माइभ्याली गोल्डकपको उपाधि मछिन्द्रलाई

  • 152
    Shares
माइभ्याली गोल्डकपको उपाधि मछिन्द्रलाई

इलाम : इलाममा जारी माइभ्याली गोल्डकपको उपाधि लिग बिजेता मछिन्द्र क्लबले चुमेको छ । शनिबार भएको खेलमा आयोजक माइभ्याली फुटबल क्लबलाई १–० ले पराजित गर्दै मछिन्द्रले माइभ्यालीको उपाधि चुमेको हो ।
खेलको इन्जुरी समयमा मछिन्द्रका बिदेशी खेलाडी एन्ड्रेस नियाले गोल गर्दै मछिन्द्रलाई उपाधि दिलाए । बर्षाका कारण खेल अवधिभर अवरोध बिच खेलाडीले खेल प्रदर्शन गरेका थिए ।
उपाधिसँगै मछिन्द्रले ८ लाख रुपैयाँ , ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता माइभ्याली क्लबले ५ लाख रुपैयामा चित्त बुझायो ।
मध्यान्तर अघि निकै प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टीमका खेलाडीले पटक पटक गोल गर्ने अवसर गुमाएका थिए । खेलको १२ औं मिनेटमा माइभ्यालीका कप्तान छिरिङ गुरुङले गोल गर्ने अवसर गुमाए । २२ औं मिनेटमा मछिन्द्रका रेजिन सुब्बा र ४३ औं मिनेटमा मछिन्द्रका विमल घर्ती मगरले गोल गर्ने अवसर गुमाए ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी आयोजक टिमका शरण बस्नेत बन्दै नगद १ लाख १५ हजार रुपियाँ प्राप्ग गरे । मछिन्द्रका प्रबेश कटुबाल उत्कृष्ट प्रशिक्षक बने । उनले नगद २५ हजार प्राप्त गरे । प्रतियोगितमा उत्कृष्ठ डिफेन्डर माइभ्यालीका छिरिङ बने, उनले नगर २५ हजार प्राप्त गरे । माइभ्यालीका देव लिम्बु उत्कृष्ठ गोलकिपर बन्दै नगद २५ हजार प्राप्त गरे । मछिन्द्रका योगेश गुरुङ उत्कृष्ठ मिडफिल्डर , मछिन्द्रका एन्ड्रेस निया उत्कृष्ट फर्वड बन्दै २५ हजारका दरले रकम प्राप्त गरे ।
प्रतियोगिताका बिजेता, उपबिजेता र उत्कृष्ठ खेलाडीलाई संबिधान सभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङ, प्रदेश सांषद धिरेन्द्र शर्मा , राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल , अखिल नेपाल फुटवल संघ(एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र आयोजकका अध्यक्ष धिरेन चेम्जोङले बितरण गर्नु भएको थियो ।