इलामको सीमा क्षेत्रमा सुरक्षा बलियो बन्दै

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ प्रमोसन सूचना प्रविधि

प्रेम अधिकारी पशुपतिनगर(इलाम)

इलाम जिल्लाको नेपाल–भारतको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएपछि सीमा क्षेत्रमा सुरक्षा ब्यवस्था मजबुत बन्दै गएको छ । नेपाल भारत सीमा क्षेत्रको ५२ दशमलब ५ किलोमिटर इलाम खण्डका सात स्थानमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरी आफना गतिविधि अगाडी बढाईएपछि सीमा क्षेत्रका नेपाली नागरिकले सुरक्षाको प्रत्याभुती गर्न थालेका हुँन ।
इलामको रोङ गाउँपालिकाको मेची किनार देखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडा सम्मको नेपाल–भारत सीमानाको ५२ दशमलब ५ किलोमिटरमा शसस्त्र प्रहरीले करिव ७÷७ किलोमिटरको दुरीमा बीओपी स्थापना गरेको छ ।
झापा संग सीमाना जोडिएको इलामको रोङ गाउँपालिकाको सलकपुर , सूर्योदय नगरपालिकाको समालबुङ ,छब्बीसे,पशुपतिनगर,मानेभञ्ज्याङ, माईजोगमाई र सन्दकपुर गाउँपालिकाको सीमावर्ती जौबारी र सन्दकपुर गाउँपालिकाको कालपोखरीमा बीओपी स्थापना गरी सशस्त्र प्रहरी बस्न थालेपछि सीमा क्षेत्रका नागरिकले सुरक्षाको अनुभुती गर्न थालेको रोङ गाउँपालिका वडा नम्बर ६ सलकपुरका वडाध्यक्ष मनिकुमार स्याङबोले बताउनु भयो । वडाध्यक्ष स्याङबोले सलकपुरमा बीओपी स्थापना भएपछि मेची खोलाबाट हुँने ढुंगा, बालुवा चोरी निकासीमा कमी आएको बताउनु भयो । शसस्त्र प्रहरी बस्नु अघि उक्त क्षेत्रबाट नदिजन्य बस्तु , काठको तस्करी हुँने गरेको थियो । उक्त क्षेत्रका नागरिकले शसस्त्र प्रहरीका कारण आफुहरुले सुरक्षा महसुस गर्न थालेको बताउदै आएका छन् ।

सीमा क्षेत्रमा प्रत्येक तीन÷तीन किलोमिटरको दुरीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) बिगत देखि नै बस्दै आएकोमा नेपाल तर्फ पनि सशस्त्र प्रहरी बस्न थालेपछि अहिले प्रत्येक बीओपीले हरेक तीन÷तीन दिनको फरकमा एसएसबी संग मिलेर सीमा क्षेत्रमा संयुक्त गस्ती गर्दै आएका छन् । बीओपीले हरेक दिन सीमानामा निगरानी गर्ने गरेका छन् ।


मानेभञ्ज्याङका गोपाल अधिकारीले सशस्त्र प्रहरीको उपस्थितिले सीमानामै बस्ने नेपालीको मनोबल उच्च बनाएको बताउनु भयो । उहाले भन्नु भयो‘अव सीमानामा कुनै समस्या परिहाले शसस्त्र प्रहरी साथमा छ भन्ने कुरामा नेपाली ढुक्क छन्।’ सशस्त्र बस्नु अघि , हिले , पुल खोला , छब्बीसे , पशुपतिनगर र सन्दकपुरमा सीमा बिवाद समेत हुँदै आएको थियो । सीमानामा रहेका नेपालीले आफनै भूमीमा संरचाना निर्माण गर्दा पनि एसएसबीले रोक्ने गरेको थियो । सन्दकपुरका होटल ब्यवसायी रिन्जी शेर्पाले सुरक्षा निकायको उपस्थितिले ब्यवसायीलाई सहज भएको जानकारी दिनु भयो । उहाले सीमानामा एकपक्षीय कब्जा जमाएको एसएसबीका कारण बिगतमा धेरै दुःख पाएपनि त्यो क्रम अहिले रोकीएको बताउनु भयो ।
अहिले छिटफुट बिवाद भईहाले पनि दुबै तर्फका सुरक्षाकर्मी बसेर मिलाउने गरिएको छ । सीमा स्तम्भको समेत शसस्त्र प्रहरीले नियमित निगरानी राख्ने गरेको छ । शसस्त्र प्रहरीले भारतीय सीमा सुरक्षा बल एसएसबी संग समेत सम्बन्ध सुधारका काम गर्दै आएको इलामका प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले जानकारी दिनु भयो । उहाले दुबै देशका सुरक्षा निकायले सीमा सुरक्षा, अवैध गतिबिधि नियन्त्रण संयुक्त रुपमा समन्वय गरेर काम गर्ने गरेको जानकारी दिनु भयो । प्रजिअ खड्काले भन्नु भयो ‘ हामी हाम्रो भूमी र सीमावर्ती नागरिकको सुरक्षामा निक्कै चनाखो भएका छौ ।’ ‘सीमानामा बसेको सशस्त्र प्रहरीले आफनो भूमीको रक्षा गर्दै , शान्ति सुरक्षाको प्रत्याभूती नागरिकलाई दिने हो ।’ प्रजिअ खड्काले भन्नु भयो । कोरोना भाईरस (कोभिड १९) को संक्रमणको पहिलो र दोस्रो लहरका बेला समेत सशस्त्र प्रहरीले सीमा क्षेत्रमा ठूलो भूमीका खेलेको थियो । भारतबाट आउने नागरिकलाई गन्तब्यमा पु¥याउने देखि सुरक्षाको सबै प्रवन्ध मिलाएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल नंम्बर १ गण हेडक्वाटर श्री अन्तु गुल्म इलामका सशस्त्र प्रहरी उपरीक्षक सुधीर जंग थापा र सशस्त्र प्रहरी बल (बीओपी) पशुपतिनगरका प्रहरी निरीक्षक नविन खतिवडाको नेतृत्वमा सात स्थानमा बीओपी स्थापना गरेको सशस्त्रले स्थाई बसोबासका लागि सलकपुर, समालबुङ र जौबारीमा भवन समेत निर्माण गरिसकेको छ । भवन निर्माणका लागि कतिपय स्थानमा स्थानीयले निःशुल्क जग्गा दिएका छन् भने कतिपय स्थानमा पालिकाहरुले सार्वजनिक जग्गा उपलब्ध गराएका छन् । सुरक्षालाई थप मजबुत बनाउन र सीमा सुरक्षाका लागि अव आलटार, गैरीबास, मेघमा, चित्रेगुम्बा, हिले, खोलागोदाम,सुङतुङ र पाटापुरमा थप आठ वटा बीओपी स्थापना गर्ने योजना रहेको शसस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ ।

गोरखापत्र दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published.