साउने संक्रान्तिको महिमा

Special News Trending कला संस्कृति

काठमाडौं: बुधबार श्रावणसंक्रान्ति । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन साउने संक्रान्तिका रुपमा मनाइन्छ । यसै दिनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले दक्षिणायन सुरु हुन्छ ।

लुतो फाल्ने, किसानले रमाइलो गर्ने, शिवपूजन गर्ने, हरियो लगाउने

के के गरिन्छ साउन १ मा ?
लुतो फाल्ने– अधिकांश नेपालीहरु खेतीकिसानीमा लाग्ने भएकाले असार महिनाभर कृषिकार्यमा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिन्छ ।

परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ ।

छिमेकीहरुको नाम पुकारेर लुतो लैजा भन्ने चलन पनि छ ।

किसानको रमाइलो– एक महिनासम्म निरन्तर खेतमा काम गरेर रोपाईं गर्ने किसानहरु असारभर व्यस्त रहे । मानो रोपेर मुरी फलाउने किसानहरु असारभर थकित रहे । उनीहरुको रमाइलो गरेर थकान मेट्ने र दुःखसुख आदानप्रदान गर्ने दिनका रुपमा साउन १ पर्दछ । उनीहरु यस दिन आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् ।

खानपिन पनि चल्ने गर्छ । मीठोमीठो खानेकुराहरु खाएर यो दिनलाई सुखद गराउने गर्छन् । शिवपूजन– भगवान शिवको पूजा गर्ने महिनाका रुपमा साउनलाई लिइन्छ । महिलाहरु हरिायो चुरा, हरियो पोते र हरियो सारी लगाएर सजिने गर्छन् ।

शिव भगवान प्रकृतिप्रेमी भएकाले पनि उनलाई खुशी तुल्याउन महिलाहरुले उनको आरधना गर्दा हरियो लगाउने चलन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए ।साउनलाई शिवको महिना र सोमबारलाई शिवबार पनि भन्ने गरिन्छ । यो महिनाभर देशभरका शिवालयहरुमा भक्तजनको विशेष भीड लाग्ने गर्दछ ।

हाम्रा कुराबाट

Leave a Reply

Your email address will not be published.