्रमोसन सूचना प्रविधि स्वास्थ्य/शिक्षा

मंगलबारे(इलाम): इलामका युवाहरुले यन्त्र (रोबोट) निर्माण गरेका छन् । पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी सो यन्त्रको निर्माण गरेका हुन् । निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत गरिएको छ ।

कोरोनाका कारण बिरामीलाई औषधि दिन चिकित्सक तथा नर्सहरु डराइरहेको अवस्थामा रोबोटले नै औषधि पुर्याउन सहयोग गर्ने रोबोट निर्माण गर्नेमध्येका एक युवा नवीन फुयाँलले जानकारी दिनुभयो । उहाँका अनुसार करिब डेढ महिना लगाएर निर्माण गरिएको रोबोट अस्पतालमा नै प्रयोग गरिनेछ ।

कोरोना विशेष अस्पताल र आइसोलेसनमा प्रयोग गर्नकै लागि रोबोटको निर्माण गरिएको हो । रिमोट कन्ट्रोलको माध्यमबाट कुन शय्यामा कुन औषधि लैजाने, कति पटक औषधि सेवन गरेको भन्नेलगायतको जानकारी सोही रोबोटमार्फत प्राप्त हुने उहाँले बताउनुभयो । सिसी क्यामेरा प्रयोग गरिएकाले पनि रोबोटबाट धेरै कुराको जानकारी लिन सकिने बताइएको छ ।

इलामका फुयाँल, सुलभ सुवेदी, रिकेश भट्टराई, पवन चापागाईं र अभिनेश सुवेदीले सो रोबोटको निर्माण गर्नुभएको हो । फरकफरक विषयमा काठमाडौँमा अध्ययन गर्ने उहाँहरुले काठमाडौँमा समेत विभिन्न क्रयाकलापको प्रदर्शन गरेको बताइएको छ ।

रोबोटको प्रयोगले चिकित्सक र नर्सहरुले धेरै पटक बिरामीलाई नियाल्न आवश्यक नरहेकाले अन्य काम गर्ने समयको समेत बचत हुने बताइएको छ । रिमोट कन्ट्रोलको माध्यमबाट मानिसको आवाज सहजै रोबोटले सुन्ने र काम गर्ने जनाइएको छ । साथै रोबोटबाट आवाज पनि आउने भएकाले बिरामीले समेत सहजै रोबोटलाई प्रयोग गर्नसक्ने जनाइएको छ ।

रोबोट निर्माणको शुरुआती अवस्थामा नै भएकाले करिब रु एक लाख १० हजार खर्च भएको छ । रोबोट निर्माणका लागि इलामका समाजसेवी डम्बर खड्काले उक्त रकम सहयोग गर्नुभएको उहाँहरुले बताउनुभयो । युवाहरुको जोस र जाँगरमा हौसला प्रदान गर्न आफुले सहयोग गरेको समाजसेवी खड्काले बताउनुभयो । राससबाट

Leave a Reply

Your email address will not be published.