माक्र्सवादी विश्लेषणः कहाँ पुग्यो विश्व पुँजीवाद ?

माक्र्सवादी विश्लेषणः कहाँ पुग्यो विश्व पुँजीवाद ?

विश्वभक्त दुलाल(आहुती)

मानव समाज आफ्नो विकासका विभिन्न युगहरू र ती युगका विभिन्न चरणहरू पार गरेर आजको अवस्थामा आइपुगेको छ । आदिम साम्यवादी युग, दास युग, सामन्तवादी युग र पुँजीवादी युगको रूपमा माक्र्सवादले ती युगहरूलाई परिभाषित गरेको छ । तर ती युगहरूभित्र उपयुग वा युगका विभिन्न चरणहरू पनि हुने गरेका छन् । उदाहरणको लागि आदिम साम्यवादी समग्र युगभित्र जङ्गली र बर्बर गरी दुई उपयुग वा दुई चरणहरू रहेका थिए । त्यसपछि दासयुग र सामन्तवादी युगपछि उदाएको पुँजीवादी युगका पनि आफ्ना चार उपयुग वा चरणहरू सतहमा आइसकेका छन् ।

पुँजीवाद प्रारम्भमा व्यापारिक पुँजीवाद थियो । दोस्रो चरणमा यो औद्योगिक वा प्रतिस्पर्धात्मक पुँजीवाद भयो । त्यसपछि लेनिनको समयमा एकाधिकारी पुँजीवादको उपयुग वा चरण आयो । र, आज पुँजीवाद भूमण्डलीकृत उपयुग वा चरणमा तीव्र गतिले अगाडि बढिरहेको छ ।

माक्र्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवादको एउटा शानदार पक्ष के छ भने यसले हरेक चिजको उत्पत्ति, विकास र विनाशको सामान्य अवस्थामा मुख्य कारण त्यही चिजभित्र हुन्छ भन्ने मान्दछ । मानव समाजको विकासलाई पनि द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट हेर्दा प्रत्येक युगको उत्पत्ति, विकास र अन्त्यको मुख्य कारण पनि त्यही युगभित्र हुन्छ वा त्यही युगभित्र जन्मिन्छ ।

सामन्तवादलाई नष्ट गर्ने पुँजीवादी युग व्यापारिक पुँजीवादको रूपमा सामन्तवादभित्रै जन्मिएको थियो । त्यसैगरी मेसिनको बढोत्तरी र मानव–श्रमको तरीकामा आएको परिवर्तनसँगै व्यापारिक पुँजीवादभित्रैबाट औद्योगिक वा कार्ल माक्र्सकालीन प्रतिस्पर्धात्मक पुँजीवाद अगाडि आएको थियो । यो दृष्टिकोणबाट मिहीन ढङ्गले हेरेर आजको भूमण्डलीकृत पुँजीवाद, जुन निगम वा बहुराष्ट्रिय कम्पनीको रूपमा संसारमा रजगज गरिरहेको छ, कस्तो हो र यसभित्रबाट यसलाई नष्ट गर्ने कुन युग वा कस्तो सामाजिक व्यवस्था जन्मिरहेको छ भनेर ऐतिहासिक भौतिकवादी संश्लेषणमा फड्को मार्नु आजको विश्वका कम्युनिस्ट क्रान्तिकारीहरूको अगाडि उभिएको प्रमुख कार्यभार हो ।

