प्राधिकरणको नाफा २ अर्ब ८४ करोड

Special News ज्ञानविज्ञान सूचना प्रविधि

काठमाडौं :  विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५मा  खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । महालेखापरीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको छपन्नौँ वार्षिक  प्रतिवेदनअनुसार प्राधिकरणको जगेडा तथा संचित कोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक छ । आर्थिक वर्ष २०७२/७३मा जगेडा तथा संचित कोष २६ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ ऋणात्मक थियो । 

गत वर्षको तुलनामा बिक्रीमा खुद नाफा र चालू सम्पत्तिमा दायित्व अनुपात बढेको तथा ऋणको अनुपात, कुल खर्चमा कर्मचारी खर्च अनुपात र वितरण नोक्सान घटेको छ । महालेखाले प्राधिकरणको वित्तीय अवस्था सुधारोन्मुख देखिएको जनाएको छ । 

कार्यकारी निर्देशक कुलमान घिसिङले गत भदौमा आर्थिक वर्ष २०७४/७५मा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपणसहितको वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए । महालेखा परीक्षक कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ देखिएको हो । 

२०७३को भदौमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण ८ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो । घिसिङ व्यवस्थापकीय कुशलताबाट मुलुकबाट लोडसेडिङ अन्त्य मात्रै गरेनन् घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान पनि सफल भए । 

घिसिङको नेतृत्वमा विद्युत चुहावट नियन्त्रण, प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट आर्थिक वर्ष  २०७३/७४मा प्राधिकरणले १ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ खुद संस्थालाई नाफा कमाएको थियो । आर्थिक वर्ष २०७४/७५मा नाफा बढेर झण्डै ३ अर्ब पुगेको छ । 

विद्युत चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकहरुसँगको विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्य, वित्तीय पुर्नसंरचनाको प्रभावकारी कार्यान्वयलगायतबाट प्राधिकरण खुद नाफामा जान सफल भएको हो । 

प्राधिकरणको शेयर पूँजी १ खर्ब २ अर्ब ४४ करोड, दीर्घकालीन दायित्व १ खर्ब २० अर्ब ९५ करोड ४३ लाख र चालु दायित्व ८४ अर्ब ७७ करोड ८० लाख समेत कुल पुँजी तथा दायित्व २ खर्ब ८४ अर्ब ५७ करोड २१ लाख रुपैयाँ रहेको छ । अचल सम्पत्तितर्पm स्थिर सम्पत्ति १ खर्ब १२ अर्ब ९८ करोड, निर्माणाधीन सम्पत्ति ७७ अर्ब ६१ करोड तथा लगानी २९ अर्ब ९४ करोड समेत २ खर्ब २० अर्ब ५३ करोड ३० लाख र चालु सम्पत्ति ६४ अर्ब ३ करोड ८९ लाख रुपैयाँ रहेको छ । गत वर्ष १ अर्ब ४६ करोड ७३ लाख रहेकोमा यस वर्ष २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ रहेको छ । 

विद्युत चुहावट २०.४५ प्रतिशतमा झर्यो

गत आर्थिक वर्षमा विद्युत चुहावट २०.४५मा झार्न प्राधिकरण सफल भएको छ । उत्पादन, प्रसारण तथा वितरण चरणमा विद्युत चुहावट २०७३/७४को वर्षको तुलनामा २.४५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष २२.९० प्रतिशत विद्युत चुहावट थियो । प्राधिकरणले चालु आर्थिक वर्ष २०७५/७६को पहिलो  ५ महिनामा विद्युत् चुहावट १५.४५ प्रतिशतमा झारेको छ । चालु आवमा विद्युत चुहावट १८.५प्रतिशतमा झार्ने लक्ष्य छ । आव २०७३/७४मा प्रसारण नोक्सान ५ प्रतिशत रहेकोमा गत आवमा ५.६३ प्रतिशत पुगेको छ । आव २०७३/७४मा १६.८२ प्रतिशत रहेको वितरण नोक्सान घटेर  १४.८२मा झरेको छ । प्रसारण नोक्सान गर्त वर्षको तुलनामा ०.६३ प्रतिशतले बढेको छ भने वितरण नोक्सान गत वर्षको तुलनामा २ प्रतिशतले घटेको महालेखाले जनाएको छ । 

प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन  ट्रान्सफर्मर, बितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।अन्नपूर्ण पोष्टबाट

Leave a Reply

Your email address will not be published.