झापा गोल्डकपः उद्घाटन खेलमा पोखरा स्तब्ध

खेलकुद

विर्तामोड। झापाको विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शनिबारदेखि शुरु भएको मगमग झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोली झापा ११ विजयी भएको छ।

झापाले सहारा क्लब पोखरालाई शून्यका विरुद्ध दुई गोल गर्दै विजयी यात्रा शुरु गरेको हो।

खेलको पहिलो हाफमै झापाले २-० को अग्रता लिएको थियो। पहिलो हाफमा झापाका तर्फबाट सन्जोग राई र काजिम बुखारीले गोल गरे। सोही दुई गोल उद्घाटन खेलको निर्णायक बन्न पुग्यो। उद्घाटन खेलको म्यान अफ दी म्याच झापाका सन्जोग राई घोषित भए। उनले नगद १५ हजार नगद प्राप्त गरे।

झापा ११ सोमबार हङकङ नेप्लिज एकेडेमीसंग भिड्नेछ। आइतबारको खेल मोरङ ११ र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ।

झापा गोल्डकपको चौथो संस्करणको प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गरेका थिए।

प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले छ लाख पाँच हजार पाउनेछ। प्रतियोगितामा आयोजक झापा ११ सँगै सहारा क्लब पोखरा, थ्री स्टार क्लब, मनाङ मर्स्याङदी क्लब, एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, मोरङ ११, रुपन्देही ११ र हङकङ नेप्लिज एकाडेमीले सहभागिता जनाएका छन्।

प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने सर्वाधिक गोलकर्तालाई नगद २५ हजार दिइनेछ।

प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद १५ हजार रुपैयाँ पाउने गोल्डकपका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई यस वर्ष पनि एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published.