सबै चिजको उत्पत्ति, विकास र विनासलाई हेर्ने संसारमा मूलतः दुई विश्व–दृष्टिकोण भएजस्तै मानव समाजको विकास र गतिलाई हेर्ने पनि दुई विश्व–दृष्टिकोण छन् । एउटा द्वन्द्वात्मक भौतिकवाद अर्थात् माक्र्सवाद र अर्को आदर्शवाद अर्थात् अध्यात्मवाद । आदर्शवादले मानव समाजलाई राजाहरू, वीर योद्धाहरू, महापुरूष–महास्त्रीहरू, विद्वानहरू वा ईश्वरको कृपा वा इच्छाले बदल्छ वा चलाउँछ भन्छ । तर माक्र्सवादले त्यसको ठीक उल्टो मानव समाजमा विकसित हुने उत्पादक शक्तिको विकासले नै मानव समाज परिवर्तन गर्ने ढोका खोल्दछ र बदल्छ भन्ने मान्दछ । यही उत्पादक शक्तिले नै मानव समाजमा आर्थिक, राजनीतिक र सामाजिक सम्बन्धहरू र चेतनाका विभिन्न रूपहरू, समग्रमा भन्दा उत्पादन सम्बन्ध निर्माण एवं विनाश गर्न मुख्य उत्प्रेरकको भूमिका खेल्दछन् ।

एउटा युगको उत्पादक शक्तिको रूपमा धेरै चीजहरू रहनसक्छन्, तर मुख्य उत्पादक शक्तिले नै त्यो मानव युगलाई टिकाउन, भत्काउन र नयाँ युगमा पु¥याउन मुख्य भूमिका खेल्दछ भन्ने विषयलाई गम्भीरतापूर्वक आत्मसात् गर्नु जरूरी छ । मानव समाजको विकासको इतिहासलाई द्वन्द्वात्मक भौतिकवादी ढङ्गले हेर्ने तरिकालाई ऐतिहासिक भौतिकवाद भन्ने प्रचलन कम्युनिस्ट आन्दोलनमा चल्यो ।

तर, ऐतिहासिक भौतिकवाद छुट्टै दर्शन वा सिद्धान्त होइन, बरू यो त मानव इतिहासलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट हेर्ने कुरा हो । अब यसरी मानव समाजको आजसम्मको विकासलाई द्वन्द्वात्मक भौतिकवादी ढङ्गले हेर्दा कस्तो देखिन्छ त ? यसरी नहेर्दा आजको नेपाल तथा विश्वलाई बुझ्न सकिन्न र क्रान्तिको रणनीति निर्माण गर्न पनि सम्भव हुँदैन ।

माक्र्सवादले श्रमद्वारा नै मानिस पशुजगतबाट अलग भयो भन्ने मान्दछ । श्रम भनेको औजार, सिप र प्रयोगको समग्रता हो । पशुजगतबाट अलग हुने लाखौं वर्षको प्रक्रियामा मानिसले प्रकृतिप्रदत्त शरीर, ढुङ्गा, काठ, आदि औजार अथवा उत्पादक शक्तिको रूपमा प्रयोग ग¥यो । तर ती आदिम औजारहरू उत्पादन गर्ने वा बढाउने स्तरका थिएनन्, बरू प्रकृतिले प्राकृतिक रूपमा गरेका उत्पादनलाई टिप्ने, खोस्रने, मार्ने अथवा समग्रमा भोजनको कामको लागि सहयोगी मात्र थिए ।

आगोको आविष्कारलाई मानव जीवनको पहिलो क्रान्ति मानिए पनि त्यो प्रकृतिले गरेको उत्पादनलाई परिष्कृत भोजन बनाउन, जीवनलाई थोरै सुविधा दिन र सुरक्षाको निम्ति मात्र काम लाग्ने स्तरमा थियो । यसरी के प्रष्ट देख्नसकिन्छ भने आदिम साम्यवादी युगभरि मुख्य उत्पादक शक्ति प्रकृति थियो ।

आठदेखि नौहजार वर्षबीच तामा र फलाम मानिसले फेला पारे पनि ती धातुलाई प्रशोधन गर्ने प्रविधि पत्ता नलाग्दासम्म तिनीहरूले मानव श्रमको तरीकालाई गुणात्मक फेरबदल ल्याउन सकेनन् । तर जब मानिसले धातु प्रशोधन गर्ने प्रविधिसहित आरनको आविष्कार ग¥यो, त्यसपछि भने मानव श्रमको भूमिका गुणात्मक रूपमै उत्पादनमा बढ्न थाल्यो । आगोको आविष्कारलाई मानव समाजको पहिलो क्रान्ति मानिएजस्तै धातु प्रशोधन गर्ने प्रविधिलाई मानव समाजको दोस्रो क्रान्ति भनेर संश्लेषण गर्दा अत्युक्ति हुँदैन ।

