आशिष स्मृति पत्रकारिता पुरस्कार गणेश र सुमनलाई

  • 80
    Shares
आशिष स्मृति पत्रकारिता पुरस्कार गणेश र सुमनलाई

इलाम: ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ इलामका पत्रकार सुमन लावतीले पाउने भएका छन् । साविक मेचीका ४ जिल्लालाई कार्यक्षेत्र बनाएर क्रियाशील पत्रकारलाई प्रदान गर्नेगरी इलामका पत्रकारहरुले स्थापना गरेको पुरस्कार २०७८ सालको लावतीले पाउने भएका हुन ।  
पत्रकारीतामा क्रियाशिल रहेका पत्रकार मध्ये हरेक वर्ष प्रदान गरिने १० हजार राशिको उक्त पुरस्कार  माङसेबुङबाट प्रशारण भइरहेको रेडियो माङेबुङका स्टेशन प्रमुख लाउतिले पाउने भएका हुन ।  त्यस्तै यसअघि स्थगित २०७७ सालको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ इलामकै पत्रकार गणेश घिमिरेले पाउनेछन् ।
यसअघिको कार्यसमितिले गत १० माघको साधारणसभामा नै वितरण गर्ने निर्णय गरेपनि अन्तिम समयमा स्थगित गरेपनि सोही निर्णय बमोजिम नयाँ वर्षमा नै घिमिरेलाई पनि पुरस्कार वितरण गर्ने महासंघले निर्णय गरेको हो ।   अघिल्लो नयाँ वर्षमा कोरोना भाइरस (कोभिड १९) का कारण सो पुरस्कार वितरण गरिएको थिएन । 
रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता आशिष राईको २०५९ साल नयाँ वर्षको दिन इलामको माइखोलामा पौडी खेल्ने क्रममा  निधन भएको थियो । सन्दकपुर गाउँपालिकाको सुलुबुङ्गमा जन्मेका राईको मृत्युपछि इलामका सक्रिय पत्रकारहरुले ‘आषिश स्मृति पत्रकारिता पुरस्कार’ कोष स्थापना गरी एक क्रियाशील पत्रकारलाई पुरस्कृत गरिँदै आएको छ । युवा पत्रकार स्वर्गीय आशिष राईको स्मृतिमा २०६० सालमा पुरस्कार कोष स्थापना गरिएको थियो ।
सो पुरस्कारबाट यसअघि इलामका पत्रकार बेनुप भट्टराई, राजु शिवा, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, भीम चापागाईं, नमीन ढकाल, पाँचथरका गणेश साङ्पाङ्ग, झापाका मोहन काजी, रमेश समदर्शी, ताप्लेजुङ्गका आनन्द गौतम, सीता निरौला, चन्द्र पन्दाक पुरस्कृत भईसकेका छन् ।