रोग नियन्त्रणमा सक्रियतासँगै विकासको गतिमा तिब्रता
इलाम । इलामको चुलाचुली गाउँपालिका प्रधानमन्त्री केपी शर्मा ओलीको गृह क्षेत्र रहेको दमक बजारसँग सीमा जोडिन्छ । कोरोना रोगको महामारी रोक्न सरकारले लकडाउन गरिरहँदा झापाको दमकमा जिल्लामै पहिलोपटक कोरोना रोगी भेटिएको थियो । दैनिक उपभोग्य सामग्री खरिद, उपचार, कृषिजन्य सामग्री बिक्रिका लागि चुलाचुली गाउँपालिकाबासी दमक बजार नै पुग्ने गरेका छन् । तर, अहिलेसम्म चुलाचुली गाउँपालिकामा कोरोना रोगी भेटिएका छैनन् । कोरोना रोग फैलन नदिन स्थानीय जनप्रनिधि, शसस्त्र प्रहरी, नेपाल प्रहरी टोल विकास संस्थाका प्रतिनिधि संक्रिय भएका छन् । कोरोना रोग नियन्त्रणका लागि सुरुवाती दिनसँगै विभिन्न गतिविधि गर्दै आइएको छ ।
लकडाउन कार्यान्वय
कोरोना रोग नियन्त्रणका लागि चुलाचुली गाउँपालिकामा लकडाउनमा पूर्णरुपमा कार्यान्वयन हुँदै आएको छ । सरकारले चैत्र ११ गते लकडाउन घोषणा गरेपछि शुरुवाती दिनदेखि नै कडाईका साथ कार्यान्वयन हुँदै आएको गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले बताए । लकडाउनलाई कडाई गर्न शसस्त्र प्रहरी बल, नेपाल प्रहरी, टोल विकास संस्था र जनप्रतिनिधिहरु सक्रिय भएका छन् । झापा र मोरङ जिल्लासँग सीमा जोडिएको चुलाचुली गाउँपालिकामा रोग फैलन नदिन सक्रियतापूर्वक काम गरिरहेको छ ।
भोकमरी हटाउन राहात वितरण
लकडाउनसँगै उद्योग,विकास निर्माण ठप्प हुँदा धेरैले रोजगारी गुमेको छ । चुलाचुलीका धेरैजसो नागरिक पनि दमक बजारमा धेरैले रोजगारीका लागि पुग्ने गरेका थिए । तर लकडाउनसँगै सबै ठप्प भएपछि रोजागारी गुमेको अवस्थामा रहेका र आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई राहात वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताए ।
चुलाचुली गाउँपालिकाले दोस्रो चरणसम्म राहात वितरण गरेको छ । गाउँपालिकाले चामल, तेल, नुन र दाल वितरण गरेको थियो । १९ लाख खर्च गरि गाउँपालिकाले १५ सय ३९ परिवारलाई राहात वितरण गरिसकेको छ । लकडाउन भएको लामो समय भएपछि गाउँपालिकाले तस्रो चरणको राहात वितरण गर्ने योजना बनाएको छ ।
स्वास्थ्य सामग्रीको खरिद
कोरोना रोग नियन्त्रणका लागि गाउँपालिकाले स्वास्थ्य सामग्री संकलन गरि आवश्यक तयारी गरेको छ । गाउँपालिकाले पिपिई, सेनिटाइजर, माक्स, औषधी लगायत स्वास्थ्य सामग्री खरिद गरेको गाउँपालिकाका सुचना अधिकारी तिर्थराज खरेलले बताए । गाउँपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने सामग्री खरिदका लागि ५ लाख खर्च गरिएको छ । कोरोना भाइरस नियन्त्रणका लागि दातहरुबाट पनि पिपिई, सेनिटाइजर, माक्स र औषधिहरुपनि संकलन भइरहेको अवस्था छ ।
विपद् कोषको स्थापना
चुलाचुली गाउँपालिकाले कारोना रोगको नियन्त्रणका लागि विपद् कोषको परिचालन गरिएको छ । कारोना भाइरसको संक्रमण बढ्दै जाँदा विपद् कोषमा खर्च हुन नसक्ने बजेट संकलन गरि राहात वितरण र औषधि खरिदका लागि आवश्यक बजेट जुटाइएको थियो । त्यसबाहेक दाताहरुबाट पनि विपद् कोषमा रकाम जम्मा हुँदै आएको छ । विपद् कोषमा हालसम्म चार लाख ९० हजार ६ सय ५६ रुपैयाँ जम्मा भएको छ ।
क्वारेन्टाइन व्यवस्थान र स्वास्थ्य परिक्षण
चुलाचुली गाउँपालिकाले विदेशबाट आएका नागरिकलाई सुरक्षित बनाउन क्वारेन्टाइनको व्यवस्था गरिएको छ । गाउँपालिकाले जनता मावि बाह्रकोठेमा ७५ वेडको क्वारेन्टाइन निर्माण गरिएको छ । अहिले जनता माविको क्वारेन्टाइन ५० वेड पूर्णरुपमा संचालनमा आएको हो । हाल क्वारेन्टाइनमा भारतबाट आएका ८ जना रहेका छन् । क्वारेन्टाइनमा हालसम्म ४३ जना बसेर होम क्वारेन्टाइनमा पठाइएको छ । क्वारेन्टाइनमा बसेकालाई आर डि टि र पिसिआर टेष्ट गरि घर पठाइने गरिएको छ । हालसम्म चुलाचुलीमा आरडिटी टेष्ट ५१ जनाको गरिएको छ भने पिसिआर २७ जनाको गरिसकिएको छ । त्यसमध्ये सबैको रिपोट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ ।
चुलाचुली छिर्ने नाका कडाई
झापा र मोरङ जिल्ला सीमा क्षेत्र रहेको चुलाचुली गाउँपालिका प्रवेश गर्न मुख्य नाकाहरु प्रयोग गर्ने व्यवस्था गरिएको छ । चुलाचुलि गाउँपालिका प्रवेश गर्ने नाकाको व्यवस्थापनको काम टोली विकास संस्थालाई जिम्मा दिएको छ । गाउँपालिकामा प्रवेश गर्ने व्यक्तिको आवश्यकतालाई हेरेर आवतजावतको व्यवस्था गरिएको छ ।
स्थानीय जनशक्तिबाट विकासका काम
लकडाउन भएपनि चुलाचुली गाउँपालिकाले विकास निर्माणको काम रोकेको छैन । ५ लाखसम्मका योजनाहरु उपभोक्ता समिति र त्यस माथिका योजनाहरु निर्माण कम्पनी मार्फत गरिँदै आएको छ । प्रमुख प्रशासकिय अधिकृत काजिमान राईका अनुसार निर्माण कम्पनी र उपभोक्ता समितिबाट भएका कामहरु सबै सुचारु अवस्थामा छन् । राई भने–‘कुनैपनि योजना रोकिएको छैनन् । गाउँपालिकाका ५५ वटा योजना निर्माण कम्पनीबाट गरिएकोमा १५ वटाको काम सम्पन्न भई भुक्तनी पनि भइसकेको छ । बाँकी ४० वटा योजनाको पनि काम सम्पन्न हुने चरणमा रहेका छन् । स्थानीय मजदूर र लकडाउन अघि झापा जिल्लाबाट आएका मजदूरहरुबाट काम भइरहेको छ ।