धातु प्रशोधन गर्ने प्रविधिको कारण कृषि, शिकार, रक्षा–प्रतिरोध र घरेलु जीवनमा गुणात्मक रूपमै परिवर्तन हुनगयो । जति धेरै मानिसले ज्यावल चलायो, त्यति धेरै कृषि उत्पादन बढ्ने भयो । उत्पादन बढ्यो र बचत पनि हुन थाल्यो । त्यसपछि बचतमाथि कसको अधिकार भन्ने प्रश्न पनि जन्मियो । त्यही वचतमाथि खास व्यक्ति वा समूहले कब्जा जमाउने प्रक्रियाले नै निजी सम्पत्ति र वर्गीय समाज उत्पन्न हुन पुग्यो । यसरी प्रशोधित धातुका ज्यावल र हतियार बन्दैनथे भने मानिसको श्रम गर्ने तरिका फेरिँदैनथ्यो ।

जब औजार र मानवको भूमिका गुणात्मक रूपमै फेरिएर उत्पादनको निम्ति मुख्य हुन पुग्यो, त्यसपछि प्रकृति मुख्य उत्पादक शक्ति रहेन, बरू हिजो सहायक भूमिकामा रहेका औजार र मानव श्रम मुख्य उत्पादक शक्तिको रूपमा मानव समाजमा उपस्थित हुन पुगे । यही उत्पादक शक्तिको परिवर्तनले आदिम साम्यवादी युग ढल्न पुग्यो र दास–मालिक युग सुरू भयो । यहाँ ध्यानाकर्षण गर्न चाहेको विषय के हो भने उत्पादक शक्तिमा गुणात्मक परिवर्तन त्यो मुख्य कारण हुने गर्दछ, जसबाट उत्पादन सम्बन्ध वा सिङ्गै युग परिवर्तन हुन पुग्दछ ।

यसरी सुरू भएको दास–मालिक युगभित्रै उत्पादन बढाउन सहयोग पु¥याउने औजार तथा प्रविधि पनि विकसित हुँदै गयो र अन्ततः फलामे हलो, गोरू, घोडा, राँगा आदि नारेर जोत्ने प्रविधिमा मानव समाज पुग्यो । पशु नारेर जोत्ने प्रविधिले गर्दा दर्जनौं दासहरूले गर्ने काम एक हल पशु र एउटा मानवको श्रमले सम्पन्न हुने र उत्पादन गुणात्मक रूपमै बढ्ने स्थिति उत्पन्न भयो ।

पशु नार्ने प्रविधिले ‘बोल्ने पशु’ को रूपमा रहेका दासहरूलाई बलात् नकज्याइकन उत्पादन गर्न सकिने मात्र होइन, बरू गुणात्मक रूपमै उत्पादन बढाउन सकिने भयो । मुख्य उत्पादक शक्तिको रूपमा जमिन आयो । त्यसपछि नै भूदास किसान, मोही किसान, स्वतन्त्र किसान र सामन्त रहेको सामन्तवादी युग सम्भव भयो । यसरी यस सन्दर्भमा पनि के प्रष्ट देख्न सकिन्छ भने उत्पादक शक्तिमा आएको गुणात्मक फेरबदलले नै दास– मालिक युगको उत्पादन सम्बन्ध फेरिएर सामन्तवादी युग सुरू हुन पुगेको हो ।

