नेकपा कार्य विभाजनमा हेरफेर, यस्तो छ नयाँ जिम्मेवारी

Breaking News Mukya Samachar Special News Trending

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले कानुनमन्त्री भाुनभक्त ढकाललाई सुरक्षा विभाग प्रमुख र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई प्रादेशिक मामिला उपप्रमुखमा नियुक्त गरेको छ ।

पार्टी कार्यालय धुम्बराहीमा सोमबार बसेको पार्टीको सचिवालय बैठकले राष्ट्रिय सुरक्षा विभाग प्रमुखमा कानुन मन्त्री भानुभक्त ढकाललाई र उपप्रमुखमा राम कुमार राईलाई नियुक्त गरेको हो । यसअघि राईलाई खोटाङको सहइन्चार्जको जिम्मेवारी दिइएको थियो । पूर्व जिम्मेवारीबाट हटाएर राईलाई राष्ट्रिय सुरक्षा विभाग उपप्रमुखको जिम्मेवारी दिइएको हो । त्यसैगरी प्रादेशीक मामिला विभागको उपप्रमुखमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई नियुक्त गरेको हो ।

त्यस्तै पत्रकार तथा लेखक विष्णु रिजाललाई विदेश विभागको उपप्रमुखको जिम्मेवारी दिइएको छ । बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । पार्टी एकता प्रक्रियामा सामेल भएका मध्येबाट १० प्रतिशत सम्म केन्द्रीय समितिमा समावेश गर्न सकिने प्रावधान अनुसार सचिवालय बैठकले केन्द्रीय सदस्यमा मनोनयन गरेको हो । सचिवालय बैठकले विभिन्न जिल्ला, जनवर्गीय संगठन र विभागका उपप्रमुख र सहइन्चार्जहरुको नियुक्त र जिम्मेवारी हेरफेर गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले सहकारी तथा गरिबी निवारण विभागको उपप्रमुखमा कमल चौलागाईलाई नियुक्त गरेको छ । यसअघि उपप्रमुखको जिम्मेवारी धर्मदत्त देवकोटालाई दिइएको थियो । बैठकले झलनाथ खनाल नेतृत्वको नीति अध्ययन प्रतिष्ठानको सहसंयोजकमा पूर्व राजदुत प्रमेश हमाललाई नियुक्त गरेको छ । नीति अनुसन्धान प्रतिष्ठानको सह संयोजकको जिम्मेवारी रमेश धमलालाई दिइएको छ । धमलालाई ललितपुरको सह इन्चार्जबाट हटाइएको छ ।

त्यसैगरी, कर्णाली प्रदेश सम्पर्क कमिटीको इन्चार्जमा सत्या पहाडी, सुदुर पश्चिम प्रदेश सम्पर्क कमिटीको इन्चार्जमा विरमान चौधरीलाई नियुक्त गरिएको छ । चौधरीलाई यसअघि कैलालीको सहइन्चार्जको जिम्मेवारी दिइएको थियो । बैठकले जनवर्गीय संगठनको सहइन्चार्जमा पनि नयाँ व्यवस्था गरेको छ ।

अखिल नेपाल महिला संघको सहइन्चार्जमा अमृता थापा र सिता पौडेललाई थप गरिएको छ । आदीवासी जनजाती महासंघ नेपाल र सम्बद्ध संगठनहरुको सहइन्चार्जमा सुरेश आलेमगर र शेरबहादुर तामाङलाई थप गरिएको छ । नेपाल दलित मुक्ति संगठन र सम्बद्ध संगठनहरुको सहइन्चार्जमा तिलक परियार र बोमबहादुर विश्वकर्मालाई, प्रेस संगठन नेपाल र सम्बद्ध संगठनहरुको सहइन्चार्जमा महेश्वर दाहाल, जनसांस्कृतिक महासंघ नेपाल र सम्बद्ध संगठनहरुको इन्चार्जमा केदार न्यौपाने, सहइन्चार्जमा खगेन्द्र राई, खेलकुद महासंघ र सम्बद्ध मोर्चाको इन्चार्जमा जीवन घिमिरे र अजम्बर काङवाङलाई, इन्जिनियरिङ संगठनको सहइन्चार्जमा रामकुमारी झाँक्री र शिक्षक सम्बद्ध संगठनको सहइन्चार्जमा हिक्मत कार्कीलाई नियुक्त गरिएको छ ।

त्यसैगरी ताप्लेजुङ जिल्ला सहइन्चार्जमा तिलकुमार मेन्याङबो, सुनसरी जिल्ला सहइन्चार्जमा भगवती चौधरी, सिरहा जिल्ला सहइन्चार्जमा प्रमोद नारायण यादव र हरिनारायण चौधरी तथा चुँडामणी जंगलीलाई कास्की र दीपक देवकोटालाई कैलाली जिल्ला सहइन्चार्जको जिम्मेवारी दिइएको छ ।

बैठकले सिंगापुरमा उपचाररत अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेको छ ।

Leave a Reply

Your email address will not be published.