दोस्रो मेयरकप हुने

Breaking News Mukya Samachar Special News खेलकुद प्रदेश नं. १

इलाम : आगामी जेठ ११ गतेबाट १८ गते सम्म दोस्रो सूर्योदय मेयरकप आमन्त्रण फूटवल प्रतियोगिता हुने भएको छ । सूर्योदय नगरपालिकाको आयोजनामा सूर्योदय नगरपालिका १२ स्थित करफोक माविको खेल मेदानमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा इलाम र झापाका ९ वटा टीमको सहभागिता रहने बुधबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
प्रतियोगिताको विजेता टीमलाई नगद २ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने खेल मुल आयोजक समितिका संयोजक तथा सूर्योदय नगरपालिका १० का वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिनुभयो । त्यस्तै उपविजेता टीमलाई नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने वताइएको छ । साथै उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोलरक्षक, सर्वाधिक गोलकर्तालाई समेत नगद ८ हजार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
खेल खेल्न आउने खेलाडीहरुलाई आवतजावत बापतको खर्च ब्यहोर्ने छ । प्रतियोगिता सम्पन्न गर्न २० लाख ८१ हजार ९ सय ९८ रुपयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगितामा आयोजक सूर्योदय नगरपालिका सहित जिल्लाका इलाम नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र झापाका दमक, शिवसताक्षी, कन्काई, मेची र अर्जुनधारा नगरपालिकाको सहभागिता रहने वताइएको छ । साविक मेची अञ्चल भरिका सवै १४ वटा नगरपालिकालाई निमन्त्रणा गरिएपनि अन्य नगरपालिकाले सहभागिता नजनाएको आयोजक सूर्योदय नगरपालिकाले जानकारी दिएको छ ।
खेल क्षेत्रको विकास गर्न र यस नगरपालिकामा खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको मेयर रणबहादुर राईले जानकारी दिए । गत वर्ष गरिएको प्रतियोगिता भब्य रुपमा सम्पन्न भएकाले त्यसैलाई निरन्तरता दिइएको हो । आयोजक नगरपालिकाले १८ जना खेलाडी छनौट गरि बन्द प्रशिक्षण दिइरहेको पनि उनले वताए ।
प्रतियोगितामा खेलाडीले लगाउने जर्सी समेत सोहि कार्यक्रममा वितरण गरिएको छ । सूयोदय नगरपालिकाका मेयर रणबहादुर राईले नपाका खेल प्रशिक्षक अभिशेक श्रेष्ठलाई जर्सी हस्तान्तरण गरे ।
साथै यसै अवसरमा सूर्योदय नगरपालिका भित्रका फूटवलसँग सम्वन्धित संघसंस्था तथा क्लवहरुलाई एकएक थान फूटवल समेत वितरण गरिएको थियो ।

पत्रकार सम्मेलनसँगै खेलाडीले लगाउने पोशाक वितरण गर्दै नगरप्रमुख राई

Leave a Reply

Your email address will not be published.