हरेक मानव युगमा जस्तै केही हजार वर्ष चलेको सामन्तवादी युगभित्र पनि नयाँ–नयाँ औजार थपिँदै गए, मानव श्रमको तरिकामा फेरबदल हुँदै गयो, उत्पादन बढाउने र मानव जीवनलाई क्रमशः सहज बनाउने प्रक्रिया बढ्दै गयो । ईशाको १३ देखि १६ औं शताब्दीको बीचमा हाते तान तथा आरनजस्ता प्रविधि प्रयोग गर्ने दस्तकार र उत्पादित सामान बेच्दै हिँड्ने व्यापारीको एकताबाट पुँजीवादी व्यवस्थाको सुरूआत भएको मानिन्छ । त्यसमा पुँजी मुख्य उत्पादक शक्ति बन्न गयो ।

सामन्तवादभित्र विकसित पुँजीवादले त्यतिबेला फड्को मा¥यो, जब सन् १७७५ तिर युरोपमा जेम्स वाटले वाफबाट चल्ने अर्ध–स्वचालित इन्जिन आविष्कार गरे । त्यो इन्जिनजडित मेसिन उद्योगहरूमा लगाउने क्रमसँगै आरम्भिक चरणको व्यापारिक पुँजीवाद अब औद्योगिक वा प्रतिस्पर्धात्मक पुँजीवादको उपयुगमा प्रवेश ग¥यो । व्यापारिक पुँजीवाद औद्योगिक पुँजीवादमा पुग्दा बजारको उत्पत्ति हुन गयो, किनभने धेरै किसिमका उत्पादनहरू बस्ती–बस्तीमा पु¥याउन सम्भव भएन, बरू मानिसहरू नै एकै ठाउँमा लिन आउनुपर्ने अवस्थाको सिर्जना भयो ।

अब लाखौँ मजदुरहरू उद्योगहरूमा केन्द्रित हुन थाले, जुन इतिहासको नयाँ वर्ग थियो । पुँजीपतिहरू मजदुरको शोषण गर्ने र नाफा कुम्ल्याउन प्रतिस्पर्धा गर्न थाले । पुँजीपति वर्गले वैचारिक हतियारको रूपमा धर्मलाई परिमार्जन गर्न थाल्यो, तर मजदुर वर्ग धर्मको वैचारिक हतियारले लडेर मुक्त नहुने भयो । त्यही वस्तुगत धरातलमा सर्वहारावर्गको वैचारिक हतियारका रूपमा जन्मिन पुग्यो– द्वन्द्वात्मक भौतिकवाद अर्थात् माक्र्सवाद ।

यसरी सामन्तवादभित्रबाट पुँजीवादको व्यापारिक र औद्योगिक चरणसम्मको विकासमा पँुजीको साथमा मुख्य भूमिका दस्तकारहरूले चलाउने औजार, अर्ध–स्वचालित वाष्प–इन्जिन हुँदै स्वचालित मेसिन र ती प्रविधि एवम् औजारका कारणले मानव श्रमको तरिकामा आएको गुणात्मक परिवर्तनले मूल भूमिका खेलेको स्पष्ट देख्न सकिन्छ ।

माक्र्सकालीन प्रतिस्पर्धात्मक अथवा औद्योगिक पुँजीवाद बढीभन्दा बढी उत्पादन र नाफा लुट्ने होडमा वेगवान हुँदै जाँदा सबै क्षेत्रमा यन्त्रीकरणको तीव्रता बढ्दै गयो । सामानहरूको व्यापक उत्पादनले नयाँ–नयाँ बजार खोज्न बाध्य पा¥यो । त्यसपछि सामान बेच्न तथा प्राकृतिक स्रोत कब्जा गर्न उपनिवेशवादको रूपमा पुँजीवादी साम्राज्यवादको जन्म भयो । जहाँ प्रतिस्पर्धा हुन्छ, त्यहाँ कमजोर हार्छ र बलियोले जित्छ भनेजस्तै प्रतिस्पर्धात्मक पुँजीवादभित्र जित्ने पुँजीपतिहरूको डफ्फाले हार्ने पुँजीपतिको डफ्फालाई नष्ट गर्दै गयो र लेनिनको समयमा पुग्दा पुँजीवादले एकाधिकारी पुँजीवादको रूप लिन पुग्यो ।

