सबै कर्मचारी कोरोना संक्रमित भएपछि फिक्कलबाट संचालित बुद्धबाणी एफ.एम.को प्रसारण बन्द

  • 47
    Shares
सबै कर्मचारी कोरोना संक्रमित भएपछि फिक्कलबाट संचालित बुद्धबाणी एफ.एम.को प्रसारण बन्द

फिक्कल: सूर्योदय नगरपालिका १० फिक्कलबाट संचालित बुद्धबाणी एफ.एम.का सबै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पछि अनिश्चत कालाका लागि एफ.एम.को प्रसारण बन्द भएको छ ।
आईतबार एन्टीजेन परीक्षण गर्दा एफ.एम.का समाचार प्रमुख मनोज अधिकारी , समाचार वाचक बिवेक घिमिरे र प्राविधिक रविन गुरुङको पोजेटिभ रिर्पोट आएपछि एफ.एम.को प्रसारण अनिश्चित कालका लागि बन्द गरिएको हो ।
यस अघि एफ.एम.का प्रवन्ध निर्देशक दिनेश महत समेत संक्रमित भई होम आईसोलोसनमा बस्दै आउनु भएको छ । रेडियोले आईतबार बिज्ञप्ती प्रकाशित गरी सबै कर्मचारीमा संक्रमण पुष्टि भए पछि बाध्य भएर प्रसारण बन्द गर्नु परेको जनाएको छ । प्रवन्ध निर्देशक महतको भने स्वास्थ्यमा सुधार भई सकेको छ ।
यसै बिच नेपाल पत्रकार महासंघ इलाम शाखाले एक बिज्ञप्ती प्रकाशित गर्दे कोरोनाका कारण एफ.एम. बन्द भएको प्रति दुःख ब्यक्त गरेको छ । शाखा अध्यक्ष बिप्लव भट्टराई र सचिव भीम चापागाईद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा रेडियोको प्रसारण बन्द हुँदा नागरिकमा सूचना पाउने अधिकारबाट बञ्चित हुनु परेको जनाईएको छ ।
अध्यक्ष भट्टराईले कोरोनाका कारण संचार क्षेत्र आर्थिक रुपमा आक्रान्त भएको बेला एफ.एम.को प्रसारण बन्द हुँदा झनै असहज वातावरण बनेको बताउनु भयो । उहाले कोरोनाका कारण जिल्लाका एफ.एम. रेडियो, दैनिक तथा साप्ताहिक पत्रिका र अनलाईन समेत आक्रान्त्र बनेको बताउनु भयो । अध्यक्ष भट्टराईले भन्नु भयो ‘फ्रन्टलाईनमा रहेर नागरिकलाई सुसुचित गर्ने संचारकर्मीलाई तत्काल समबन्धित पक्षले खोपको ब्यवस्था गर्नु पर्छ ।’
जिल्लामा हाल सम्म १२ जना संचारकर्मी संक्रमित भएकोमा ८ जना निको भैसकेका छन छन् । शाखाले संक्रमित भएका संचारकर्मीलाई घरमै गएर आयुर्वेदिक औषधी, पोसीलो खाद्यान्न, माक्स , सेनिटाईजर जस्ता स्वास्थ्य सामग्री उपलब्ध गराउदै आएको छ ।