एकाधिकारी पुँजीवादले १) प्रतिस्पर्धा गर्नेहरूलाई नष्ट गर्ने र एकाधिकार जमाउने नीति लियो, २) उत्पीडित राष्ट्रहरूमा आफ्ना दलाल र नोकरशाहसँग मिलेर त्यो राष्ट्रका राष्ट्रिय पुँजीपतिलाई सखाप पार्ने नीति लियो र ३) विश्वबजार कब्जा गर्न एकाधिकारी पुँजीवादभित्र विश्वका विभिन्न एकाधिकारी पुँजीवादी समूहहरूले एक–अर्कोलाई सिध्याउन विश्वयुद्धसम्म जाने नीति लिए ।

माक्र्सकालीन प्रतिस्पर्धात्मक पुँजीवाद बढी सामान उत्पादन, मजदुरको शोषण र बढी नाफामा केन्द्रित थियो भने लेनिनको समयमा पुग्दा त्यो पुँजीवादले आफ्नो आधारभूत चरित्र फेरेर प्रतिस्पर्धालाई निषेध गर्ने र विश्वबजार कब्जा गर्न विश्वयुद्धसम्म पुग्ने एकाधिकारी पुँजीवाद सतहमा आयो ।

पुँजीवादी युगभित्र यो एकाधिकारी पुँजीवादी अथवा साम्राज्यवादी चरण आउनुको पछाडि रहेको कारण पनि उत्पादक शक्तिमा आएको तीव्र परिवर्तन नै हो भन्ने कुरालाई पुनः स्मरण गर्नु जरूरी हुन्छ । मेसिन र मानव श्रम प्रयोग गरेर प्रतिस्पर्धात्मक पुँजीवादको युगमा भन्दा गुणात्मक रूपमा उत्पादन बढ्दैनथ्यो भने एकाधिकारी पुँजीवादको रूपमा साम्राज्यवाद जन्मिन सम्भव नै हुँदैनथ्यो ।

यही विश्व व्यवस्थालाई संश्लेषण गर्दै लेनिनले त्यो युगलाई एकाधिकारी पुँजीवाद अर्थात् साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको रूपमा परिभाषित गरे र श्रमिक वर्गको क्रान्तिको रणनीति अघि सारे । लेनिन र उनको टिमले माक्र्सवादको रक्षा र विकास गर्न दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र समाजवादका व्यापक आयामहरूमा ऐतिहासिक महत्वका योगदानहरू गरेको कुरा इतिहाससिद्ध छ ।

तर उनले विकास गरेको सर्वहारा–श्रमिक वर्गीय क्रान्तिको रणनीतिका मुख्य आधार चाहिँ दुईवटा हुन्– १) एकाधिकारी पुँजीवादले लाखौँ–करोडौं मजदुरलाई औद्योगिक केन्द्रमा जम्मा गर्छ, त्यसकारण तिनै सर्वहारा–श्रमिकलाई कम्युनिस्ट पार्टीले सङ्गठित गरेर पुँजीपति वर्गको सत्ताको विरूद्ध सबै प्रकारले धावा बोल्न सम्भव छ र २) एकाधिकारी पुँजीवादी विश्व–व्यवस्थाभित्रका फरक–फरक डफ्फाहरू विश्वबजार कब्जा गर्न एक–आपसमा लडेर आपसी युद्धसम्म पुग्दछन् । त्यो युद्ध नाफा र लुटको लागि हुनेछ , त्यसैले कम्युनिस्टहरूले त्यस्ता युद्धको विरोध गर्दै पुँजीवादीहरू आपसी युद्धमा व्यस्त र कमजोर हुने अवस्थालाई समेत उपयोग गरेर सर्वहारा–श्रमिक क्रान्ति सम्पन्न गर्न सम्भव छ ।

सर्वहारा–श्रमिक वर्गको राजनीतिक क्रान्तिसम्बन्धी लेनिनको यो लाइन दोस्रो विश्वयुद्ध र त्यो युद्धले विस्तार गरेको तत्कालीन प्रभावको अवधिसम्म शानदार ढङ्गले लागू भयो । चीनमा माओ त्से–तुङ नेतृत्वको आन्दोलनले माक्र्सवादको रक्षा र विकास गर्नको लागि गरेका गम्भीर काम एवम् प्रयत्नहरू ऐतिहासिक महत्वका छन् भन्ने कुरा इतिहाससिद्ध छ । साथै के कुरा पनि प्रष्टै छ भने माओ त्से–तुङ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीले लडेको चाहिँ मुख्यतः एकाधिकारी पुँजीवादसँग नै हो । त्यसले जापानले नेतृत्व गरेको एकाधिकारी पुँजीवादको डफ्फासँग लडेको हो । त्यससँग लड्न चीनमा मजदुरवर्ग यथेष्ट विकास नभइसकेकोले किसानलाई उठाउन लामो समय लाग्ने ‘दीर्घकालीन जनयुद्ध’ को बाटो अवलम्बन गरिएको हो ।

लेनिनको व्याख्याअनुसारको एकाधिकारी पुँजीवादी जापानी समूह दोस्रो विश्वयुद्धमा पराजित हुँदैनथ्यो भने चिनियाँ नयाँ जनवादी क्रान्ति अझै गाह्रो हुनसक्थ्यो होला । त्यसैगरी उत्तर कोरिया, भियतनाम, पूर्वी युरोप आदि देशहरूमा एकाधिकारी पुँजीवादको आन्तरिक टक्करबीचबाट लेनिनकै विश्लेषण लागू भएर २÷३ विश्व तत्कालीन कम्युनिस्ट शासनमा गएको प्रष्ट देख्न सकिन्छ ।

लेनिनको सर्वहारा–श्रमिक क्रान्तिको रणनीतिका अपवाद पनि होलान्, हुन सक्छन् । त्यसबारे थप अध्ययन–संश्लेषण आवश्यक छ । तर आधारभूत रूपमा दोस्रो विश्वयुद्ध र त्यसले तत्कालीन रूपमा पारेको प्रभावमा भएका सबै कम्युनिस्ट क्रान्ति लेनिनको सर्वहारा–श्रमिक क्रान्तिको राजनीतिक कार्यदिशामा नै आधारित थियो भन्न सजिलै सकिन्छ ।

यसरी प्रतिस्पर्धात्मक पुँजीवादको युगबाट सुरू भएको माक्र्सवादी आन्दोलनको उन्नत मेसिन र मानव श्रमको उन्नत तरिका नै मुख्य उत्पादक शक्ति भएको युगको १ सय ७० वर्षको चक्र पूरा हुन पुगेको छ । अहिले पुँजीवाद नयाँ चरणमा छ, त्यसकारण कम्युनिस्ट आन्दोलनले पनि नयाँ चरणको रणनीतिसहित अगाडि जानैपर्दछ ।
दोस्रो विश्वयुद्ध र त्यसको आसपासमा कम्युनिस्ट क्रान्तिहरू संसारको दुई–तिहाइ भूभागमा सम्पन्न भएपछि विश्व पुँजीवाद केही समय रक्षात्मकजस्तो देखा प¥यो ।

सोभियत सङ्घ र संयुक्त राज्य अमेरिकामा आधारित भएर विश्व दुई ध्रुवमा बाँडिन पुग्यो । दोस्रो विश्वयुद्धको क्षतिबाट पाठ सिकेको अमेरिकी नेतृत्वको नाटो समूहले सोभियत सङ्घको नेतृत्वको वार्सा समूहसँग प्रत्यक्ष युद्धमा भन्दा छद्म युद्ध र शीतयुद्धको तरिका अपनाउन थाल्यो । विश्व पुँजीवादको रक्षाको सवाल पुँजीवादी विश्वको निम्ति एउटा निकै पेचिलो प्रश्न बन्न पुगेको थियो ।

अर्कोतिर दोस्रो विश्वयुद्धपछि विश्वमा तीव्र गतिमा विज्ञान–प्रविधिको विकास हुन थाल्यो । मानव समाजमा विज्ञान– प्रविधिको विकास त त्यसभन्दा पहिले पनि हुँदै नै आएको हो, तर विशेषतः सन् १९५० पछि आजसम्मको विज्ञान– प्रविधिको विकास चाहिँ पहिलेको विकाससँग तुलना नै गर्न नसकिने स्तरमा गुणात्मक फड्कोयुक्त हुन पुग्यो । विज्ञान– प्रविधिमा भएको असाधारण प्रगतिले हिजोको मुख्य उत्पादक शक्तिको रूपमा रहेको मेसिन र मानव श्रमको भूमिकालाई गुणात्मक रूपमै न्यूनीकरण ग¥यो । हजार मेसिन आठ घण्टा चलाउन हजार जना मानिसको ८ घण्टाको श्रमशक्ति लाग्ने ठाउँमा हजार मेसिन एकजना मानिसले त्यो पनि आठघण्टा होइन, एकपटक एउटा स्वीच दबाएपछि चल्ने स्थिति उत्पन्न भयो ।

यो परिस्थिति भनेको विज्ञान–प्रविधिमा भएको गुणात्मक विकासकै परिणाम थियो । विज्ञान–प्रविधिको यस्तो विकासले डिजिटल युग सुरू हुन पुग्यो । इन्टरनेटजस्ता प्रविधिमा फड्कोले विश्व पुँजीवादलाई पुनः नयाँ संस्करण वा चरणमा लैजान सक्ने बाटो खोल्यो । त्यो बाटो भनेको धेरै देशका पुँजीपतिको पुँजीलाई एकीकृत रूपमा बहुराष्ट्रिय कम्पनीमार्फत् लुटको निम्ति परिचालन गर्न सकिने बाटो नै हो ।

विज्ञान–प्रविधिमा आएको असाधारण प्रगतिले एकातिर सयौँ मेसिन चलाउन थोरैजना अपरेटर भए पुग्ने स्थिति आयो, जसबाट लाखौँ–करोडौं हिजोका मजदुर उत्पादनका क्षेत्रबाट विस्थापित हुन थाले भने अर्कोतिर बहुराष्ट्रिय कम्पनीहरूमार्फत् एकीकृत रूपमा विश्वका उत्पीडित राष्ट्र र श्रमिक जनताको लुट सम्भव हुन थाल्यो । एकातिर, उत्पादनका थलोहरूमा हजारौं मजदूर केन्द्रित हुने माक्र्स र लेनिनको समयको औद्योगिक पुँजीवाद तथा एकाधिकारी पुँजीवादको परिवेश विश्वमा अब रहेन । उत्पादनको सट्टा श्रमिकहरू सेवाका क्षेत्रमा, मूलतः असङ्गठित क्षेत्रमा छरिन बाध्य भएका छन् ।

नेपालबाट वैदेशिक रोजगारीमा गएका अधिकांश नेपालीहरू सुरूङ–सडक निर्माण, होटेल, ड्राइभिङ, वृद्धवृद्धाको हेरचाह, घरेलु सेवा, चौकीदारी, व्यापारिक मलको कारिन्दा, स्वास्थ्य क्षेत्र आदिमा क्रियाशील छन् । थोरै सङ्ख्या मात्र कृषि र अन्य उत्पादनको क्षेत्रमा हुनुले पनि यो यथार्थलाई प्रष्ट पार्दछ ।

अर्कोतिर, विज्ञान–प्रविधिको कारणले धेरै देशका पुँजीपतिहरू एकीकृत रूपमा बहुराष्ट्रिय कम्पनीमार्फत् एकताबद्ध भएर विश्वको लुटमा उत्रिएका छन् । हिजोको एकाधिकारी पुँजीवादी विश्वमा पुँजीपति वर्गका ठूला समूहहरूबीच आपसी युद्ध र विश्वयुद्धसम्म हुन्थ्यो, किनभने तिनीहरूले एक– अर्कोलाई निल्न चाहन्थे ।

तर, आज विश्वभरिका पुँजीपतिहरू र पुँजीपति वर्गका समूहहरू एक–आपसमा बहुराष्ट्रिय र परराष्ट्रिय कम्पनीमार्फत् एकीकृत भएका छन् । पुँजीवादको यस्तो परिदृश्य वा चरण यसभन्दा पहिले देखिएको थिएन र सम्भव पनि थिएन । यस्तो सम्भव हुनुको मुख्य कारण विज्ञान–प्रविधिमा भएको असाधारण विकास नै हो भन्ने कुरा बुझ्न कुनै कठिनाइ छैन । यसरी आजको विश्व पुँजीवाद वा साम्राज्यवाद भनेको भूमण्डलीकृत पुँजीवाद हो । यसप्रकारको स्थिति उत्पादक शक्तिमा गुणात्मक परिवर्तनले आएको हो भन्ने कुरा प्रष्ट छ ।

पुँजीवादी समाजको उदयदेखि हिजोको एकाधिकार पुँजीवादको युगसम्म उत्पादक शक्तिका रूपमा पुँजीअन्तर्गत मेसिन र सामूहिक मानव श्रम नायक थिए वा मुख्य थिए । तर सन् १९५० पछि भएको विज्ञान–प्रविधिको असाधारण विकासले मेसिन वा औजारहरू र सामूहिक मानव श्रमले नायकत्व गुमाए, तिनीहरूको भूमिका मुख्य हुन छोड्यो, बरू उत्पादनमा तिनीहरूको भूमिका सहायक हुन थाल्यो । त्यसको सट्टा मुख्य भूमिका विज्ञान–प्रविधिले खेल्न थाल्यो ।

यसरी सारमा भन्दा सामूहिक मानव श्रम मुख्य उत्पादक शक्ति भएको युग गुणात्मक रूपमा फेरिएर विज्ञान–प्रविधि नै मुख्य उत्पादक शक्ति हुने आजको युग बन्न पुग्यो । हुन त आज पनि नेपाल र विश्वका कैयन स्थानमा सामन्तवादकालीन हलगोरू नारिँदै छ, तर यो र यस्ता औजारमा गरिने मानव श्रमको तरिका अवशेष मात्र हुन् ।

औद्योगिक पुँजीवादमा पुगिसक्दा पनि माक्र्सको समयमा घरेलु बाँधाको चलन बाँकी थियो । अब्राहम लिङ्कन पुँजीवादी राष्ट्रपति चुनिँदा ह्वाइटहाउसअगाडि मानिसलाई दास बनाउन किनबेच हुन्थ्यो र रुसमा लेनिन नेतृत्वमा समाजवादी क्रान्ति भइसक्दा पनि मोही किसानलाई जमिन दिने सवाल बाँकी थियो भनेजस्तै यिनीहरू पनि अवशेषहरू हुन् । तसर्थ उत्पादक शक्तिमा गुणात्मक परिवर्तन भएर आजको विश्वमा विज्ञान–प्रविधि नै मुख्य उत्पादक शक्ति बन्न पुगेको छ भन्ने ऐतिहासिक यथार्थलाई गहिरो गरी आत्मसात् गर्नु आजको कम्युनिस्ट आन्दोलनको मुख्य वैचारिक आवश्यकता हो ।

(वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको विचारधारात्मक राजनीतिक कार्यदिशा सम्बन्धी प्रस्ताव–२०७ ५ नामक दस्तावेजबाट)